स्याङ्जा - जनकल्याण मावि चिसापानीले स्वर्ण महोत्सव मनाईरहँदा प्रधानाध्यापक लेखनाथ सिग्देललाई भने अर्कै चिन्ताले पोलिरहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका शिक्षा मन्त्री धनिराम पौडेल र जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यलाई उनले आफ्नो चिन्ता सुनाए । चिन्ता थियो पार्यप्त दरबन्दीको अभाव ।
विद्यालयमा मावि दरबन्दी नहुँदा पठन पाठनमा समस्या भइरहेको छ उनले बोल्ने पालोमा भने आवश्यक दरबन्दीको व्यवस्था गरिदिन शिक्षा मन्त्री र जिल्ला शिक्षा अधिकारीलाई आग्रह गर्छु । पढाईको गुणस्तर बृद्धिको लागि विद्यालयमा वाल कक्षादेखि कक्षा पाँच सम्म अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गरिएको भएपनि दरबन्दी अभावले समस्या भएको उनको गुनासो थियो ।
कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए । त्यसका लागि शिक्षा मन्त्रालयले चरणवद्ध रुपमा काम गरिरहेको मन्त्री पौडेलको भनाई थियो । उनले संविधानले शिक्षालाई नागरिकको मौलिक अधिकारको रुपमा स्वीकार गरिसकेको अबस्थामा सबै बालबालिकाहरुलाई सहज ढंगले निःशुल्क शिक्षा प्रदान गर्नु राज्यको दायित्व भएको बताए ।
कार्यक्रममा शिक्षा मन्त्री पौडेलले विद्यालयको स्वर्ण स्तम्भको अनावरण गरे ।
जिशिअ आचार्यले जिल्लाको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा कार्यालयले ३९ बुँदे कार्ययोजना निर्माण गरेको जानकारी दिए । उनले शिक्षा कार्यालयले निर्माण गरेको कार्ययोजना अनुसार आ आफ्नो विद्यालयको पठन पाठन सुधारमा लाग्न शिक्षक विद्यार्थीलाई आग्रह समेत गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य शैलेन्द्र घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्मा लगायतले विद्यालयलाई शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र स्याङ्जाका नेता पर्शुराम भण्डारीले आफ्नी स्वर्गीय आमा हरिकला भण्डारीको स्मृतिमा विद्यालयलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरे । उक्त रकमबाट विद्यालयमा छात्रबृत्ति कोष निर्माण गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा लोक गितका राष्ट्रिय कलाकार विलन थापा सहित स्थानीय विद्यार्थीले लोक संस्कृति झल्कने विभिन्न झाँकीका साथै गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया