शिक्षक सेवा आयोगको गठन कसरी भयो ? यसले के के गर्यो भन्ने कुरा सबै शिक्षकलाई थाहा भएकै कुरा हो । आयोग गठन हुँदा आयोगको काममा कति अड्चनहरु आए ?, अहिलेसम्म कसरी सफल हुँदै आयो ? यो आयोगमा, सदस्यहरुमा, कर्मचारीहरुमा राजनीतिको प्रभाव कसरी पर्यो भन्ने कुरा सबैलाई थाहा छ, भनिरहनै परेन ।
यो राजनीति यस्तो चराको नाम रहेछ, यो सबैतिर पुग्दो रहेछ । राजनीति विचित्र किसिमको हँुँदो रहेछ । राजनीति नभइकन जीवन पनि नचल्ने, देश पनि नचल्ने, परिवार पनि नचल्ने, समाज पनि नचल्ने, हिजोआज त श्रीमान् श्रीमतिको जीवन पनि नचल्ने बनेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिरहेका छौं अहिले । त्यो राजनीति पनि एउटा बाँच्ने साधन रहेछ । त्यसैकारण हाम्रा सबै शिक्षकहरु पनि राजनीति गर्छन्, बडो राम्रोसँग । राजनीति गर्नेले बोलेपछि त्यसको प्रभाव पर्छ, म जित्छु भन्ने हुन्छ । त्यही जित्छु भन्ने अहम्ले शिक्षक पनि राजनीति गर्छन् ।
यही राजनीतिकै माध्यमबाट यो आयोग जन्म्यो, राजनीतिकै माध्यमबाट यो बाँच्दैछ, जेजस्तो भए पनि आयोगले निक्कै दुःखद् स्थितिको सामना गर्नुपर्यो, यसलाई स्वतन्त्र आयोग बनाउने कुरा जुन छ, त्यो कुरा ज्यादै राम्रो हो । यसलाई स्वतन्त्र आयोग बनाउनुपर्छ भन्ने कुरा मेरो कार्यकालमा पनि उठेकै हो । आमोद उपाध्याय शिक्षामन्त्री हुँदा नै यो कुरा उठेको थियो, त्यो बेलाका एकजना कर्मचारीले यो विषयमा बेइमान गर्दा आयोगको स्वतन्त्रता हराएको हो । तर पनि हामीले यसलाई स्वतन्त्र बनाउनुपर्छ भनेर संघर्ष त गर्यों, मन्त्रीसँग भेट्यौंं, सचिवसँग पनि भेट्यौं, तर, हाम्रो दुःख मात्र भो । देशमा सबैतिर अस्तव्यस्त र अस्थिरता कायमै थियो । त्यस्तो बेलामा कति दिन यसरी चल्ला र ? कति दिन जागिर खाइएला र भनियो । त्यतिखेरै स्वतन्त्र आयोगको कल्पना गरिएको हो, नगरेको होइन, नभएको होइन । तर भएन, हुन सकेन ।
हाम्रा शिक्षकहरु विभिन्न आचरणका छन्, म त गाउँ–गाउँ डुलेको छु, पूर्वाञ्चलमा म निर्देशक भएर तीन वर्ष बसेको छु । कतिसम्म थाहा छ मलाई भने यो चाहिँ एउटा हाजिर हुने पेशा हो, हाजिर हुने, काम भने अर्के गर्ने पेशा बनेको छ, शिक्षण । व्यापार गर्नु छ, कहिँ बोर्डिङ खोल्नु छ, कहिँ आफ्नो व्यक्तिगत काम छ, बडो सक्रियताका साथ राजनीति गर्नुछ भने अंगाल्ने भनेको शिक्षण पेशा नै बनेको छ । सरकारी विद्यालयका शिक्षक, निजी बोर्डिङका शिक्षकजस्तो खटेको देखिँदैन । किन खटेनन् भने उनीहरुहरुलाई संरक्षण गर्ने काम राजनीतिले गरेको छ । शिक्षकहरु जुन किसिमले दौडिन्छन्, त्यो दौडिनुको पछि पनि राजनीति नै छ । ‘म शिक्षक छु, म विद्यालयमा जा, अनि कहिँ कतै आफ्नो काममा जान्छु, हाजिर गर्छु, हिँड्छु’ भनेपछि त मलाई शिक्षा कार्यालय हटाउन चाहन्छ नि, सरुवा गर्न चाहन्छ नि, तर त्यहाँ मलाई हटाउने, सरुवा गर्ने भन्दा पनि मविरुद्ध जसले यो कुरो गर्छ त्यसैलाई पो हटाउने र सरुवा गर्ने काम पो हुन्छ । कारण मैले गरेको राजनीतिकै कारण शिक्षामन्त्री मेरो हुुन्छ, विभागको सदस्य, अध्यक्ष नै मेरो भएपछि मलाई कसले पो छुन सक्छ र ? भन्ने सोचका भयौं । मलाई कसले सरुवा गर्ला भन्ने अहम् राजनीतिले दियो, त्यो अहम्को कारणले गर्दा शिक्षामा विकृति छ, विसंगति छ ।
