Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

चुनाव लक्षित गरी लेखेका नारा अझै मेटिएन

मंगलबार, १० फागुन २०७३

काठमाडौं १० फागुन/विद्यार्थी संगठनहरूले स्ववियु चुनाव लक्षित गरी नारा लेखेका सार्वजनिक भित्ता अझै मेटिएका छैनन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा १८ फागुनमा स्ववियु चुनाव हुने घोषणा भएपछि प्रचारप्रसारका लागि विभिन्न विद्यार्थी संगठनले आचारसंहिताविपरीत सार्वजनिक भित्ता तथा पर्खाल रंगाएका थिए ।

त्रिविले जारी गरेको स्ववियु चुनाव आचारसंहितामा भित्तेलेखन गर्न नपाइने व्यवस्था छ । यदि लेखेको भए स्वयं मेट्नुपर्ने उल्लेख छ । निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने व्यवस्था गरिएको छ ।
आचारसंहिताविपरीत काठमाडौंका नेपाल ल क्याम्पस, आरआर क्याम्पस, थापाथली क्याम्पस, पदमकन्या क्याम्पस, त्रिचन्द्र क्याम्पसका भित्ता चुनावी नाराले पोतिएका छन् । यस्तै ललितपुरको इन्जिनियरिङ र पाटन क्याम्पसवरवरका सार्वजनिक भित्ता पनि उस्तै देख्न सकिन्छ । विद्यार्थी संगठनहरूले आफूले रंगाएका भित्ता स्वयं मेट्ने प्रतिबद्धतासमेत जनाएका थिए । तर, अझै उस्तै देख्न सकिन्छ ।
विद्यार्थी संगठनहरूले काठमाडौं महानगरपालिकाको विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति २०७० अनुसार महानगर क्षेत्रमा अनुमति नलिई कुनै पनि विज्ञापनयुक्त, प्रचारात्मक, सूचना वा सन्देशमूलक बोर्ड, परिचय पाटी तथा सामग्री राख्न नपाइने व्यवस्थाको उल्लंघन गरेका छन् । यस्ता विद्यार्थी संगठनलाई महामनगरपालिकाले कारबाही गर्न सकेको छैन ।
त्रिविका डिन कृष्ण गौतमले ‘विद्यार्थी संगठनहरूले नियम मिचेरे भित्तामा लेखेको उल्लेख गर्दै बारम्बार मेटाउन निर्देशन दिएको दाबी गरे । ‘विद्यार्थीले अटेर गरेकाले क्याम्पस प्रशासनलाई पनि हटाउन निर्देशन दिएका छौं,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेद्र कार्कीले भने, ‘नियम मिचेर भित्ता कोर्ने र फोहोर गर्नेलाई निर्देशिका २०७० बमोजिम कारबाही हुन्छ ।’

कान्तिपुरमा प्रकाशित खबर।

प्रतिक्रिया