Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
गतिविधि

पठनपाठन र विद्यालयमा अवरोध नगर्न मधेशी मोर्चालाई आग्रह

बुधबार, ११ फागुन २०७३

काठमाडौं - बालबालिकालाई निर्वाध पठनपाठन गर्न तथा विद्यालयललाई स्वस्फुर्त रुपमा सञ्चालन गर्न दिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सीजप) ले आग्रह गरेको छ । स्थानीय निर्वाचन घोषणाको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको मोर्चालाई ध्यानाकर्षण पत्र मार्फत् सीजपले यस्तो आग्रह गरेको हो ।

मोर्चाले बुधबार तराइका २० जिल्लामा बन्दको आह्वान गरेको हुँदा विद्यालय शान्तिक्षेत्रको मर्मअनुसार विद्यालयललाई स्वस्फुर्त रुपमा सञ्चालन गर्न दिन सीजपका अध्यक्ष कृष्ण सुवेदीले ध्यानाकर्षण पत्र मार्फत् अनुरोध गरेका छन् ।

नेपाल सरकारले “विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८” जारी गरी कार्यान्वयनमा आईसकेको सन्दर्भ स्मरण गर्दै उक्त ध्यानाकर्षण पत्रमा निर्देशिकाको मर्म अनुसार विद्यालयलाई बन्द नगराउँने र बालबालिकालाई दलगत राजनीतिमा प्रयोग नगर्ने विषयमा राजनीतिक दलका प्रमुखहरुले नै प्रतिवद्दता जनाएको कुरा पनि सम्झाईएको छ ।

निर्देशिका कार्यान्वयनका लागि बालअधिकार तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरकारी, गैरसरकारी निकाय लगायत शिक्षक र अभिभावक संघ संगठन, युनियनहरु तथा राजनीतिक दलहरु र तिनका भातृ संगठनहरुले समेत प्रतिबद्धता जाहेर गरिसकेका छन् । तर पनि बालबालिका र विद्यालयमा अध्ययनरत विद्यार्थीमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभिन्न बहानामा बन्द आह्वान गर्ने, विद्यालय बन्द गर्ने, बालबालिकालाई राजनीतिक क्रियाकलापमा सामेल गराउने तथा पठनपाठनमा नकारात्मक असर गर्ने खालका गतिविधि हुने क्रम नरोकिएको भन्दै सीजपले चिन्ता ब्यक्त गरेको छ ।

'यसर्थ, बिभिन्न माग गर्दै यस्ता बन्द, हड्ताल जस्ता कार्यक्रम आह्वान नगरी वैकल्पिक माध्यम अपनाई दिन र “विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८” को प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दछौं' सीजपको ध्यानाकर्षण पत्रमा भनिएको छ, 'साथै विगतमा गरेको प्रतिवद्दताबाट पछि नहट्न जनताप्रति जिम्मेवार राजनीतिक दलहरुलाई बालबालिकाको पक्षबाट पनि सोचिदिनु हुन यस अभियान आग्रह गर्दै विद्यालयलाई निर्वाध रुपमा सञ्चालन गर्न र बालबालिकाको शिक्षाको अधिकारको सम्मान गर्न राजनीतिक दलहरुलाई यस अभियान हार्दिक अपिलका साथ ध्यानाकर्षण गर्न चाहन्छौं ।'

प्रतिक्रिया