Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
गतिविधि

अभिभावक, शिक्षक र विद्यार्थी सम्मानित

सोमबार, ०२ फागुन २०७३

भक्तपुर– शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले मात्र शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ । लगनशील शिक्षक, मिहीनती विद्यार्थी र सहयोगी अभिभावकहरुको साथले मात्र विद्यालयको विकास हुने कुरालाई मनन् गरी पारागन एकेडेमीले अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ ।

भक्तपुरको कमलविनायस्थित सो विद्यालयको १४ औं वार्षिकोत्सवको अवसरमा सोही विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट विद्यार्थी, उत्कृष्ट अभिभावक र उत्कृष्ट शिक्षक छनोट गरी सम्मान गरिएको विद्यालयले जनाएको छ । ‘विद्यालयको शैक्षिक उपलब्धि वृद्धिका लागि वर्षभर शिक्षक, अभिभावक तथा विद्यार्थीले पु¥याएको योगदानको आधारमा सम्मान गरेका हौं ।’ विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले भने ।

कार्यक्रममा सम्मानित हुनेमा वर्ष अभिभावकको रुपमा सुस्मिता अधिकारी, जमुना मैनाली र नारायणदेवी थुयाजु रहेका छन् भने वर्ष शिक्षकहरुमा क्रमशःसजना दुवाल, मिथिला लागेजु र सागर पराजुली रहेका छन् ।

त्यस्तै वर्ष विद्यार्थी अन्तर्गत समिप लाछिमस्यु, शैलेजा पोखरेल र सुजिना बासुकला रहेका छन् । कार्यक्रममा निरन्तर सेवा गरेवापत शिक्षकहरु रत्नवीर किसी, बासुकृष्ण गोसाइँ , सर्मिला साँद, रश्मिला श्रेष्ठ र सुजाता कोजूलाई पनि सम्मान गरिएको थियो ।

प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाइँको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विद्यालय निरीक्षक विमल निरौला, इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठ, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जीबी खड्का, ख्वप उमाविका प्राचार्य प्रकाश श्रेष्ठ, बालमनोविद्द्वय निमेश महर्जन र कमल सिलवाललगायतले शिक्षाको सन्दर्भमा चर्चा परिचर्चा गर्दै युगसुहाउँदो शिक्षा दिन आग्रह गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले निजी विद्यालयहरुले नाफामात्र नहेरी शिक्षालाई गुणस्तरीय बनाउका लागि थप पहल गर्नुपर्ने आवश्यकता भएकोमात्र नभएर देशको हितका लागि काम गर्ने जनशक्ति तयार गर्नुपर्ने सुझाव दिएका थिए । विद्यालयका प्रिन्सिपल कवांले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीलाई योग्य र सक्षम बनाउन विभिन्न शैक्षिक गतिविधिहरुलाई अघि बढाइरहेको बताए । विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

हाल सो विद्यालयमा ८ सय विद्यार्थी अध्ययनरत छन् भने विद्यालयको औसत उत्तीर्ण दर ९८.२९ प्रतिशत रहेको छ । कार्यक्रममा शिक्षक सागर पराजुली, कक्षा १० का विद्यार्थी समा श्रेष्ठ, अभिभावक जमुना मैनालीले पनि विद्यालयको विषयमा बोलेका थिए ।

प्रतिक्रिया