Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

पढाइ खर्च जुटाउन गीत गाउँँदै दृष्टिविहीन

मंगलबार, ०३ फागुन २०७३

काठमाडौं ३ फागुन/कैलालीकी खेमा सापकोटाको ५ वर्षको उमेरमा आँखाको ज्योति गुम्यो । उनी दुवै आँखा देख्न सक्दिनन् र अर्काको सहारामा हिँडडुुुुुुुुल गर्नुपर्छ । घरको आर्थिक अवस्था पनि निकै कमजोर छ । एक बहिनी र भाइ अध्ययन गर्छन् । उनकी आमाले पनि रातदिन अर्काकोमा मजदुरी गरेर घरखर्च र छोराछोरीको पढाइ खर्च धानिरहेकी छन् ।

खेमाले पनि स्नातक तहसम्मको पढाइ पूरा गरेकी छन् । उनले काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट स्नातक तह उत्र्तीण गरेकी हुन् । उनले एसएलसीसम्म दृष्टिविहीनलाई पढाइने ब्रेललिपीको माध्यमबाट पढाइ गरिन् । प्लस टु र स्नातक भने अर्कालाई परीक्षा दिन लगाएर पढिन् ।
स्नातकोत्तर तह पढ्न आर्थिक अभाव भएपछि उनले आफूसँग भएको गीत गाउने प्रतिभालाई माध्यम बनाएकी छन् । उनले आफ्नो पढाइ खर्च जुटाउन विभिन्न स्थानमा गीत गाउन थालेकी हुन् ।

‘पढ्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अवस्थाले समस्या ल्याउन थाल्यो’, महेन्द्रनगर बजारमा भेटिएकी उनले भनिन्, ‘पढ्नका लागि गीत गाएर पैसा संकलन गर्न थालेकी हुँ ।’ उनले प्लस टु र स्नातक तहको पढाइ खर्च पनि यसैगरी गीत गाएर जुटाएको सुनाइनन् । गीत गाउने खेमा एक्लै होइनन् उनीसँग अरू दुईजना साथी पनि छन् । उनीहरू तीनैजना मिलेर पढाइ खर्च जुटाउन यतिखेर महेन्द्रनगर पुगेका छन् ।

महेन्द्रनगर बजारका विभिन्न चोकमा उनीहरूले गीत प्रस्तुत गर्ने गरेका छन् । ‘ केहीले त पैसा कमाउने माध्यम रोजे भन्छन्, कसैले भने पढाइ खर्च जुटाउन गरेको मेहनत देखेर धन्यवाद दिन्छन्’, खेमाले भनिन्,‘ विभिन्न स्थानमा गीत गाएर पढाइका लागि चाहिने खर्च जुट्यो भने फर्किन्छौं ।’
उनले अध्यापनका लागि निमाविस्तरको अध्यापन अनुमतिपत्रसमेत लिइसकेकी छन् । ‘पढाइ खर्च जुट्यो भने शिक्षक सेवा आयोगको तयारी गर्ने सोचमा छु’, उनले भनिन्, ‘अहिले बाध्यता भएर मात्रै गीत गाएर पढाइ खर्च जुटाउन थालेकी हुँ ।’ खेमा मात्रै होइन उनको समूहमा रहेका अन्य दुईजनाले पनि पढाइ खर्च जुटाउनकै लागि गीत गाउँदै हिँड्न थालेका हुन् ।

सुनसरी घर भई काठमाडाैंमा प्लस टु पढिरहेका प्रज्ज्वल कुमाल पनि आफ्नो पढाइ खर्चकै लागि गीत गाउँदै हिँडिरहेका हुन् । उनी पनि पशुपति बहुमुखी क्याम्पसमा अध्ययन गर्छन् । उनको आँखा नदेख्ने समस्या जन्मजात नै हो । २ दिदीलाई कुनै समस्या नभए पनि उनको भने जन्मजात नै आँखा नदेख्ने समस्या भयो ।

उनको पनि घरको अवस्था निकै कमजोर । ‘घरको आर्थिक अवस्था कमजोर भएकैले पढ्ने इच्छा पूरा गर्न गीत गाउन थालेको हुँ’, उनले भने, ‘पढाइ खर्च जुट्यो भने पढ्न सुरु गर्छु ।’ उनले डेढ वर्षदेखि गाउन थालेको सुनाए । उनीहरूको समूह कास्की, म्याग्दी, बागलुङ, नारायणगढ र कैलाली हुँदै कञ्चनपुरसम्म आइपुगेको हो । खेमा र प्रज्ज्वल मात्रै होइन उनीहरूसँगै रहेका दाङका सुदीप ओली पनि प्लस टुमा पढ्छन् ।

तीनैजनाको सहारा बनेका छन् लमजुङका समीर परियार । उनी दृष्टिविहीन नभए पनि उनी तीनैजना दृष्टिविहीनको सहारा बनेका छन् । गीत गाउन सिपालु उनले दृष्टिविहीनको पढाइ खर्च जुटाउने अभियान र उनीहरूको यात्रामा सहयोग गरिरहेका छन् ।
बीपी अनमोलले अन्नपूर्ण पोष्टमा लखेको खबर ।

प्रतिक्रिया