तनहुँ - आँबुखैरेनीका स्थानीयबासिन्दाले बालनको भजन माध्यमबाट आफ्नो ठाउँको शैक्षिक विकासको मार्गचित्र प्रस्तुत गरेका छन् । आँबुखैरेनी –२, सत्रसय स्थित मित्रता माविको ४६ औं बार्षिकोत्सव तथा अभिभावक मिलन समारोहमा उनीहरुले शिक्षा मन्त्री धनिराम पौडेल समक्ष आफ्नो क्षेत्रको शैक्षिक विकासको मार्गचित्र मात्र प्रस्तुत गरेनन्, मुलुकमा विद्यमान राजनीतिक विकृतिप्रति तिखो व्यङ्ग्य समेत प्रस्तुत गरे ।
‘नेता धेरै पाइया छ, तर हामीलाई देश विकास गर्ने नेता चाहियाछ’ भन्दै उनीहरुलले भाषण कम र काम धेरै गर्न नेताहरुलाई आग्रह गरे । भजनको माध्यमबाट उनीहरुले नेपालको राजनीतिमा विकृति वढेको र त्यसको अन्त्य गर्न राजनीतिक दलहरु समक्ष माग गरेका छन् ।
स्थानीय अकला सांस्कृतिक विकास मञ्चका कलाकारहरुले बालन सहित नेपाली मौलिक गित तथा नृत्यको माध्यमबाट आफ्नो क्षेत्रको शैक्षिक, भौतिक, साँस्कृतिक र कृषि क्षेत्रको विकासको लागि मन्त्री पौडेलको ध्यानाकर्षण गराएका हुन् ।
मन्त्री पौडेलले सार्वजनिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्धिको लागि शिक्षक दरबन्दीको अभाव रहेको बताउँदै क्रमशः पुर्ती गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । मुलुकमा ६३ हजार शिक्षक दरबन्दीको अभाव रहेको भन्दै उनले सार्वजनिक विद्यालयमा पढाईको गुणस्तर बृद्धिको लागि प्रधानाध्यापक, शिक्षक र अभिभावक जिम्मेवार बन्नु पर्ने बताए ।
मुलुकको तिव्रतर आर्थिक विकासको लागि शिक्षालाई विज्ञान, श्रम, उत्पादन, रोजगार र प्रविधिसँग जोड्नु पर्नेमा जोड दिंदै उनले त्यसप्रति राज्य गंभिर रहेको बताए । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यले सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेको बताउँदै उनले संशोधित ऐनलाई कार्यान्वयन गर्न शिक्षा नियमावली बनाउने क्रम अन्तिम चरणमा पुगेको र अबको केही दिन पछि नै शिक्षा नियमावली जारी गरिने बताए ।
कार्यक्रममा तनहुँका जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले शिक्षक दरबन्दीको अभावले जिल्लाको शैक्षिक गुणस्तर बृद्धिमा समस्या देखिएको बताए । जिल्लामा आवश्यक शिक्षक दरबन्दीको व्यवस्था गरिदिन शिक्षा मन्त्री पौडेलसमक्ष उनले माग समेत गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिष्मकान्त गौलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक ध्रुवराज अधिकारीले विद्यालयको प्रगति विवरण प्रस्तुत गरे । कार्यक्रममा प्रधानाध्यापक अधिकारीले विद्यालयमा पढाईको गुणस्तरसँगै विद्यार्थी भर्ना दर वढाउने, छात्रावासको व्यवस्था गर्ने, विद्यालयमा कृषि तथा पशु विज्ञानमा स्नातक तहको क्याम्पस सञ्चालनको लागि पहल अघि वढाउने लगायतका प्रतिवद्धता मन्त्री पौडेल समक्ष प्रस्तुत गरेका थिए । उनले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेपछि पढाईको गुणस्तरसँगै विद्यार्थी संख्यामा समेत बृद्धि भएको जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीले पिटि प्रदर्शन गर्नुका साथै देश भक्तिपूर्ण गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विनोदबाबु मल्लले आफ्नी अपाङ्ग छोरी लुना मल्लको नाममा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति प्रदान गर्न बर्षेनी २५ हजार रुपैयाँ विद्यालयलाई प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा विद्यालयका संस्थापक प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जग्गादाता, चन्दादातासँगै विद्यालयलाई विभिन्न ढंगले सहयोग पु¥याउने स्थानीयबासीलाई प्रमाण पत्रसँगै दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेता, संघ संस्थाका प्रतिनिधी लगायतले बोलेका थिए ।
प्रतिक्रिया