Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

कहिले सुध्रिएलान् विद्यालय ?

विहीबार, ०५ फागुन २०७३

काठमाडौं ५ फागुन/विद्यार्थीको अनुपातमा शिक्षक बढी भएका राजधानीका विद्यालय र शिक्षक व्यवस्थापन गर्न शिक्षा कार्यालयले छलफल अघि बढाएको छ । कार्यालयले न्यून विद्यार्थी रहेको काठमाडौं ठहिटी स्रोत केन्द्रअन्तर्गतको १३ विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापकलाई बोलाएर मंगलबार छलफल गरेको हो ।

यसअघि शान्ति निकुञ्ज मावि भगवतीबारी स्रोत केन्द्रका व्यवस्थापन समिति र प्रधानाध्यापकहरूसँग छलफल गरिसकेको छ । यी दुई स्रोत केन्द्रका २८ विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक बढी छन् । व्यवस्थापन समितिले यस्ता विद्यालयलाई टोलको प्रतिष्ठाका रूपमा लिने गरेको छ । विद्यार्थी न्यून हुँदा चासो नदिने व्यवस्थापन समितिले शिक्षा कार्यालयले विद्यालय अन्यत्र गाभ्न खोज्दा विरोध गर्छन् । राज्यको खर्च कम गर्न यस्ता विद्यालय गाभेर ठूला र नमुना बनाउन सकिन्छ । नियमावलीमा न्यून विद्यार्थी भएका विद्यालय अर्कोमा गाभ्न सकिने व्यवस्था भए पनि शिक्षा कार्यालयले व्यवस्थापन समितिका अध्यक्षहरूलाई एकै ठाउँ बोलाएर शैक्षिक स्तर उकास्न के गर्ने ? भन्ने छलफल थालेको हो । विद्यालय गाभ्नु परे त्यस्ता विद्यालयमा के गर्ने ? भन्ने समिति अध्यक्ष र प्रधानाध्यापकसँग राय लिएको थियो ।
‘भवन छ, शिक्षक छन् तर, विद्यार्थी छैनन् ? यस्ता विद्यालय कसरी व्यवस्थापन गर्ने भनेर छलफल सुरु गरेका छांै,’ जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले भने, ‘विद्यार्थीको अनुपातमा शिक्षक बढी छन् । यसलाई कसरी व्यवस्थापन गर्ने विद्यालयका संरक्षकहरूसँगै बसेर निष्कर्ष निकाल्न खोजेका हौं ।’ स्रोत व्यक्ति रुद्र कार्कीका अनुसार ठहिटी केन्द्रका सबैजसो विद्यालयमा अनुपातमा शिक्षकको संख्या बढी छ । स्रोत केन्द्र रहेको शान्ति शिक्षा मन्दिर मावि ठहिटीमा १ सय ५१ विद्यार्थी छन् भने २७ शिक्षक छन् । यसमा प्राविमा ५५ विद्यार्थी र ११ शिक्षक छन् । यसले एक प्राथमिक शिक्षकको अनुपातमा ५ विद्यार्थी छन् । कक्षा ६ र ७ मा ६१ विद्यार्थीका लागि ८ शिक्षक छन्् । त्यस्तै माध्यमिक तहमा ३५ विद्यार्थीका लागि ८ शिक्षक छन् । ‘एक शिक्षकको भागमा ६ विद्यार्थी पर्छ,’ प्रधानाध्यापक महेन्द्रचन्द्र शाक्यले भने । न्हयौखाकै कन्या मन्दिर माविमा पनि एक शिक्षकबराबर ८ विद्यार्थी मात्रै पर्छ । २ सय ३२ विद्यार्थी पढाउन २७ शिक्षक छन्् । प्राविमा ८८ विद्यार्थीका लागि ८ शिक्षक छन् । माध्यमिक तहमा ६३ विद्यार्थी पढाउन १२ शिक्षक छन् । त्यस्तै प्रभात माविमा १ सय ४५ विद्यार्थी पढाउन ३० शिक्षक छन् । यसअनुसार एक शिक्षकबराबर ४ विद्यार्थी पर्छन् । कक्षा १ देखि ५ सम्मको ५१ विद्यार्थी पढाउन १३ शिक्षक छन् । यी विद्यालयमध्ये सबैभन्दा नाजुक अवस्था भक्त माविको छ । ७६ विद्यार्थी पढाउन २७ शिक्षकलाई जिशिकाले तलब भत्ता पठाइरहेको छ । यो विद्यालयमा १ शिक्षकबराबर ३ विद्यार्थी पनि पर्दैन । केन्द्रका अनुसार यो विद्यालयको सिकाइ उपलब्धि सरदर ६० मात्रै छ । कक्षा १ को सिकाइ उपलब्धि ४० मात्रै छ । शान्ति निकुञ्जको परिसरभित्रै रहेको अरुणोदय आधारभूत विद्यालयमा ६५ विद्यार्थी पढाउन १३ शिक्षक कार्यरत छन् ।
व्यवस्थापन समिति अध्यक्षहरूले न्यून विद्यार्थी हुनुमा शिक्षाको ‘सिस्टम’ दोष दिन्छन् । पर्याप्त पूर्वाधार नहुँदा विद्यार्थी आउन नचाहेको उनीहरूको ठम्याइ छ । लोकहित आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वम्भरलाल प्रधानले शिक्षककै कारणले विद्यार्थी बढाउन नसकिएको बताए ।  अरुणोदय आधारभूतका अध्यक्ष माधव मिश्रले विद्यालयले नै करारमा शिक्षक राख्ने व्यवस्था नगरेसम्म सुधार हुन नसक्ने बताए । पार्टीको झन्डा बोक्ने शिक्षकले व्यवस्थापन समितिलाई नटेर्ने भन्दै सामुदायिक विद्यालय सुधार गर्न करारमा राख्ने व्यवस्था गर्नुपर्ने उनले बताए । विद्यार्थी न्यून भए पनि स्थानीयले दु:ख गरी विद्यालय स्थापना गरेको भन्दै अन्यत्र नगाभ्न उनले आग्रह गरे ।

मकर श्रेष्ठले कान्तिपपुरमा लेखेको खबर ।

प्रतिक्रिया