काठमाडौं १४ फागुन/ चिटिक्क परेका कक्षाकोठा, चुस्त व्यवस्थापन अनि सरसफाइमा अब्बल । मुरु २ खोरबारेस्थित जनचेतना आधारभुत विद्यालय अहिले यिनै विशेषताले चिनिन्छ । आवश्यकताअनुसार शिक्षक छन्, आन्तरिक स्रोत पनि प्रशस्तै छ । यो उपलब्धिका पछाडि विद्यालयलाई स्थानीय बासिन्दाको ठूलो भरथेग छ ।
२०६४ मा स्थानीयकै पहलमा स्थापित विद्यालयमा बाल विकास केन्द्रदेखि ५ कक्षा पढाइ हुन्छ । ६७ विद्यार्थीका लागि चार शिक्षक छन् । स्थानीयले विद्यालय सञ्चालनमा हरसम्भव सहयोग गरिरहेको प्रधानाध्यापक भीमबहादुर दलामीले बताए । ‘शिक्षक र कर्मचारीको भूमिका पनि सराहनीय भएकाले हामी यो अवस्थामा आएका हौं,’ उनले भने । विद्यालयमा शैक्षिक सामग्री प्रयोगबिना पठनपाठन हुँदैन । बालशिक्षाकी सहयोगी कार्यकर्ता निर्मला ओलीले स्थानीयको सहयोग लिएर त्यहीँका स्रोतसाधन प्रयोग गरी शैक्षिक सामग्री व्यवस्था गरेकी हुन् । यसरी पढाउँदा प्रभावकारी भएको उनले बताइन् ।
जिल्लाका नमुना मानिने यो विद्यालयले जिल्ला शिक्षा कार्यालयबाट सञ्चालनको अनुमति र हरेक वर्ष २०/२५ हजार पीसीएफबाहेक कुनै सहयोग पाएको छैन । प्रअ दलामीका अनुसार २०७२ असोजयता शिक्षकले तलब पाउन सकेका छैनन् । अभिभावकको स्वैच्छिक सहयोग र हरेक वर्ष खेलिने देउसीभैलोबाट संकलित रकम अन्य व्यवस्थापनमा खर्च हुने गरेको छ । शिक्षकहरूले तलबबापत ५ लाख ५० हजार रुपैयाँ लिन बाँकी छ ।
यति धेरै समस्याका बाबजुद चलेको विद्यालयलाई एक वर्षअघि गैरसरकारी संस्थाले केही सहयोग गरेको उनले जानकारी दिए । ‘गैरसरकारी सानो सहयोगले विद्यालयलाई यतिसम्म व्यवस्थित बनाउन सकेका छौं,’ दलामीले भने, ‘सरकारी निकायबाट कम्तीमा एक/दुईवटा दरबन्दीसम्म पाउन सके यसलाई अझै राम्रो बनाउन सकिन्थ्यो ।’
विद्यालय व्यवस्थापन समिति अध्यक्ष साउने ओलीले शिक्षा कार्यालयले दरबन्दी र राहत कोटा आवश्यकै नरहेका विद्यालयलाई बाँड्ने गरेको गुनासो गरे । ‘विद्यालयको व्यवस्थापनमा हामीले कमी गरेका छैनौं,’ उनले भने, ‘तर सरकारी तवरबाट केही सहयोग पाउन सकिएको छैन ।’ तलब भुक्तानी गर्न नसक्दा यसअघिका दुई जना शिक्षकले विद्यालय छाडिसकेको र अरूले पनि छाड्ने मनस्थिति बनाएको उनले बताए ।
नमुना बन्यो सहिद विद्यालय
सिरहा– व्यवस्थित कम्पाउन्ड, सरसफाइ र भौतिक पूर्वाधार हेर्दा निजी विद्यालयजस्तो भान हुन्छ । भौतिक संरचना मात्र होइन, पढाइमा पनि नमुना बनेको छ गाढा ३ स्थित सहिद रमेश महतो आधारभूत विद्यालय ।
कहीँ शिक्षक त कहीँ भौतिक संरचना अभावले अध्यापन राम्रो नभएको गुनासो आइरहँदा यो सामुदायिक विद्यालयले भने आफूलाई जिल्लाकै अब्बल साबित गरिरहेको छ ।
मधेस आन्दोलनका सहिद रमेश महतोका नाममा २०६६ सालमा स्थापित विद्यालयमा कक्षा ४ सम्म पढाइ हुन्छ । अध्ययनरत २ सय ११ विद्यार्थीमध्ये ९७ जना दलित समुदायका छन् । विद्यालयमा फर्निचरलगायत सुविधासम्पन्न ६ वटा कोठा छन् । खानेपानीका लागि धारा, धाराजडित शौचालय, सड्ने र नसड्ने फोहोर राख्ने भाँडोको व्यवस्था गरिएको छ । कम्पाउन्ड र विद्यालय परिसर वातावरण र बालमैत्री बनाइएको छ । विद्यालयको आफ्नै पुस्तकालय पनि छ । सानो माछापोखरीबाट विद्यालयको आम्दानी बढेको छ । विद्यार्थी नियमित विद्यालय आउँछन् । प्रधानाध्यापक उपेन्द्र महतो स्थापनाकालदेखि नै शिक्षक र स्थानीयको सक्रियताले विद्यालय नमुना बन्न सकेको बताउँछन् ।
