काठमाडौं - स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को चुनाव नजिकिदैं गर्दा विभिन्न विद्यार्थी संगठनका नेताहरु आआफ्नो पक्षमा माहौल निर्माण गर्न कृयाशिल भएका छन् । चुनाव केन्द्रित हुँदै आयोजित विभिन्न कार्यक्रमलाई उनीहरुले चर्का भाषण गर्ने थलो बनाउँदै आएका छन् ।
केन्द्रिय क्याम्पस किर्तिपुरका विद्यार्थी संगठनका नेताहरूले बुधबार बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै तोकिएको समयमा स्ववियू निर्वाचन नभए उप–कुलपतिको गाडी जलाउने सम्मको चेतावनी दिन भ्याए । नेपाल विद्यार्थी संघ किर्तिपुरका नेता योगेन्द्र रावलले त्रिभूवन विश्वविद्यालयले विद्यार्थीको हित विपरित काम गरिरहेको आरोप लगाए ।
‘त्रिभूवन विश्वविद्यालय गौचरनमा परिणत हुँदैछ, विद्यार्थीको हितको लागि त्रिवि सम्वेदनशील छैन', उनले भने, 'चुनावलाई भाँड्न केही विद्यार्थी संगठनका साथीहरूले काम गरिरहनु भएको छ, यस कार्यको नेविसंघ भत्र्सना गर्दछ ।’
त्यस्तै अखिल क्रान्तिकारी किर्तिपुरका सभापतिका उम्मेद्धार तिलक प्रसाद उपाध्यायले स्ववियू निर्वाचनमा पराजय हुने डरले अन्य विद्यार्थी संगठनहरू निवार्चनलाई असफल पार्नमा उद्त रहेको आरोप लगाए ।
‘क्रान्तिकारीसँग डराएर निर्वाचन भाड्ने काम भईरहेको छ, हामी मैदानमा छौँ, तोकिएको मितिमा चुनाव हुनैपर्छ, संगठनहरूको नामावली टाँस्नको लागि त्रिवि डराईरहेको छ, प्रशासनले सुरक्षा दिन सक्दैन भने अखिल क्रान्तिकारी सुरक्षा दिन तयार छ' उनले भने 'क्यापस प्रमुख ज्यूहरू तयार बन्नुस्, चुनाव सार्ने कुरा धेरै परको कुरा हो, एक घण्टा अबेर भएको देख्न नपरोस्, यदि यस्तो भएको खण्डमा उत्पन्न परिस्थितिको जिम्मा त्रिविले लिनुपर्नेछ ।’
अनेरास्ववियूका नेता मंगल थापाले विगत आठ वर्षदेखि अबरुद्ध स्ववियू निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । ‘तोकिएको समयमै निर्वाचन हुन्छ, हाम्रो केन्द्रिय संगठनले सबै क्यापसमा आफ्नो घोषणा पत्र सार्वजनिक गरिसकेको छ, हामी निर्वाचनमा भाग लिन तयार छौँ' उनले भने, 'यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसिको गाडी जलाउछौँ ।’
प्रतिक्रिया