काठमाडौं - यो आर्थिक बर्षको सात महिनामा सेवा निवृत्त शिक्षकलाई झण्डै डेढ अर्व रुपैंया निकासा भएको छ । गत साउन १ गते देखि फागुन ६ गते सम्म सेवा निवृत्त शिक्षकको उपदान, सञ्चित विदा र औषधी उपचार गरी १ अर्ब ४६ करोड ७७ लाख ४८ हजार १ सय २८ रुपैंया ६२ पैसा निकासा गरिएको विद्यालय शिक्षक कितावखानाले जनाएको छ ।
यो रकम १९ सय ८५ शिक्षकका लागि भएको किताबखानाका लेखा अधिकृत कृष्णप्रसाद खनालले जानकारी दिए । यी मध्ये १८ सय ४५ जना स्थायी र १ सय ३१ जना अस्थायी शिक्षक रहेको खनालले बताए ।
६० बर्ष सेवा अवधि पुगेका शिक्षकलाई सञ्चित विरामी विदाको र औषधि उपचारको रकम उपलब्ध हुन्छ भने, निवृत्तभरण पाउने अवधि अर्थात् २० बर्ष भन्दा कम सेवा अवधि भएका शिक्षकको हकमा सेवा निवृत्त शिक्षकलाई उपदानको रकम, विदाको रकम र औषधी उपचारको रकम निकास हुन्छ । अस्थायी शिक्षकलाई विरामी विदाको रकम मात्रै उपलब्ध गराईन्छ ।
अस्थायीका हकमा जिशिकाले नियुक्ति दिएका, विद्यालयले नियुक्ति गरी जिशिकाले स्विकृति दिएका र विद्यालयले नियुक्ति गरेको र जिशिकाले अभिलेख कायम गरी नियमित रुपमा रकम निकासा गरेका गरी तीन थरीका अस्थाईले मात्रै यो रकम पाउँछन् ।
किताबखानाले निकासा गरेको रकम हरेक जिल्ला शिक्षा कार्यालय पुग्छ भने, जिशकाले कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत् चेक बाट हरेक शिक्षकलाई भुक्तानी गर्छन् ।
निकासा भएको रकम मध्य सबै भन्दा धेरै २ करोड २६ लाख ३९ हजार ५ सय ६९ रुपैंया स्याङ्जाका लागि छ । जुन रकम ३४ जना शिक्षकका लागि हो । यस्तै सबै भन्दा कम रकम हुम्लाका २ शिक्षकका लागि १ लाख ५४ हजार ७ सय ९१ रुपैंया रहेको खनालले जानकारी दिए ।
प्रतिक्रिया