काठमाडौं १६ फागुन/त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते नै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न/गराउन आंगिक क्याम्पसहरूलाई निर्देशन दिएको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आइतबार देशभरिका ६० वटै आंगिक क्याम्पसलाई यस्तो निर्देशन दिएको हो । ‘स्ववियु निर्वाचन विविध कारणले अवरोध आई तालिकाअनुसार काम सम्पन्न नभएका क्याम्पसहरूमा फागुन १८ गते नै निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गर्न गराउन हुन स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिको निर्णय भएको व्यहोरा जानकारी गराउँदछु,’ समिति सदस्य सचिव गंगाबहादुर मगरले जारी गरेको परिपत्रमा भनिएको छ ।
समितिले फागुन १४ र १५ गतेको मनोनयन दर्तालगायत सबै कार्यक्रमलाई १५ र १६ गते बिहान साढे दस बजेभित्र सम्पन्न गर्न भनेको छ । सुरुका तालिकादेखि नै अवरुद्ध भएका क्याम्पसले पनि सबै तालिका मिलाएर तोकिएकै मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउनुपर्ने छ । कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) लगायतले विभिन्न क्याम्पसमा तालबन्दी गरेका छन् । पाटन संयुक्त क्याम्पस, महेन्द्ररत्न ताहाचल, आरआर, नेपाल ल, पद्मकन्या, पुल्चोक इन्जिनियरिङ लगायत क्याम्पसमा अवरोध जारी छ । ‘कही छिटो र कही ढिलो मनोनयन प्रक्रिया जारी छ,’ नेविसंघका महामन्त्री सरोज थापाले भने, ‘हामीले सबै क्याम्पसमा ताला खोल्न निर्देशन जारी गरेका छौं ।’
त्रिविका ६० वटा आंगिक क्याम्पसमध्ये शनिबार २२ वटामा मात्रै मनोनयन दर्ता भएको थियो । आइतबार थप तीन क्याम्पसमा तालाबन्दी खुलेको शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले जनाइन् । ‘आइतबारसम्ममा २५ आंगिक क्याम्पसमा दर्ता मनोनयन भएको जानकारीमा आएको छ,’ स्ववियु चुनावलाई लिएर लागेको ताला खुलाउन विद्यार्थी संगठनका प्रतिनिधिहरूसित वार्ता जारी रहेको उल्लेख गर्दै त्रिपाठीले भनिन्, ‘निर्धारित तालिकाअनुसार सोमबार बिहान साढे दस बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । तालिकाअनुसार समयसीमाभित्र जति क्याम्पसमा सम्भव छ त्यतिमा स्ववियु चुनाव हुनेछ ।’
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया