Edukhabar
शुक्रबार, ०४ असोज २०८१
विचार / विमर्श

सिकाईको संयोग

शनिबार, १६ साउन २०७२

- इन्द्र नारायण चोङबाङ / ताप्लेजुङ साँघुमा जन्मे हुर्केका इन्द्र नारायण चोङबाङ मूलत कवि हुन् । उनको शहीदको रगत र मेरा सपना - २०५८, माटोका गीतहरु मुटुका गीतहरु - २०६९ र गीति संग्रह दुरी - २०७१ प्रकाशित छन् । हाल उनी मकाउमा छन् ।शिक्षा साहित्य अन्र्तगत यसपटक उनको कविता :


यो धर्तीमा
मेरी आमाले बा चिनाइन्
त्यो दिन देखि बिस्वास गर्न सिकें
माटो प्रति बिस्वास छ
आकाश प्रति बिस्वास छ
पानी प्रति बिस्वास छ
हावा प्रति विस्वास छ
....
यो धर्तीमा
मेरा गुरुहरुले अक्षर घोटाए
मैले लाखौ भाषा सिकें
चरीको लवाज
गधाको लवाज
हात्ती गैडाको लवाज
बाघ भालु सिंहको लवाज
लाखौ किरा फट्याङ्ग्राका लवाज !
...
यहि धर्तीमा
मेरा प्रेमीहरुले सिकाए
साथ
धोका
करार
आँसु पिएर हाँस्न सिकें
खुसी भएर रुन सिकें!
..
यो धर्तीमा
आफन्त साथी भाइले सिकाए
इर्ष्या
धोका
आडम्बर
महत्वाकांक्षा
प्रतिस्पर्दा
मैले लड्दै उठ्न सिकें
आस निरास हुन सिकें
मुटुको पीडा पन्साउन सिकें
काँध मिलाएर हिंड्न सिकें
कान सिलाएर हिंड्न सिकें
मन दुखाएर बोल्न सिकें
घाउ लुकाएर बोल्न सिकें !
...
यो धर्तीमा
आफ्नै छोराले पनि निधार घोटायो
मैले परिस्थिती चिन्न सिकें
अलिकति समय चिने
अलिकति जिन्दगी चिने
सबै मेरा अग्रज हुन्
सबै परिस्थिती मेरा गुरु हुन्
मैले सारा जिन्दगी चिनें
तर प्रिय जिन्दगी
किन म खाली खाली छु
किन म रित्तो रित्तो छु
अझै शून्य शून्य छु
डरलाग्दो शून्य
यहि शून्य योग समान म
भोलि घामको झुल्को संगै मेरो गुरु को होला ?

प्रतिक्रिया