भवन निर्माणका लागि अभिभावकले सहयोग गरे । मन्त्रिपरिषद्बाट समेत १० लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । कक्षा ४ मा अध्ययनरत सन्तोषीकुमारी राबम चमारले पढाइसँगै विद्यालयको वातावरण राम्रो भएकाले कहिल्यै कक्षा नछाडेको बताउँछिन् ।
विद्यालय व्यवस्थापन समिति सदस्य मूर्तिदेवी सदाय मुसहरले विद्यालय मात्रै होइन, गाउँमै जातीय विभेद नरहेको सुनाइन् । ‘विद्यालय सुधारका लागि व्यवस्थापन समितिसँगै शिक्षक पनि जागरुक भएकाले यो नमुना बन्न सफल भएको हो,’ उनले भनिन्, ‘अभिभावक नियमित विद्यालय आएर रेखदेख गरिरहन्छन् ।’
निजी लगानीमा भवन
ओखलढुंगा– पोकली–१ लेतीस्थित पुरुषोत्तम आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरिएको छ । स्विट्जरल्यान्डमा बस्दै आएका जनार्दन गौतमले १३ लाख लगानी गरेर ६ कोठे पक्की भवन बनाइदिएका हुन् । गौतमकै सहयोगमा २०५९ मा विद्यालय स्थापना भएको थियो । २०६४ मा तीन कक्षासम्मको अनुमति पाएर सञ्चालन हुँदै आएको विद्यालयमा हाल २४ जना विपन्न समुदायका छात्रछात्रा अध्ययनरत छन् । भूकम्पले पुरानो भवन पूर्ण रूपमा भत्काएपछि विद्यालय टहरामा सञ्चालन हुँदै आएको थियो ।
पक्की भवन बनेपछि पठनपाठन सहज भएको प्रधानाध्यापक टेककुमारी दाहालले बताइन् । लगानीकर्ता गौतमले आफू जन्मेको ठाउँका विपन्न समुदायका बालबालिका पठनपाठनबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले सामाजिक कार्य गरेको बताए ।
खाजाले नियमित
सिन्धुपाल्चोक (कास)– महांकाल गाविसको ग्याल्थुमनिवासी दिनेश तामाङ हेलम्बु आधारभूत पाठशालामा कक्षा ४ मा पढ्छन् । पहिले प्राय: गयल भइरहने उनी अहिले नियमित विद्यालय जान थालेको अभिभावक बताउँछन् । विद्यालयमै खाजा खाजा पाइने भएपछि उनी पढाइमा आकर्षित भएका हुन् । विश्व खाद्य कार्यक्रमले स्थानीय महिला सहकारीसँग सहकार्य गरी विद्यालयमा दिवाखाजाको प्रबन्ध मिलाएको हो । विद्यालयछेउ लगाइएको ताजा तरकारी र स्थानीय स्तरमा उत्पादित खाद्य सामग्रीलाई दिवाखाजामा समावेश गरिएको छ । बालबालिकालाई आवश्यक शैक्षिक सामग्री पनि सहयोगीबाटै भरथेग भइरहेको छ ।
साथीसँगै बसेर खाजा खान पाइने भएकाले स्कुल आउन मन लाग्ने दिनेशले बताए । ‘खाजा पाएपछि पढ्ने जाँगर चल्यो,’ उनले भने, ‘अहिले कक्षा छाड्न मन लाग्दैन ।’ सहकारीका सदस्यले तयार पारेको खाजा विद्यार्थीलाई दिने गरेको महिला सहकारीकी संस्थापक अध्यक्ष निर्मला लामिछानेले बताइन् । विद्यालयका ८४ बालबालिकाले दिवाखाजा र शैक्षिक सामग्री नि:शुल्क पाउने गरेका छन् । ती सबैलाई विद्यालयले छात्रवृत्ति पनि उपलब्ध गराएको छ । अहिले हेलम्बु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर पनि सुध्रिएको छ ।
हिमाली र केही पहाडी बस्तीका २१ विद्यालयमा दिवाखाजा कार्यक्रम लागू गरिएको छ । हेलम्बु आधारभूतका प्रधानाध्यापक चन्द्रकुमार लामिछानेका अनुसार बालबालिकालाई चाउचाउ र बिस्कुटजस्ता जंकफुड निषेध नै गरेर स्थानीय स्तरमा उत्पादित पौष्टिक खाजा जाउलो, रोटी, तरकारी, अन्डा, फलफूल दिन थालिएको छ । उनले भने, ‘बालबालिका र अभिभावकले पनि जंकफुड खान नहुने बुझै
आएका छन् ।’
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया