काठमाडौं २९ माघ/विश्व हस्तलेखन कला प्रतियोगितामा जित हासिल गरेका मनीष साह यति बेला दंग छन् । सन् २०१५ मा आयोजित उक्त प्रतियोगिताका विजेता उनले पुरस्कार भने भर्खरै थापेका छन् । उनले गत साता मात्रै अमेरिकाको न्युयोर्कबाट नगद दुई लाख रुपैयाँसहित प्रमाणपत्र पाए । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, चिन, कोरिया, अमेरिका, युरोपदेखि सातै महादेशका विद्यार्थी सहभागी थिए ।
मनीषलाई शुक्रबार उनी पढेको विद्यालय सिद्धार्थ मेमोरियल स्कुल र अन्य विभिन्न संघसंस्थाले सम्मान गरे । विद्यालयलका प्रिन्सिपल कृष्ण तामाङले मनिषले आफ्नो कला र प्रतिभामार्फत नेपाललाई विश्वमै चिनाउन मदत गरेको भन्दै नगद १५ हजार रुपैया र सम्मानपत्र प्रदान गरे । मनिषले भने, ‘दुइ तीन कक्षा पढाताका मैले लेखेका अक्षर राम्रो भएकाले मिस सावित्रा रिजाल ढकालले झन् प्रोत्साहित गर्नु हुन्थ्यो । अक्षर राम्रो बनाउने कला मैले सानैदेखि आफै सिकें । पछि कम्प्यूटरले लेखेका जस्तै अक्षरहरू बनाउने लालसा बढ्यो । कम्प्युटरका विभिन्न शैलीका फन्ट हेर्दै हातले लेख्न थालें । यो मेहेनत खेर गएन भन्ने अहिले लागेको छ ।’
हाल इटहरीको एक उच्चमाविमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका मनीष भविष्यमा हस्तलिखित कलाका विषयमा अरुलाई ज्ञान दिने योजनामा छन् । अक्षर लेखनमा विश्वभरीबाट प्रतिस्पर्धामा उत्रेका हजारौंलाई पछि पार्दै विश्वविजेता बनेका मनिषले हातैले लेखेका अक्षरहरू हेर्दा कम्प्यूटरमा टाइप गरिएजस्ता देखिन्छन् ।
वल्र्ड हेण्ड राईटिङ कन्टेस्ट गर्ने मुख्य आयोजक अमेरिकी संस्था हो । उनले पाएको प्रमाणपत्रमा आयोजक संस्थाका तर्फबाट केट ग्लाडस्टोनले हस्ताक्षर गरेका छन् । मनीषले भने, ‘युरोप र अमेरिकाका अधिकांश मानिस जन्मेदेखि नै अंग्रेजी भाषा र अक्षरसंग परिचित हुन्छन् । नेपाली भाषीले उनीहरूको अंग्रेजी मातृ लिपि भाषामा लेखिएको हस्ताक्षरले पुरस्कार जित्छ भन्ने कल्पना पनि गरेको थिइनँ ।’ दुइ कट्ठा जमिन मात्र भएपनि कालाबन्जारमा धान चामल व्याबसाय र चामल मिल संचालन गर्दै आएका उनका बाबु लक्ष्मण साह र आमा फुलकुमारीले छोराले नेपालका नाममा इतिहास बनाउन सकेकोमा गर्व लागेको बताए ।
कान्तिपुरमा सुर्खेतबाट लेखेको खबर ।
प्रतिक्रिया