यो स्वतन्त्र आयोग हुनुपर्छ भन्ने मेरो पनि माग हो । हामीकहाँ जति पनि आयोग छन्, लोक सेवा आयोगबाहेक, सबै आयोग राजनीतिक केन्द्रजस्तै छन् । राजनीति नै हाम्रो जीवन साधन भएको छ अहिले । अहिले भात खानुभन्दा राजनीति खानु राम्रो भएको छ ।
आयोगलाई भने मेरो सुझाव छ, आयोगले फष्ट क्लासका र द्धितीय श्रेणीका पदहरु प्रशस्तै सिर्जना गर्नुपर्छ । यसलाई स्वतन्त्र आयोग बनाउनका लागि ढिपी कस्नुपर्छ, यसमा शिक्षक महासंघ र शिक्षकसँग सम्बन्धित जोजो छन्, सबैले ढिपी कसेर भए पनि स्वतन्त्र बनाउनुपर्छ । यसमा शिक्षा मन्त्रालयले पनि पहल गर्नुपर्छ । तर अहिलेको कर्मचारी प्रशासनबाट शिक्षा आयोगलाई स्वतन्त्र आयोग बनाउने सपना नदेखे हुन्छ, कराण शिक्षा मन्त्रालयभित्र हाम्रा जुन कर्मचारीहरु छन्, तिनीहरु शिक्षाका राम्रा–राम्रा कुरालाई नियन्त्रण गर्न चाहन्छ । आफ्नै पञ्जामा राख्न चाहन्छ । अरु मन्त्रालयको त मलाई थाहा छैन तर शिक्षा मन्त्रालयको सन्दर्भमा कर्मचारीहरु गतिला छैनन् । उच्च शिक्षा परिषद् होस्, एसएलसी होस्, देशभरकै शिक्षा कार्यालयहरु, शिक्षकलाई आफ्नै पञ्जामा राख्न चाहन्छ । त्यस्तो अवस्थामा काम गर्न गा¥हो छ ।
आफ्नो काम गरौं, राजनीतिलाई नदोषौं । राजनीति भइ नै रहन्छ, जहिलेसम्म देश छ, तहिलेसम्म राजनीति छ । यसैले त्यतातिर हामी चिन्ता नगरौं । हामीले हाम्रो आफ्नो काम भने गरौं । राजनीतिको आलोचना नगरौं । राजनीतिले के के बिगार्यो त ? एउटा कर्मचारीको प्रभुत्व छ भने, राम्रो काम गर्ने कर्मचारी छ भने यो देशमा फाप्दैन । राम्रो काम गर्ने कर्मचारीलाई एकलकाँटे भन्छन् । बिब्लियाँटो भन्छन् । सत्य कुरा बोल्छ, उसले झुटको संगत नगरी हुन्न, राम्रो काम गर्छु भन्दा पनि कसले मन्त्री, सचिवलाई फोन लगाउँछ, त्यही दिन सरुवा गरिदिन्छ । गर्न सक्ने राष्ट्रसेवक देशमा नभएको होइन, गरौं भन्नेहरु पनि छन् तर उनीहरुले गर्न सmक्तैनन् । राम्रो गर्नलाई साँचो कुरा गर्नुपर्यो, सत्यकुरा गर्नुपर्यो । सत्य कुरा गर्ने कर्मचारी टिक्दैन ।
राजनीति हरेक कर्मचारीसँग पछि लागको छ । कर्मचारी ,शिक्षक राजनीतिको पछि लागेको छ । राजनीति हरेक आयोगसँग पछि लागेको छ । राजनीति हरेक विश्वविद्यालयको पछि लागेको छ । अब के गर्ने ? बाँच्नु त पर्यो नि । हामीले जति नै राजनीतिले बिगार्यो भनेर भने पनि आखिरमा हुने फेरि राजनीतिक नियुक्ति नै हो !
तर जसरी भए पनि आयोगलाई स्वतन्त्र चाहिँ बनाउनुपर्छ ।
(शिक्षक सेवा आयोग स्थापना दिवसको अवसरमा भट्टराईद्धारा व्यक्त विचारको सार । उनी शिक्षक सेवा आयोगका पहिलो अध्यक्ष हुन् । (कार्यकाल : विसं. २०५७ बैशाख १२ - २०५८ पुस ५ गते सम्म )
प्रतिक्रिया