Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

पढाइ सुधार्न शिक्षकसँग स्पष्टीकरण

शुक्रबार, ०६ फागुन २०७३

ललितपुर– लुभुस्थित महालक्ष्मी माविको कक्षा १० का एक विद्यार्थीले आफूलाई पढाएको विषयका पाठहरु बुझ्दै बुझेनन् । शिक्षकले पढाएको विषयमा आफूले नबुझेपछि उनले शिक्षकले दिएको कक्षाकार्य मात्र होइन, गृहकार्य पनि सही तरिकाले गर्न सकेन । पाठै नबुझेपछि ‘के गरुँ र कसो गरुँ ?’ को अवस्थामा रहेका उनले अन्य केही साथीहरुसँग पनि सल्लाह गरे ।

‘मैले त सरले पढाएको बुझ्दै बुझिँन, तिमीले बुझ्यौ ?’ भनेर सोध्दा कक्षामा धेरै साथीहरु आफूजस्तै रहेको पाए । त्यसपछि उनीहरुले सो समस्या सामुहिक रुपम प्रधानाध्यापक सामु पोखे ।

प्रअले उक्त समस्याबारे आफूले बुझ्ने आश्वासन दिएर विद्यार्थीलाई त फर्काए, तर कसरी समाधान गर्ने ? भन्ने प्रश्नले भने सताउन थाल्यो । ‘स्टाफ मिटिङमा राखौं सबैको सामु त्यो शिक्षकको इन्सल्ट गरेको जस्तो हुन्छ, नभनौं, विद्यार्थी मर्कामा छन् । के गरौं, के गरांैं भइरहको बेला शिक्षकलाई छुट्टै बोलाएर कुरा गर्नुपर्ला भन्ने सोचेँ ।’ प्रअ निलप्रसाद दुलालले भने ।

त्यसरी नै छुट्टाछुट्टै बोलाएर शिक्षकसँग गरिएको कुराकानी कालान्तरमा भने प्रअबाट शिक्षकका लागि गरिएको परामर्शमा फेरिएको छ । सोही कारण कुनै शिक्षकको बारेमा अभिभावक, विद्यार्थी वा सहकर्मीबाट प्रअसम्म गुनासो पुग्यो शिक्षक प्रअ कक्षमा उपस्थित हुनुपर्छ र प्रअलाई स्पष्टीकरण दिनुपर्छ ।

‘विद्यालय सुधार्नका लागि पहिला शिक्षकलाई नै सुधार्नुपर्छ, शिक्षाको मुख्य मियो भनेकै शिक्षक भएकोले शिक्षक नसुधारी हुन्न ।’ शिक्षकका कमी कमजोरी क्रमशः कम गर्नका लािग उक्त अवधारणाअनुसार काम गरिरहेको प्रअ दुलालले जानकारी दिए ।

उनले विद्यालय र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न तथा शिक्षकका कमीकमजोरी केलाउन सहज होस् भनेर शिक्षकसँग परामर्श कार्य अघि बढाइरहेको जानकारी दिए । ‘शिक्षकले आफ्नो जिम्मेवारी पूरा गरे–नगरेको भन्ने जानकारी पनि सिकाइ उपलब्धिबाटै थाहा हुन्छ । कहिले विभिन्न व्यक्तिहरुबाट पढाइ, पठनपाठनका बारेमा आएको गुनासो त कहिले सिकाइ उपलब्धिका बारेमा सोधपुछ गर्न एक्लै डाकेर स्पष्टीकरण लिने काम गरिरहेको छु ।’ उनले भने ।

प्रअ दुलालले शिक्षकले गरेका दैनिक क्रियाकलापको अनुगमन, निरीक्षण गर्ने र सो क्रममा शिक्षकले आफ्नो पेशागत मर्म अनुसार काम नगरेको पाइएमा सो शिक्षकलाई व्यक्तिगत रुपमा बोलाउने र कमजोरी र गल्ती औंल्याइदिने गरेका छन् । ‘तपाइँले यो–यो कुरामा यसरी सुधार्नुपर्छ भनेर सुझाव दिने गरेको छु । सबैको अगाडि भन्दा ‘इन्सल्ट’ गरेको जस्तो हुन्छ, मलाई हेडसरले बेइज्जत गर्यो भने हुन्छ, यसैले व्यक्तिगत रुपमा बोलाएर सुझाव दिने गरेको छु ।’ प्रअ दुलालको भनाइ छ ।

उनले शिक्षकलाई व्यक्तिगत रुपमा काउन्सिलिङ गर्नका लागि गल्ती गरेको गुनासो आएको खण्डमा पहिला कक्षा अवलोकन गर्ने, शिक्षकले कसरी प्रभावकारी शिक्षण गर्न सक्छ भन्ने बारेमा सुझाव दिने, फेरि कक्षा अवलोकन गर्ने, सुध्रिएन भने फेरि व्यक्तिगत रुपमा बोलाउने र आफूले जुन बेलामा कक्षा अलोकन गरिन्छ, त्यो बेलामा छुट्टै राखेर यसो गर्यो भने राम्रो होला कि भनेर सुझाव दिने गरेको जनाए । उनले शिक्षकलाई निर्देशन दिएर भन्दा पनि शिक्षकको मनसाय बुझेर, समस्या बुझेर काम गर्दा स्कुलको लागि फाइदा हुने अनुभवले बताएको जनाउँदै भने, ‘यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्दा शिक्षकले मान्दैनन्, यसो गर्नुपर्ला कि भनेर सुझाव दिए बरु मान्छन्, यसैले सोही अनुसार शिक्षकलाई परिचालन गर्नुपर्छ ।’ उनले आफ्नो तरिका सुनाए ।

कुन शिक्षक कस्ता छन् भन्ने सन्दर्भमा प्रअले भन्दा बढी विद्यार्थीले ज्ञान राख्छन् यही भएर उनले विषय शिक्षकले पढाएका विषय, कक्षामा गरेका क्रियाकलापका विषयमा कुनै सल्लाह, सुझाव र गुनासो बटुल्न कक्षाकक्षाका विद्यार्थीसँग पनि सोधपुछ गर्ने गरिरहेको बताए । ‘विद्यार्थीले दिएको जानकारीकै आधारमा शिक्षकसँग कुराकानी गर्ने र आवश्यक परेको खण्डमा शिक्षकलाई परामर्श दिने काम भइरहेको छ ।’ उनले फेरि भने ।

लुभुको सो विद्यालयमा आर्थिक रुपले निम्न र मध्यम वर्ग तथा मजदुरका  बालबालिकाहरु पठनपाठन गर्छन् । अभिभावकहरु विद्यालयमा खासै आउँदैनन् । त्यसैल पनि शिक्षकसँग व्यक्तिगत रुपमा भेटेर छलफल गर्ने गरिएको दुलालले बताए ।

हाल सो विद्यालयको प्लस टुमा ९१, कक्षा १ देखि १० सम्म तीनसय ९३ जना विद्यार्थी भने कक्षा आठसम्म अंग्रेजी माध्यम र ९ र १० मा नेपाली माध्यमबाट पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया