Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

शिक्षकको नयाँ संगठन, दलनिकट शिक्षकलाई आवद्ध नगराउने

आइतबार, ०८ फागुन २०७३

काठमाडौं– शिक्षक राजनीतिमा लागेकै कारण सामुदायिक विद्यालयको गुणस्तर खस्केको आरोपलाई स्वीकार्दै शिक्षकको एक समूह स्वतन्त्र शिक्षक मञ्च बनाउने तयारीमा लागेका छन् । उनीहरुले राजनीतिक दलको भ्रातृ संगठनजस्तै भएका विभिन्न पार्टी निकटका शिक्षक संघ–संगठन तथा नेपाल शिक्षक महासंघले पनि शिक्षकको हक हितको लागि केही गर्न नसक्ने निष्कर्ष समेत निकालेका छन् । सोही निष्कर्षको विकल्पमा अहिले केही शिक्षक भने स्वतन्त्र शिक्षक मञ्च नेपालको तयारीमा जुटेका छन् ।  

‘सामुदायिक विद्यालय बिग्रिनुमा मुख्य दोषी शिक्षकलाई ठानिएको छ, शिक्षक राजनीतिमा लाग्दा शिक्षक बिग्रिए भने, बिग्रिएका शिक्षककै कारण शिक्षण संस्था पनि बिग्रियो भनेर सबैले भनिरहँदा पनि दलनिकटका शिक्षक संघसंगठनले राजनीति छोडेनन्’ महोत्तरीका शिक्षक एवं मञ्च गठनमा सक्रियता देखाइरहेका शिक्षक दीपकचन्द्र ओझाले भने, ‘सोही कारण राजनीति नगर्ने शिक्षकको मञ्च आवश्यकता देखिएकोले यसको तयारी भइरहेको छ ।’

शिक्षक ओझाले शिक्षकका संघसंगठन राजनीतिक दलका भ्रातृ संगठनजस्तै भएपछि शिक्षक पनि अप्रत्यक्ष रुपले राजनीतिक दलका सदस्यहरु हुन पुग्दा शिक्षकका समस्या अझ बढेको र शिक्षकप्रति अझ आलोचना भइरहेको बताउँदै शिक्षकका वास्तविक पेशागत हितका विषय ओझेलमा परको जनाए । ‘विद्यालय बिग्रनुका दोष हामीलाई छ, यति हुँदा पनि शिक्षकभित्र राजनीति किन घुसाइयो, किन शिक्षकलाई राजनीतिक दलको सदस्य बनाइयो ?’ दलनिकट शिक्षकका पेशागत संघसंगठनलाई प्रश्न गर्दै उनले शिक्षकलाई दलका कार्यकर्ता बनाउन नहुने बताए ।

उनले शिक्षा ऐनको आठौं संसोधनले पनि शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था गर्दा पनि त्यसको कार्यान्वयन हुन नसकेको सन्दर्भमा आफूलगायत विभिन्न जिल्लाका १५ जना शिक्षकहरु विशुद्ध शिक्षकको साझा मञ्च गठनमा लागेको जनाए । ‘अहिलेको अवस्थामा कोही पनि राजनीतिक रुपमा स्वतन्त्र हुँदैन, तैपनि हामी शिक्षक कुनै राजनीतिक दलसँग संलग्न हुनु हुँदैन भन्ने अभिप्रायले यो अवधारणालाई अघि बढाएका हौं ।’ उनले भने ।

शिक्षक ओझाका अनुसार फागुन महिनाभित्र सो मञ्चको तदर्थ समिति गठन गर्ने तयारी भइरहेको छ भने मञ्च गठनका लािग हालसम्म करिब तीनसय शिक्षकले आवद्धता जनाउने प्रतिवद्धता व्यक्त गरिसकेका उनको दावि छ । उनले अहिले तदर्थ समिति र विधान निर्माण गर्ने काम समेत अघि बढाइरहेको बताउँदै भने, ‘तदर्थ समिति गठन गरेपछि मञ्च दर्ता गर्ने प्रक्रिया अघि बढ्छ । त्यसपछि संगठनलाई विस्तार गर्छौं ।’

मञ्च गठनका लागि महोत्तरी, म्याग्दी, स्याङ्जा, डढेलधृुरा, ललितपुर, चितवन, झापा,  डोल्पा, काठमाडौं लगायत ३० जिल्लाका शिक्षक सक्रियतापूर्वक लागिरहेका उनको दावी छ । उनले मञ्च दलनिकटका संघ र संगठनभन्दा निक्कै फरक हुने दाबी गरे । राजनीतिक दलनिकट शिक्षकलाई मञ्चमा आवद्ध नगराउने, पेशागत रुपमा बढी जिम्मेवार बनाएर सामुदायिक विद्यालयको पढाइ सुधार गर्न सहयोग पु¥याउने उनले बताए ।

यसमा कुनै राजनीतिक मुद्धा हुँदैन, राजनीतिक भागबण्डालाई समर्थन गर्दैनौं । शिक्षामा भइरहेको राजनीतिकरणको विरोध गर्दै शिक्षकका विशुद्ध हितका लागि हामी लड्छौं ।’ उनले एजेण्डा सुनाए । त्यस निम्ति उनले समय र कक्षाकोठालाई व्यवस्थापन गरेर मञ्चका गतिविधि अघि बढाउने पनि बताए ।

प्रतिक्रिया