Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

अर्थको सहमति नभए पनि नियमावलीमा समेट्छौं : शिक्षा मन्त्री

आइतबार, ०१ फागुन २०७३

काठमाडौं– शिक्षामन्त्री धनिराम पौडेलले अर्थ मन्त्रालयले स्वीकृति नदिएका विषयहरु समेत समेटेर शिक्षा नियमावली आउने खुलासा गरेका छन् ।

अर्थमन्त्रालयको राय सँगै नियमावली कानुन मन्त्रालयमा पुगेको छ । अर्थले सहमति नदिएका विषयहरुलाई पनि समावेश गरेर नियमावली ल्याउन लागेको जानकारी दिँदै उनले ऐनमा उल्लेख भएका सबै व्यवस्थाहरुलाई नियमाववलीले समेट्ने दाबी गरे । ‘संसदले पास गरेको ऐन सरकारले लागू गर्नै पर्छ, अर्थको असहमति भए पनि ऐनमा भएको सबै व्यवस्था र प्रावधान समेटेर नियमावली ल्याउँछौं’, एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सचिवालय बैठक तथा विधान अधिवेशन तथा भक्तपुरमा पार्टीले गरेको कार्यक्रमलाई सम्बोधनको क्रममा उनले भने, ‘ढुक्क हुनुहोस्, अर्थले असहमति दिएका विषय पनि नियमवलीले समेट्छ ।’

उनले अर्थ मन्त्रालयबाट कानूनमा गएका नियमावलीमा भएको संसोधनमा नियमतः नमिल्ने भएपनि शिक्षामा परिवर्तन गर्न तथा नेपालको शिक्षालाई व्यवस्थापन गर्न अर्थको असहमतिका बाबजुद र जोखिम मोलेरै केही वुंदाहरु थपेर कानुन मन्त्रालयमा पठाएको बताए ।

विगत आठ/ नौ वर्षको प्रयासपछि आएको ऐन भएकोले अर्थले केही वुंदामा असहमति जनाए पनि धेरै विषय समेट्न परेको उनको भनाइ छ । ३४ हजार ईसीडीका सहयोगीहरुलाई दरबन्दी दिने, प्रधानाध्यापकहरुको छुट्टै दरबन्दी दिने तथा अस्थायी शिक्षक व्यवस्थापनमा रकम लाग्ने विषयमा अर्थले असहमति जनाएको छ ।

सो क्रममा उनले फागुन १५ गतेसम्ममा शिक्षा नियमावली आउने बताउँदै भने, ‘कानुन मन्त्रालयबाट एकहप्ताभित्रै स्वीकृति आउने सूचना आएको छ, त्यहाँबाट आउने बित्तिक्कै मन्त्रीपरिषदमा् लगेर नियमावली जारी गरिन्छ ।’ उनले भने ।

उनले अघिल्लो नियमावली पूर्ण कार्यान्वयन नहुँदा शिक्षक कर्मचारीको दरबन्दी थप गर्नुपर्ने समस्या निम्तिएको बताएका थिए ।

यता, संगठनको विधान अधिवेशनले संगठनका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । अधिवेशनले संगठनका महासचिव शंकर अधिकारीलाई वरिष्ठ उपाध्यक्ष, अर्थ उपमहासचिव ऋषिराम चाँपागाईलाई महासचिव, निम बहादुर केसीलाई अर्थउपमहासचिव र झम्क चौलागाईलाई अर्थ सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै, सचिव पुष्प न्यौपानेलाई उपमहासचिव, उपमहासचिव बसन्त अधिकारीलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । वरिष्ठ उपाध्यक्ष हरिभक्त नेपाली, उपाध्यक्षहरु घ्याम्सो लामा, सानु लोहनी, स्थीर प्रसाद खनाललाई सल्लाहकार समितिमा लैजाने  र नेपालीलाई सल्लाहकार समितिको सहसंयोजकको जिम्मेवारी दिने निर्णय गरिएको संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।  अधिकारीका अनुसार सचिव जयचन्द्र अधिकारी र कार्यालय सदस्य मथुरा ढकाललाई संगठनबाट स–सम्मान बिदा गर्ने निर्णय भएको छ ।

त्यस्तै, संगठनको सचिवालय बैठक तथा विधान अधिवेशनले कार्यालय सदस्यहरु तारानाथ खतिवडा, गंगालाल प्रधान, देवीदत्त पौडेल, धुर्व भट्ट, सोमप्रसाद भट्टराई, मदन शर्मा, कुल प्रसाद खतिवडा, दलबहादुर कार्की र तिलक राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।

संगठनको विधान अधिवेशनले अस्थायी शिक्षक र विद्यालय कर्मचारीको माग पुरा हुने गरी नियमावली संशोधन गर्न, शिक्षक अस्पतालको व्यवस्था गर्न, समयमा पाठ्यपुस्तक द्यिार्थीको हातमा पु¥याउन सरकारसँग माग गरेको संगठनका महासचिव ऋषिराम चाँपागाईले जानकारी दिए । अधिवेशनमा संगठनका सचिवालय सदस्य स्तरीय दुईसय बढी  शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया