Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
विचार / विमर्श

अन्यौलमा कक्षा ११ को परीक्षा : यसो गर्न सकिँदैन र !

बुधबार, ११ फागुन २०७३

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा सूचि भित्रै पर्ने गरी स्थानीय निकायको निर्वाचनको मिति घोषणा भएपछि कक्षा ११ को परीक्षा प्रभावित हुने कुरामा दुईमत रहेन ।

यतिखेरको मूल सरोकार परीक्षा निर्वाचन अघि या पछि सार्ने भन्ने नै हो । नेपाली कर्मचारीतन्त्रको मानिसिकता र कार्यशैलीलाई हेर्दा परीक्षा निर्वाचन पछाडि नै सर्नसक्ने पूर्वानुमान गर्न सकिन्छ । परीक्षा बोर्डसंग एउट अचूक रेडिमेड जवाफ पनि रहेको छ – निर्वाचन भन्दा अगाडि परीक्षा सार्दा कक्षा १२ को परीक्षा तालिका पनि सार्नु पर्छ ।

आफ्नो औचित्य प्रमाणित गर्न नसकिरहेको बेलामा ’निर्वाचन’ एउटा सुनौलो अवसर हुन सक्नेछ बोर्डलाई । यदि यस्ले सामुदायीक विद्यालयमा कक्षा ११ र १२ को पठनपाठनको व्यवहारिक समस्यालाई ध्यान दिएको छ भने । कक्षा ११ र १२ को अन्तिम परीक्षा चैत्र भित्रै सम्पन्न गर्न सकियो भने आजसम्मका परीक्षाको नतिजामा दोहोरो अङ्कले वृद्धि हुनेछ ।

कक्षा १० सम्मको पाठ्य विषय वस्तु, तिनको स्तर लगायतकाको फरकपन अहिलेलाई छोडी दिऔँ । 

सामुदायिक विद्यालयहरूमा मुख्यगरी दुई व्यवहारिक समस्याहरू देखिएका छन् –

१)    कक्षा ११ र १२ लाई विद्यालय संरचना भित्र समाहित भैसकेको तथ्य कसैबाट पनि लुकेको छैन । प्रत्येक तत्कालिन उमाविहरूलाई दुईवटाका दरले उमावि दरबन्दी (अस्थायी होस् या राहत) उपलब्ध गराइएको छ जसबाट बढिमा दशवटा घण्टीहरू चलेका छन् । सामान्यतया प्रत्येक तत्कालिन उमाविहरूमा वाणिज्य र शिक्षा गरी दुई सङ्कायहरू सञ्चालनमा छन् । यस हिसाबले कक्षा ११ मा कम्तिमा पनि ८ घण्टी र कक्षा १२ मा कम्तिमा पनि ९ घण्टी गरेर कम्तिमा १७ घण्टी सञ्चालनमा छन् । बचेको ७ घण्टी विद्यालय तहकै शिक्षकहरूबाट पूरा गर्नु पर्ने बाध्यता हुन्छ ।

२)    कक्षा १० सम्मको शैक्षिक कार्यक्रम बैशाखबाट सुरु भएर चैत्रमा सकिन्छ । सामन्यतया चैत्र पन्ध्र पछि १० कक्षा सम्मको पठनपाठन कार्य बन्द भैसकेको हुन्छ । जसको प्रत्यक्ष प्रभाव कक्षा ११ र १२ मा पनि पर्दछ  र दुबै कक्षाको पठनपाठन कार्य बन्द हुन पुग्दछ । कक्षा १२ को पठनपाठन असार १५ तिरबाट सुरु हुने गरेको छ भने कक्षा ११ को अहिलेको परिवेशमा साउनबाट कक्षा सञ्चालन गर्नु पर्ने हुन्छ । तर, सामुदायिक विद्यालयहरूको वर्षे विदा धेरै जिल्लाहरूमा साउन महिना हुने हुँदा ११ र १२ दुबैको पठनपाठनले भाद्रबाट मात्रै गति लिन्छ । एक महिना पनि बित्न नपाउँदै दशै तिहारले छोप्छ र पुन पठनपाठन बन्द हुन पुग्छ ।

यस्तो परिस्थितिमा विद्यार्थीले ६ महिना पनि मुस्किलले पढ्न पाउँछन् । अनि नतिजा कसरी आउँछ !?

यसो गर्न सकिँदैन र !

१)    कक्षा १० को अन्तिम परीक्षा क्षेत्रीय स्तरमा हुने तयारी भएको हुँदा नतीजा प्रकाशन एक महिना भित्रै गर्न सकिन्छ । त्यसो हुँदा ११ को पठनपाठन बैशाखको आधाआधिबाटै सुरु गर्न सकिन्छ ।

२)    कक्षा ११ को परीक्षालाई गाउँ या नगरस्तरीय शैक्षिक समन्वय समिति मार्फत् गर्न सकिन्छ । कतिपय जिल्लाहरूमा कक्षा ८ लाई छोडेर ९ सम्म यस्तो अभ्यास भएको पनि छ । या स्रोतकेन्द्र स्तरीय परीक्षा सञ्चालन पनि गर्न सकिन्छ ।

कक्षा ११ र १२ को पठनपाठन बारे प्रभावकारी अनुगमन हुन सकेको छैन । १० कक्षा सम्म प्रयोगमा आइरहेको विद्यार्थी भर्ना रजिष्टरलाई यी दुई कक्षाहरूमा प्रयोगमा ल्याउन सकिएको छैन । कक्षा १० सम्म पढाउने शिक्षकहरू ११ र १२ को शैक्षिक क्यालेण्डरलाई मान्न तयार देखिदैनन् । तत्कालिन उमाविहरूको संख्या कम भएको हुँदा जिल्ला शिक्षा कार्यालयहरूले तयार पार्ने वार्षिक शैक्षिक क्यालेण्डर तत्कालिन उमाविमैत्री बन्दैनन् ।

यावत समस्याहरू उच्च शिक्षा परीषद् हुँदा पनि थिए । अहिले परीक्षा बोर्ड हुँदा पनि छन् । भोलि पनि रहे भने बोर्डको औचित्य के रहला !?

ढिलो चाँडो कक्षा ११ र १२ लाई कक्षा १० सम्मको शैक्षिक क्यालेण्डर भित्रै ल्याउन पर्छ भने त्यसको सुरुवाट अहिले किन नगर्ने ?

स्थानीय निकायको निर्वाचनका कारण परीक्षा सर्छ भन्ने मानसिकता विद्यार्थी, शिक्षक, अभिभावकमा परिसकेको छ । १९ वर्ष पछि हुन थालेको यो निर्वाचन आफैमा फरक प्रकृतिको छ । नेपालको राजनीतिमा निर्वाचन पश्चातका परिघटनालाई भविष्यवाणी गर्न कठीन छ । निर्वाचन पछिका घटनाक्रमले कुनै एक जिल्लमा मात्रै पनि नयाँ तोकिने परीक्षा सूचिलाई प्रभावित पार्यो भने देशैभर त्यसको असर पर्छ । ११ को परीक्षा मिति पछि थकेलिँदै जानु भनेको ती विद्यार्थीको १२ कक्षाको पठनपाठन समयावधि र नतिजामा प्रभाव पर्नु हो ।

हाल तोकिएको परीक्षा सूचिलाई १ हप्ता अगाडि सार्दा निर्वाचनको गर्तमा रहेको समस्यावाट परीक्षा बोर्ड उम्किन सक्ने मात्रै होइन अर्को वर्ष कक्षा ११ र १२ को शैक्षिक क्यालेण्डर १० कक्षा सम्मको शैक्षिक क्यालेण्डरसंग मिल्न पनि आइपुग्छ ।

यो हुने भनिएको निर्वाचनलाई समस्याको रुपमा नहेरी एउटा सुवर्ण अवसरमा परिणत गरेर राष्ट्रिय परीक्षा बोर्डले आफ्नो आवश्यकता र औचित्यलाई प्रमाणित गर्न अग्रसर होस् ताकि सामुदायिक विद्यालका विद्यार्थीले भोग्दै आएका तमाम व्यवहारिक समस्याहरूबाट मुक्ति पाउन् ।

[email protected]

प्रतिक्रिया