ललितपुर - अँग्रजी भाषा र यसको पठन पाठनमा आईपरेका चुनौति लगायतका विषयमा चर्चा गर्दै नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को २२ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
विभिन्न २२ देशका अंग्रेजी भाषा विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र तथा अनसुन्धानपत्र प्रस्तुत गरेको सम्मेलनमा विदेशी २ सय र नेपाली ८ सय जना अंग्रेजी शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा अमेरिकी प्रोफेसर लिजावेथ टी. इंग्ल्यान्डले २१ औं शताब्दीका लागि अंग्रेजी भाषा शिक्षणको पेशागत दिशा’ विषयमा प्रस्तुति दिँदै वर्तमान समयमा शिक्षणमा थुप्रै चुनौतिहरु थपिएको बताइन् । उनले आफ्ना पेशागत जीन्दगीभर संगालेका शिक्षण सीप, वानीहरुको परिवर्तन तथा विकास गर्दै २१ औं शताब्दीमा देखिएका समस्याहरुलाई समाधान गर्दै नयाँ दिशाबाट शिक्षणमा सुधारको आवश्यकता औंल्याएकी थिइन् ।
त्यस्तै वक्ता इंग्ल्याण्डका शिक्षाविद् निक पेचीले शिक्षणमा सुधारका लागि प्रविधिको आवश्यकता विषयमा भनाइ राख्दै अहिलको विश्वमा कक्षा शिक्षण बाहिर गएर सिकाइका स्रोतहरु खोज्ने माध्यमका बारेमा प्रस्तुति दिएका थिए भने भारतको हैदराबाद विश्वविद्यालयका प्रायोगिक भाषाविज्ञानका प्राध्यापक पञ्चनन महन्तीले प्राथमिक तहमा मातृभाषाको माध्यमद्वारा शिक्षणको महत्वको सन्दर्भमा चर्चा गर्दै भारतीय विद्यालय प्रणालीमा कसरी अल्पसंख्यक मातृभाषी विद्यार्थी सरकारी सेवा र सुविधाबाट विमुख रहेका छन् भन्ने जनाए । उनले अंग्रेजी माध्यमबाट पढाउने विद्यालयहरुमा विद्यार्थीलाई अंग्रेजी नबोलेबापत दिइने सँजायका बारेमा जानकारी दिए ।
सोही कार्यक्रममा वक्ता अष्ट्रेलियाली वरिष्ठ प्राध्यापक डा. रस्सलले क्रसले विषयवस्तु तथा भाषा सहितको सिकाइका बारेमा उल्लेख गर्दै यसका विभिन्न आयामहरुको बारेमा ब्याख्या गरेका थिए ।
सम्मेलनको पहिलो दिन ४८ वटा, दोस्रो दिन ९६ र तेस्रो दिन ३२ वटा विषयहरुका सन्दर्भमा कार्यपत्र प्रस्तुत भएको छ ।
‘भाषा, संस्कृति तथा प्रविधि ः अंग्रेजी भाषा शिक्षणमा नवीनताको अन्वेषण’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले आउँदो कार्यकालको लागि नयाँ नेतृत्व पनि चयन गरेको छ । नेल्टाको नयाँ नेतृत्वको सभापतिमा मोतीकला सुब्बा देवान, वरिष्ठ उपसभापतिमा डा. लक्ष्मण ज्ञवाली, उपसभापतिमा जयराम खनाल चुनिएका छन् ।
त्यस्तै महासचिवमा ईश्वर अधिकारी, सचिवमा प्रेम पौडेल, कोषाध्यक्षमा अशोक सापकोटा, सदस्य सचिवमा लक्ष्मीप्रसाद ओझा चुनिएका छन् । यस्तै सदस्यहरुमा पूर्वाञ्चलबाट केशवप्रसाद भट्टराई, मध्यमाञ्चलबाट गणेशप्रसाद हुमागाइँ, पश्चिमाञ्चलबाट तारानाथ भट्टराई, मध्यपश्चिमाञ्चलबाट हेमरा खड्का र सुदूर पश्चिमाञ्चलबाट अर्पणा भट्ट चुनिएका छन् ।
सदस्यहरुमा भने क्रमशः डा. अनिलकुमार झा, डा. शिवशरण पाण्डे, अग्निप्रसाद भट्टराई, सन्तोष अर्याल, भीमलाल गौतम, भरतबाबु खनाल, गुरुप्रसाद पौडेल, गंगालक्ष्मी भण्डारी, संगीता सापकोटा, डा.गोपाल प्रसाद पाण्डे, जगदीश पौडेल र दुण्डिराज गिरी चुनिएका छन् ।
१३ गतेदेखि सुरु भएको सम्मेलनले नेल्टाको २३ औं सम्मेलन २०७४ फागनु ३ देखि ५ सम्म गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया