काठमाडौं १४ फागुन/ जिल्लाका सबैजसो छात्रावास नियमविपरीत रहेको खुलासा भएको छ । न्यूनतम मापदण्डसमेत पूरा नगरी बिनादर्ता सञ्चालित छात्रावास छ्यापछ्याप्ती छन् ।
गत सोमबार ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको छात्रावासमा एक बालकको मृत्युपछि भएको अनुसन्धान क्रममा लापरबाही खुलेको हो । काठमाडौं विश्वविद्यालय र जिल्लाका केही संस्थागत विद्यालयका छात्रावास नै दर्ता छैनन् । विद्यालय छात्रावास व्यवस्थापन निर्देशिका २०७१ ले जिल्ला छात्रावास व्यवस्थापन समितिको व्यवस्था गरे पनि अहिलेसम्म गठनै हुन सकेको छैन । समिति नहुँदा छात्रावास अनुगमन शून्य छ । जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा बन्ने समितिलाई छात्रावास दर्ता तथा नवीकरण, मापदण्डअनुसार नभए अनुमति खारेज, शुल्क निर्धारण, अभिलेख र प्रत्येक ६ महिनामा अनिवार्य रूपमा खानाको गुणस्तर जाँच गर्न सक्ने अधिकार रहन्छ ।
जिल्ला शिक्षा कार्यालयका निरीक्षक वा स्रोतव्यक्तिले प्रत्येक ६ महिनामा निरीक्षण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ तर त्यसो हुन सकेको छैन । समिति नभएका कारण संस्थागत विद्यालयले आफूखुसी छात्रावास चलाइरहेका छन् । दुई तहको खाट राखेर एउटै कोठामा १० जनासम्म सुताउने गरिएको पाइएको छ । साँघुरो कोठामा बस्नुपर्दा पठनपाठनमा समस्या हुने गरेको छ । ओछ्यान, खाना पनि गुणस्तरीय नरहेको विद्यार्थी गुनासो गर्छन् ।
‘निर्देशिकामा छ भने अब समिति गठन गर्नुपर्ला,’ जिशिअ दीपेन्द्र गुरुङले भने, ‘समितिमार्फत अनुगमन गरेर दोषी देखिए कारबाही गर्छौं ।’
प्रजिअ शिव सिंखडाले छात्रावास सञ्चालकलाई पहिलो चरणमा मापदण्डबारे सचेत गराउने, अटेरी गरे अनुगमन गरेर कारबाही अघि बढाउने बताए । ‘पछिल्लो घटनाले हामीलाई थप सचेत गराएको छ, सञ्चालक बोलाएर कुरा गर्छु’ उनले भने, ‘अटेरी गरेको पाइए कारबाही प्रक्रिया अगाडि बढाउँछु ।’
निर्देशिकाअनुसार छात्रावास बाल, लैंगिक र अपांगमैत्री हुनुपर्नेछ । विद्यार्थीका लागि छुट्टाछुट्टै पलङ, डस्ना, तन्ना र मौसम अनुसार कम्बल, सिरक वा झुलको नियमित सरसफाइ हुनुपर्ने उल्लेख छ । दैनिक न्यूनतम २२ सय २० क्यालोरी र साप्ताहिक रूपमा खानेकुराको सूची तयार गरी डाइनिङ कक्षमा राख्नुपर्छ । दैनिक ४ पटक खाना, साप्ताहिक रूपमा माछामासुको व्यवस्था र शाकाहारीका लागि फलफूल उपलब्ध गराउनुपर्छ । यहाँका छात्रावासले यी मापदण्ड पूरा गरेका छैनन् । एन प्याब्सन अध्यक्ष अर्जुन बञ्जाराले सरकारी निकायले छात्रावासलाई कडाइ गर्न नसकेको आरोप लगाए । ‘सरोकारवालाले पनि कडाइ गर्न सकेका छ्रैनन्, विद्यालयमा नै होस्टल चलाइरहेको अवस्था छ,’ उनले भने ।
नगेन्द्र अधिकारीले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया