Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

स्कुलबाटै भागेर बिहे

शनिबार, २९ माघ २०७३

काठमाडौं २९ माघ /‘बिहेवारी २० वर्ष पारि’ भनेर प्रचार हुन थालेको दुई दशक भइसक्यो, तर जिल्लामा भने यो नाराले अझै छुन सकेको छैन । स्कुले उमेरमै भागेर बिहे गर्ने चलन बढेको छ । मायाप्रेममा गाँसिएका १३ देखि १८ वर्षसम्मका अधिकांश बालिकाहरूमा अभिभावकको डरका कारण भागेर बिहे गर्ने प्रचलन बढी रहेको पाइएको हो । एक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणअनुसार शिक्षित बालिकाले भागी विवाह रोज्ने गरेका छन् । बाबियाचौर गाविसमा मात्रै बिहे गरेकामध्ये ९७ प्रतिशतले भागी विवाह गरेको तथ्यांक छ । त्यहाँ तीन प्रतिशतले मात्र उमेर पुगेर मागी विवाह गरेको पाइयो । सर्वेक्षक आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले बालबालिकाहरूले आफूखुसी विवाह गर्दा पढाइमा असर पुगेको बताइन् । ‘यसरी भएको विवाह धेरै टिकेको देखिएन,’ उनले भनिन्, ‘६ महिना–एक वर्ष नपुग्दै सम्बन्धविच्छेद गर्नुपर्ने स्थिति सिर्जना भएको पाइन्छ ।’ समयमै आफ्ना छोराछोरीको अवस्था, रुचि र समग्र गतिविधिको ख्याल नगर्दा पढ्ने उमेरमा प्रेमीप्रेमिकाका रूपमा सम्बन्ध राख्ने गरेको उनको भनाइ छ । गरिबीले समेत बालिकाहरूले बिहे गर्न बाध्य हुने गरेको पाइएको छ । ‘आर्थिक अभाव, देखासिकी, बिलासिताको प्रभावजस्ता कारणले केटीहरू बिहे गर्न बाध्य हुन्छन्,’ संस्थाकी निर्देशक शाहीले भनिन्, ‘पछिल्लो समय भागी विवाह हुनुको अर्को कारण मोबाइलको दुरुपयोग पनि हो ।’ कम उमेरमा हुने विवाहलाई कानुनत: बर्जित छ । २० वर्ष नपुगेकाको बिहे गरे/गराएमा ६ महिनादेखि तीन वर्षसम्म कैद सजाय र एक हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना, १० देखि १४ वर्ष नपुगेकाको हकमा तीन महिनादेखि एक वर्ष कैद र पाँच हजारसम्म जरिवाना वा दुवै सजाय तथा १४ वर्षमाथिदेखि १८ वर्ष नपुगेकाको हकमा छ महिनासम्म कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ । त्यस्तै, जानीजानी कानुन विपरीत कम उमेरमा विवाह गराउने पुरोहित, लमी र अरू मद्दत गर्नेलाई एक महिना कैद वा एक हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । मुलुकी ऐनको ११ औं संशोधनले विवाहका लागि संरक्षकको मञ्जुरी भए १८ वर्ष र मञ्जुरी नभए २० वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रकाश अधिकारीले कान्तिपुरमा सुर्खेतबाट लेखेको खबर ।

प्रतिक्रिया