Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

तालिम हेडसरलाई, नतिजा चाँही हामीबाट खोज्ने ?

विहीबार, १२ फागुन २०७३

भक्तपुर– भक्तपुरको शारदा माध्यमिक विद्यालयले निरन्तर विद्यार्थी मूल्यांकन (क्यास) सञ्चयिका अभिलेख बनाएर विद्यार्थीको तथ्यांक राख्ने गरेको छ । सो विद्यालयको केजीदेखि कक्षा ५ सम्म पढ्ने विद्यार्थीको छुट्टाछुट्टै अभिलेखमा क्रमशः कक्षा कार्य, परियोजना कार्य, व्यवहार परिवर्तन, सिर्जनात्मक कार्य, हाजिरी र लिखित/मौखिक प्रश्नोत्तरलगायतका वुंदाहरु समावेश गरिएका छन् ।

यतिमात्र नभएर विद्यालयले बनाएको सो अभिलेखमा विद्यार्थीको नाम, पाठ नं., विद्यार्थीमा देखा परेको मुख्य समस्या, निदानका लागि भएको प्रयास र निदानपछि आएको परिवर्तन भन्ने वुंदाहरु पनि उल्लेख गरिएका छन् ।

बालबालिकालाई लिखित परीक्षाको तनावबाट मुक्त गराउन सरकारी विद्यालयले निरन्तर मूल्यांकन विधिबाट पढाउन सुरु गरेपछि विद्यार्थीले रमाइलोसँग सिक्ने गरेको शिक्षक गीता केसी बताउँछिज् । क्यासबारेमा तालिमसमेत नलिएकी उनले स्वअध्ययन, अनुसन्धान, खोजीनीति र छलफल गरेर कक्षामा लागू गरिरहेको भने बताईन् ।

‘क्यास भएपछि विद्यार्थीहरुलाई सुधार्न सकिने मौका मिल्यो, बच्चाहरु के मा कमजोरी छ भन्ने कुरा क्यासको रेकर्डमा रहन्छ, त्यही रेकर्ड हेरेर हामीले उनीहरुको कमजोरी पक्ष सुधार्न सक्छौं ।’ उनले भनिन् ।

प्राथमिक शिक्षक केसीले दिनभरको गतिविधि मूंल्याकन गरी सबै विद्यार्थीको व्यक्तिगत रेकर्ड राख्ने गरेका कारण विद्यार्थीबारेमा सबै जानकारी भएकोले सोही अनुसार गर्न आफूलाई सजिलो भएको जनाइन् । सोही कारण उनको दराजमा प्रत्येक विद्यार्थीको दैनिक क्रियाकलापसहित करिब ४० पानाको विवरण भेटिन्छ आजकाल । त्यो विवरणमा सातापिच्छे विद्यार्थीको मूल्यांकन गरिने गरिएको छ ।

भक्तपुरको शारदा माध्यमिक विद्यालयका प्रअ रोशनराज तुइँतुइँले आफ्नो विद्यालयको ५ सम्म क्यासकै आधारमा विद्यार्थीको मूल्यांकन हुने बताउँदै क्यासले गर्दा धेरै विद्यार्थी पढाइप्रति उत्साहित देखिएको बताए । ‘क्यास अन्तर्गतको कुनै पनि वुंदामा ४ं प्रतिशतभन्दा कम अंक आएको खण्डमा हामी सो विद्यार्थीको बारेमा अध्ययन गर्छौं, त्यसको कारण खोज्छौं, अभिभावक भेट्छौं’, उनले भने, ‘त्यसले गर्दा विद्यार्थीले पढाइमा प्रगति गरेका छन् ।’

भक्तपुरको सो स्कुलमा उक्त प्रणाली लागू भए पनि भक्तपुरकै अझै पनि धेरै स्कुलहरुमा यो प्रणालीबाट परीक्षा लिने गरिएको भने छैन । ‘कहिँ यो प्रणाली पूर्ण रुपमा लागू छ भने कहिँ छैन, कहिँ देखावटी मात्र ।’ एक विद्यालय निरीक्षकले भने, ‘अझ कतिपय विद्यालयले परम्परागत रुपमा परीक्षा लिने तर परीक्षाफल भने क्यास प्रणालीमै गरेको भनी ‘नक्कली रिपोर्ट’ समेत शिक्षा कार्यालयमा बुझाउने गरेका छन् ।’ तर, त्यसको अनुगमन भने हुनेगरेको छैन ।

कक्षाकोठामै रहेर विद्यार्थीको मूल्यांकन गर्नुपर्ने, त्यसका लागि शिक्षक सक्रिय हुनुपर्ने भएकोले त्यो सन्दर्भमा शिक्षकले नै ‘अल्छी’ गर्ने गरेको धेरै प्रधानाध्यपकको भनाइ छ । शिक्षक भने तालिमको अभाव हुँदा क्यास लागू गर्न नसकेको बताउँछन् । ‘क्यास लागू गर्ने भनेर तालिम दिए पनि त्यो तालिम कक्षामा जाने शिक्षकलाई भन्दा प्रशासन चलाउने हेडसरलाई दिने गरेका छन्’ एक शिक्षकले नाम नबताउने सर्तमा भने ‘तालिम प्रिन्सिपललाई दिने अनि लागू हामीमार्फत गराउन खोज्नु असान्दर्भिक छ ।’

‘क्यास’ ले शिक्षामा गुणात्मक परिवर्तन ल्याउँछ, विद्यार्थीले कक्षा छोड्ने दरमा न्यूनीकरण गर्छ भन्ने सरकारी दाबी रहे पनि ‘क्यास’को मर्म र अवधारणाअनुसार काम नभएकोमा चिन्तित छन्, प्रअ तुइँतुइँ । ‘यो राम्ररी लागू नभएर विष बराबर हुन्छ’ उनले भने ‘राम्ररी लागू नगरी उदार कक्षा नीतिमात्र मानेको खण्डमा यसले भविष्यमा भयावह स्थिति ल्याउँछ ।’

‘क्यास’ लागू गराउन आफ्नो विद्यालयलाई पनि समस्या भएको बताउँदै भक्तपुरको वागीश्वरी उमाविका सहप्राचार्य ज्ञानसागर प्रजापति यो प्रणाली लागू गर्नका लागि व्यावहारिक रुपमा कठिनाइ भएको बताउँछन् । ‘सरकारले लागू गर्न भनेपछि मात्र गरेका छौं, पूर्ण रुपमा लागू गर्न सकेका छैनौं ।’ उनले थपे ।

उनले अन्य स्कुलले नियमित परीक्षा सञ्चालन गरेर विद्यालय चलाइरहेको सन्दर्भमा सामुदायिक विद्यालयले नियमित रुपमा लिइने परीक्षा नै नलिई विद्यालय चलाउँदा समस्या हुने कारण पूर्ण रुपमा ‘क्यास’ लागू गर्न असम्भव भएको बताए । ‘क्यास’लाई उदार कक्षा नीतिको संज्ञा दिँदै भने, ‘औपचारिक परीक्षा नलिने हो भने सामुदायिक विद्यालय सुक्न सक्छ ।’ सरकारले विगत एक दशकदेखि निरन्तर मूल्यांकन प्रणाली (क्यास) लागू गरिरहेको छ ।

‘क्यास भनेको अब पहिलेजस्तै गरी जाँच नलिनु भन्ने जिल्ला शिक्षा कार्यालयको आदेश हो, विद्यार्थीलाई अब फेल नगर्ने नीति हो’ भन्ने शिक्षक र प्रिन्सिपलबाट ‘थोरै’ थाहा पाएपछि अभिभावकमात्र नभएर त्यसलाई लागू गर्ने जिम्मेवारीमा शिक्षक पनि कुहिरोको कागझैं बनेको शिक्षकहरु स्वीकार्छन् । ‘क्यासबारेमा वास्तवमा शिक्षकहरुलाई राम्ररी जानकारी नै छैन, यो विषयमा स्रोतकेन्द्रले आयोजना गरेको तालिममा सहभागी भएका शिक्षकहरुले समेत राम्ररी व्याख्या गर्न सकेका छैनन् ।’ शिक्षक घनश्याम खड्काले भने । उनले ‘क्यास’ को अवधारणा राम्रो भए पनि त्यो बारेमा शिक्षकहरु नै अलमलमा हुँदा कार्यान्वयनको अवस्था नाजुक रहेको स्वीकारे ।

प्रतिक्रिया