Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

विदेशमा पढेर गाउँमा काम

सोमबार, १६ फागुन २०७३

काठमाडौं १६ फागुन/स्वदेशमा पढाइ पूरा गरेका धेरै युवाको सपना विदेश जाने हुन्छ तर कैलालीका २५ वर्षीय राजकुमार निरौलाले विदेशबाट इन्जिनियरिङ पूरा गरेपछि स्वदेशलाई नै कर्मक्षेत्र बनाएका छन्। भारतको बैंग्लोरबाट स्नातक र बेलायतबाट स्नातकोत्तरको पढाइ पूरा गरेका इन्जिनियर निरौला पढाइपछिको पहिलो काम स्वरूप चितवनको विकट काउले गाविसमा सर्भे गरिरहेका छन्।
केन्द्रीय तथ्यांक विभागबाट भूकम्प प्रभावित घरको तथ्यांक संकलन गर्न डेढ महिनादेखि काउले गाविसको वडा नम्बर एक र तीनमा खटिएका निरौलाको भागमा दुई सय ६१ घर परेका छन्। उनले अहिलेसम्म एक सय ७० घरको तथ्यांक लिइसकेका छन्। ‘पहिले सरकारले वितरण गरेको रातो र पहेँलो कार्डलाई आधार नमानी सर्भेको तथ्यांकलाई आधार मान्ने निर्णय भएपछि विभागले हामीलाई फिल्डमा पठाएको हो’, तार्सेलिङ गाउँमा भेटिएका इन्जिनियर निरौला भन्छन्, ‘काउले गाविसमा हामी पाँचजना इन्जिनियर विभागबाट खटिएका छौँ। सहयोगीका रूपमा सबैले एकएकजना सामाजिक परिचालक पाएका छौँ’, चेपाङ बस्तीमा घर हो कि गोठ भन्ने नै छुट्याउन नसकिने अवस्थामा घरहरू भेटिएको जानकारी दिँदै उनले भने, ‘यहाँ त भूकम्पभन्दा पनि गरिबीको महाभूकम्प खेपेर बसेका रहेछन् चेपाङहरू। धेरैजसोको नागरिकता नै छैन।’

गत वर्ष वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा निरौला भारतमै थिए। उनले भूकम्पको दृश्य टेलिभिजनमा हेरेको बताए। भूकम्पको प्रत्यक्ष प्रभाव नपरेका निरौला अहिले भूकम्पले पारेको प्रभावका विषयमा काम गरिरहेका छन्। उनले भूकम्पले भत्केको घरको तस्बिर खिच्ने, घरमा बस्नेले पाएको सेवासुविधाको विवरण लिने र तथ्यांक विभागमा उही दिन इन्टरनेटमार्फत विभागमा पठाउने गर्छन्। यसैका आधारमा सरकारले घरको क्षतिको अवस्था मूयांकन गरेर पुनर्निर्माणका लागि रकम उपलब्ध गराउने छ। फिल्डमा सर्भे गर्ने क्रममा पहिलो घर चेपाङकै हेरेका निरौला त्यसपछि चेपाङहरूको दयनीय अवस्थाको प्रत्यक्षदर्शी नै बने। ‘काखको बच्चा बितेको भोलिपल्टै बाबुआमा काममा जाने गरेको देखेँ’, उनले थपे, ‘सुत्केरीहरू हप्ता दिन नहुँदै काममा गएको भेटेँ। यहाँको संसार हाम्रो कल्पनाभन्दा बाहिर रहेछ।’
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया