Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

१२ केजीका शिक्षकको गिनिजबुकमा नाम लेखाउने धोको

बुधबार, ११ फागुन २०७३

काठमाडौं ११ फागुन/ मेरो जन्म अर्घाखाँची जिल्लाको ठूलापोखरा—२ रोटेपानीमा भएको हो । घरनजिकै स्कुल थियो । पोखरामा दर्शनायोगी अध्ययन गरेका एकजना शिक्षकको सहायताले पाँच कक्षासम्म पढ्ने मौका पाएँ । कक्षा ५ मा पढ्दै गर्दा म एकाएक बिरामी परेँ । मलाई हनहनी ज्वरो आयो । पहिला त खासै वास्ता गरिएन, तर दिन बिराएर ज्वरो आउन थालेपछि घरका मान्छे आत्तिए ।

उपचारका लागि मलाई पाल्पाको मिसन अस्पतालमा भर्ना गरियो । जति उपचार गरे पनि केही लागेन । त्यतिवेला मेरो उपचार गर्दा २५ सय जति लागेको थियो रे । विरामी भएको १५ दिनपछि घुँडा सुन्निएर हिँड्न नसक्ने भएर थलै परेँ । उपचारका क्रममा मलाई रगत चाहिने भयो । अस्पतालले रगत जुटाउन भन्यो । तर, ऊवेला रगत सहज रूपमा उपलब्ध हुन सक्दैनथ्यो । रगत जुटाउन नसकेका कारण नै मेरो अवस्था बिग्रिएको हो ।

सानोमा म सहजै हिँडडुल गर्थें । गाउँका ठुल्ठुला रूखमा चढ्नु मेरो सोखको कुरा थियो । आफू ५ कक्षा मात्रै पढेको भए पनि मैले ५ कक्षासम्मका विद्यार्थीलाई नै पढाएँ । अंग्रेजी र गणितबाहेक अरू सबै विषय पढाएँ । विद्यार्थीले मलाई असाध्यै माया गर्थे । विद्यार्थीको नजरमा रुचाइएको शिक्षक हुँ म । उनीहरूले मलाई बोकेरै आफ्नो घर पुर्‍याउने गर्थे । यतिसम्म कि कक्षामा बदमासी गरेको विद्यार्थीले आफूलाई कुट्नुस् भनेर सिर्कनुसमेत ल्याएर दिन्थे । ‘तपाईंले ल्याउन सक्नुहुन्न सर’ भनेर आफैँ सिर्कनु ल्याउँथे उनीहरू । आज सम्झिँदा लाग्छ, विद्यार्थीहरूले मलाई असाध्यै माया गर्दा रहेछन् ।

अध्यापनमा जोडिएपछि मेरो जीवनको सपना नै कुशल शिक्षक बन्ने थियो । प्रभावकारी शिक्षणका बारेमा चिन्तन गरेर नै म समय बिताउने गर्थें । अहिले मेरो उचाइ र तौललाई लिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन लागिपरेको छु । पहिलोपटक मलाई गिनिज बुकमा नाम लेखाउन सल्लाह दिने व्यक्तिहरू, पत्रकार ऋषि धमला र माओवादी नेता टोपबहादुर रायमाझी हुनुहुन्छ ।

मलाई गाउँलेले आफ्नो घरमा कर्मकाण्ड गर्नका लागि बोकेर लाने गर्थे । मैले रुद्री, चण्डी, भागवत्गायत पाठ गरिदिन्थेँ । श्राद्ध र पूजामा गाउँभरि नै मेरो माग हुने गथ्र्यो । मलाई गाउँलेले पनि असाध्यै माया गर्ने गर्छन् । मैले कहिल्यै पनि आफ्नो उचाइका कारण परिवार र गाउँलेबाट अपमानित हुनु परेन । सधैँ मायाप्रेम र सम्मान पाइरहेको छु ।

मैले पढाएका विद्यार्थीमध्ये हाल सातजना त्यही स्कुलमा अध्यापन गर्छन् । आफूले पढाएका विद्यार्थीको प्रगति देख्दा बडो खुसी लाग्छ । उचाइका कारण सुरुका दिनमा म निकै चिन्तित हुने गर्थें । आफू होचो र अरू अग्लो देख्दा मभित्र खिन्नताको भावना आउने गथ्र्यो । बानी पर्दै गएपछि होचो उचाइ नै मेरो पहिचान बन्यो । मनभित्र गौरवको भावना जाग्न थाल्यो । त्यसपछि मैले लक्ष्मीप्रसाद देवकोटाको ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने कवितालाई अपभ्रंश गरेर ‘मानिस ठूलो ज्ञानले हुन्छ—ज्यानले हुँदैन’ भन्थेँ । विद्यार्थीलाई पनि यहि पंक्ति दोहो¥याउन लगाउथेँ । सायद, मभित्र आफू कमजोर छैन भन्ने आत्मअभिमानको भावना जागृत भएको थियो होला ।

०२८ साल फागुनदेखि मैले निरन्तर ४२ वर्ष अध्यापन गरेँ । तर, शैक्षिक योग्यताको प्रमाणपत्र नभएका कारण राज्यले मलाई कहिल्यै पनि स्थायी जागिरका लागि योग्य देखेन । मैले प्रतिमहिना पाँच सय रुपैयाँबाट जागिर सुरु गरेको हुँ । मानिस अन्तरहृदयबाटै विचार र भावनामा पवित्र हुनुपर्छ भन्ने मलाई लाग्छ । शारीरिक बनावट देखावटी मात्र हो, त्यसैले आफ्नो शरीरलाई लिएर दुःखमनाउ गर्नुको कुनै कारण देख्दिनँ म । आफ्नो भौतिक स्वरूपमा मान्छेले गर्व गर्न सक्नुपर्छ । हिनताबोधले ग्रस्त मान्छेले प्रगति गर्न सक्दैन भन्ने मेरो ठहर छ ।

म आफू जीवनमा कहिल्यै पनि हिनताबोधले ग्रस्त भइनँ । बरु आफूप्रति गौरव गरेँ । धर्तीमा जन्म लिइसकेपछि समाजिक सेवामार्फत पूण्य आर्जन गर्नुपर्छ भन्ने लाग्थ्यो मलाई । त्यसैले मेरै पहलमा गाउँमा पक्की भवन भएको भौतिक सुविधासम्पन्न विद्यालय बन्यो । प्राथमिक तहबाट आफ्नै पहलमा भगवती प्राविलाई माध्यमिक तहसम्म पुर्‍याउन सफल भएको छु ।

एकजना साथीले मेरो बारेमा ‘बाह्रखरी लौरो’ नामक वृत्तचित्र बनाउनुभएको छ । त्यो वृत्तचित्र देशका विभिन्न भागमा देखाइएको थियो । सो वृत्तचित्रले मेरो परिचयको दायरालाई फराकिलो बनाइदियो । मान्छेले मेरो बारेमा चासो देखाउन थाले । विभिन्न सञ्चारमाध्यमले समचार सम्प्रेषण गर्न थाले । त्यसले मलाई झनै सशक्त र व्यस्त बनाइदियो ।

मैले गिनिज बुकमा नाम लेखाउन चाहनुको कारणचाहिँ मान्छेहरूमा आफूप्रति गौरव गर्नुपर्छ भन्ने भावना जागृत गर्न हो । मैले आफ्नो स्वरूप र रूपरंगलाई लिएर कोही–कसैले पनि निरास हुनुहुँदैन भन्ने सन्देश दिन खोजेको हुँ ।

हाल म भतिजसँग काठमाडौंमा बसिरहेको छु । उमेर कटिसकेका कारण अब विवाह गर्ने सोच ममा छैन । मान्छेका सोच उमेरअनुसार परिवर्तन हुने रहेछन् । कुनै समय मलाई पनि विवाह गर्न मन लाग्थ्यो । साथ दिने कोही होस् जीवनमा जस्तो लाग्थ्यो । तर, अब त्यो चाहना नै रहेन ।

मैले अध्यापन गराएका विद्यार्थी नै मेरा सबैभन्दा ठूला सम्पत्ति हुन् । डाक्टर, इन्जिनियर भएर आशिर्वाद लिनका लागि आउने विद्यार्थी देख्दा भावुक हुने गर्छु । पहुँचवाला निकायमा बसेर काम गरेको देख्दा र सुन्दा निकै खुसी लाग्छ । उनीहरूको श्रद्धा र सम्मान देख्दा आफ्नो जीवन निरर्थक नभएको मेरो ठहर छ ।

०६७ सालमा शिक्षण पेसामा योगदान पुर्‍याएबापत राष्ट्रपतिले जनसेवाश्री पदकबाट सम्मान गर्ने कार्यक्रम थियो । सम्मानित हुनेहरूको नामावली गोरखापत्रमा प्रकाशित पनि भएको थियो । तर, मैले त्यो पदक आजको मितिसम्म पाउन सकेको छैन । अरूले सम्मान पाउनुभयो कि भएन मलाई जानकारी छैन । मैले लामो समय शिक्षण पेसामा काम गरेर समय बिताएँ । तर, सरकारबाट कुनै पनि प्रकारका सहयोग नपाएकाले दुःख लाग्छ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठकबाट निर्णय नै गरेर उचित राहत दिने आश्वासन दिनुभएको छ ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया