Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
गतिविधि

‘बोली खानेभन्दा गरी खाने शिक्षा’ को आवश्यकतामा जोड

विहीबार, ०५ फागुन २०७३

भक्तपुर - प्राविधिक शिक्षा गुणस्तरीय र उत्पादनमुखी हुनुपर्नेमा सम्बन्धित क्षेत्रका बिज्ञहरुले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यासायीक तालिम परिषद् (सीटीईभीटीले) आयोजना गरेको परीक्षा अभिमुखिकरण तथा समीक्षा गोष्ठीमा बिज्ञहरुले प्राविधिक शिक्षालाई ‘बोली खानेभन्दा गरी खाने शिक्षा’ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सीटीईभीटीका उपाध्यक्ष डा.कूलबहादुर बस्नेतले प्राविधिक शिक्षाले बिकट कर्णाली जिल्लाको मुहार फेर्न थालेको भन्दै यसले मुलुकको विकासलाई नै ठूलो टेवा पु¥याएको दाबी गरे । ‘प्राविधिक शिक्षाले काम गर्नका लागि व्यक्तिलाई तयार पारेको छ, यसैले यो शिक्षा शिक्षा गुणस्तरीय र उत्पादनमुखी हुनुपर्छ । ’ उनले भने  । स्रोत साधन न्यून भएपनि प्राविधिक शिक्षाको विकासमा एउटै चिन्तन भएका सबै एकै ठाउँमा बसेर भावी कार्य दिशा निर्धारण गर्नुपर्ने उनको भनाइ थियो ।

सोही अवसरमा सीटीईभीटीका सदस्य सचिव रमेश बखतीले गुणस्तर बृद्धि, पूर्वाधार विकास, समयानुकूल पाठ्यक्रम परिमार्जन गर्न परिषद लागिरहेको जानकारी दिए । उनले प्राविधिक शिक्षामा सरकारको लगानी अपुग रहेकोले लगानी वृद्धिको माग गर्दै प्राविधिक शिक्षाको महत्व बुझ्न थालेको जनाए भने सीटीईभीटीका निर्देशकहरु महेश भट्टराई, पुष्पा वाग्ले, दिपक पौडेल, टेकबहादुर मल्ललगायतले पछिल्लो समय गरिएका विभिन्न तथ्यांकले पनि गरिखाने शिक्षाप्रति युवा पुस्ता आकर्षण बढ्दै गएको जनाए । उनीहरुले सिटीइभिटीले सीपयुक्त नेपाल, सम्बृद्ध जनता भन्ने नारा अघि सारेर देशभर काम गरिरहेको बताएका थिए ।

वैदेशिक रोजगारका लागि  बजार प्रवेश पाउन पनि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम एक सहज माध्यम बनेको बताउँदै सो कार्यक्रममा सहभागी अन्य ्वक्ताहरुले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्राप्त व्यक्तिहरुलाई साधरण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलव, रोजगार एवं स्वरोजगार भई आयस्तरमा वृद्धि एवं सहज जीवन यापन गर्न सहयोग पुगेको जनाएका थिए ।

टीआईटीआईका प्रशासन प्रमुख तथा कार्यक्रम संयोजक प्रमोद आचार्यले प्राविधिक शिक्षा तथा व्यासायिक तालिम परिषद् (सीटीईभीटीले) ले ७३ जिल्लाका ७६ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गरिरहेको जानकारी दिए । प्राबिधिक शिक्षा कार्यक्रम संचालनमा रहेका सामुदायिक बिद्यालयले स्थानीय आवश्यकता अनुसार थप स्वीकृति लिई २२ वटा कार्यक्रम संचालन गरेकोे आचार्यको भनाइ छ ।

यसैगरी निजी रुपमा सामुदायिक विद्यालयले पनि विभिन्न जिल्लाका ६२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा संचालन गरिरहेको छ ।

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत एघारौं परीक्षा अभिमुखिकरण तथा समीक्षा गोष्ठीमा देशभरका ५३ जिल्लाका बिद्यालयमा कार्यरत प्राचार्य र प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया