काठमाडौं - कक्षा १२ को परीक्षा सकाएपछि स्नातक पढ्नका लागि आर्थिक समस्या हुने भयो । त्यसपछि के गर्ने त ? सोचेँ, ‘काम पनि गर्ने, पढ्ने पनि ।’ यही हिसाबले मैले मेरा केही साथीहरुलाई कहिँकतै ‘भ्याकेन्सी’ भए मलाई भन्न भनेको थिएँ ।
केही दिन पछि एकजना साथीले मलाई ‘एउटा प्राइभेट स्कुलमा भ्याकेन्सी छ, त्यहाँको एक जना टिचरले छोडेर गएको छ, त्यहाँ काम गर्छौ त ?’ भनेर सोधिन् ।
उनलाई मैले ‘म पढाउन सक्छु त भनेर ? प्रतिप्रश्न गरेँ । उनले पनि ‘सजिलो छ सकिहाल्छस् नि, किन नसक्नु ?’ भने । त्यसमाथि उनले स्कुलको लागि अर्जेन्ट टिचर चाहिएको भएर प्रिन्सिपलले आफूले चिनेका कोही साथी, बहिनी छन् भने ल्याए हुन्छ भनेको भएर मलाई भनेको भनिन् ।
भोलिपल्ट म साथीसँग स्कुल गएँ, अहिलेसम्म पढ्न मात्र गएको म, आज भने पढाउन जाँदैछु भन्ने लाग्यो । तर त्यत्तिक्कै त पढाउन कहाँ पाइएला र क्लास लिनुपर्छ होला, क्लास अवजर्बेशन हुन्छ, त्यसपछि इन्टरभ्यु हुन्छ, इन्टरभ्यु पास भएपछि मात्र काम पाइन्छ होला भन्ने सोचेको थिएँ । त्यही अनुसार म तयार भएर एसएलसीको र कक्षा ११ पास भएको सर्टिफिकेट, मार्कसिट बोकेर गएको थिएँ । साथीले प्रिन्सिपल चिनाइ दिइन् । प्रिन्सिपलले ‘हामीलाई फलानो विषयको टिचर चाहिएको छ, टिचिङ गर्ने हो त ?’ भनेर सोधे, मैले चाहिँ ‘अवसर पाए त गर्छु’ भनेँ । प्रिन्सिपलले त्यसोभए भोलि बिहान साढे नौबजे स्कुल आइपुग्नु भनेर भने ।
भोलिपल्ट म आफूले जाने जसरी पूरा तयारीका साथ स्कुलमा समयमा पुगेँ । १० बजे पहिलो घण्टी लाग्यो । प्रिन्सिपलले तपाइँ फलानो कक्षामा रजिष्टर लिएर जानुस् त भन्दै मलाई डष्टर र मार्कर हातमा दिनुभयो । डष्टर, मार्कर र रजिष्टर हातमा लिएपछि क्लास अवजर्वेशन हुने भो भन्ने डर लाग्यो । मैले कक्षा कहाँ छ भनेर सोधेँ, प्रिन्सिपलले कक्षा देखाइ दिनुभयो ।
बोर्डिङ जस्तो स्कुलमा कक्षा नहेरी के पढाउन देलान् र ? के काम देलान् र ? भन्ने सोच्दै म ‘मेरो कक्षा अवलोकन भइरेको छ’ भन्ने सोच्दै डराउँदै डराउँदै विद्यार्थीलाई पढाएँ । पहिलो घण्टी सकेपछि अफिस कोठा गएँ । प्रिन्सिपलले अब फलानो कक्षामा जानुस भनेर भन्नुभयो । म हुन्छ सर भन्दै अर्को कक्षा पनि गएँ । केही टिचरहरुसँग चिनाजान पनि गरेँ, त्यसरी नै चार बज्यो । स्कुल छुट्टी भयो । विद्यार्थी गइसकेपछि
प्रिन्सिपललाई सोधेँ, ‘सर, म भोलि के गरुँ ?’
प्रिन्सिपलले ‘किन र ? टिचिङ गर्छु भनेको होइन, आउने नि किन नआउने ? भन्नुभयो ।
स्कुल छुट्टिसकेपछि, घर फर्किने बेलामात्र काम मिलेको कुरा साथीबाट थाहा भयो । साथीले प्राइभेटमा यस्तै गरी काम मिल्ने बताईन् । म त छक्क परें !
मैले क्लास अवजर्वेशनपछि मात्र पढाउन दिन्छ होला भन्ने सोचेको थिएँ तर त्यसो भएन । त्यसरी सिधै मलाई पढाउने काम दिएपछि प्राइभेट स्कुलमा पढाउने काम पाउन त्यति गा¥हो रहेनछ, आफ्नो मान्छे भएपछि सिधै जागिर मिल्दो रहेछ, एउटा सिफारिशमा, भनसुनमै हुँदो रहेछ भन्ने लाग्यो ।
मैले पनि काम पाएँ, ठीकै छ भनेर स्वीकारेँ । विद्यार्थीलाई पढाउँदै गएँ । मैले पढाउन थालेको एक महिनाजति मात्र भो । अहिले नै मलाई नरमाइलो लाग्न थालिसकेको छ । म त सामुदायिक विद्यालयमा पढेको मान्छे । योभन्दा अघि नपढाए पनि शिक्षकले पढाउने तरिका मलाई थाहा थियो । मैले त्यसरी नै पढाएँ । विद्यार्थीलाई पाठ अनुसारको विषय बुझाउन थालेँ । विद्यार्थीले बुझेकै भने । तर कितावको प्रश्नको उत्तर भने दिन नसक्ने, आफ्नै तरिकाले लेख्नै नसक्ने पो पाएँ ।
किन यस्तो भयो होला ? म चिन्तित भएँ, अनि विद्यार्थीसँग नै सोधेँ । विद्यार्थीले तपाइँले पढाउनुभएको त ठीक छ, बुझ्छौं पनि तर हामी लेख्न सक्तैनौं भने । कारण खोज्दा उनीहरुको मुखबाट एउटै स्वर निस्कियो, ‘यसरी पढाएर मात्र कहाँ हुन्छ र तपाइँले त कितावमा भएका सबै प्रश्न र अभ्यासहरुको पनि एन्सर लेखिदिनुपर्छ, हामी त्यही पढ्छौं, कण्ठ गर्छौंं ।’
विद्यार्थी कण्ठ गर्न पाएकोमा निक्कै रमाएका छन्, किताबका प्रश्नहरु खरर भन्न सक्छन्, लेख्न सक्छन् । उनीहरु पढ्नु, लेख्नु र बुझ्नु भनेकै कण्ठ पार्नु हो भन्ने रहेछ । के भनेको थाहा नभए पनि कण्ठ पारेर सबैको अघि भन्न सक्दा र जाँचमा प्रश्नको उत्तर लेख्न सक्ता उनीहरु मक्ख पर्दा रहेछन् । जसरी हुन्छ, घोक्न पाए रमाउँदा रहेछन् ।
त्यसरी पढाइरहँदा म आफूले पनि पढेको सम्झना आउँछ, सामुदायिकमा त घोक्नुपर्दैन, बुझे हुन्छ, प्रश्नको जवाफ पनि आफूले बुझेजसरी लेख्न पाइयो, यता प्राइभेटमा त टिचरले लेखिदिए जस्तै गरी नै लेख्ने गर्दा रहेछन् । यो सम्झेर म बेकारमा शिक्षणमा पो लागेँ भन्ने लागिरहेको छ ।
एक महिना बोर्डिङ स्कुलमा पढाउँदाको अनुभवले मलाई समाजमा रहेका निक्कै मान्छेहरु स्वार्थी, एकलकाँटै हुँदै जानुमा, एकले अर्काको वास्ता नगर्नुमा हाम्रो बोर्डिङे शिक्षा पो बढी दोषी रहेछ, प्राइभेट स्कुलै पो त्यसको कारक हो कि जस्तो लाग्न थालेको छ । बोर्डिङ स्कुलमा पढ्नेहरुलाई ब्रोइलर कुखुरा भनेर त्यत्तिकै भनेको हैन रहेछ भन्ने कुरा बोध हुन थालेको छ ।
पढाउने क्रममा कक्षा ५÷६ पुगेका विद्यार्थीलाई भविष्यमा के बन्ने ? भनेर सोध्दा, धेरैले अमेरिका, युके, अष्ट्रेलिया जाने भन्छन् । विद्यार्थीले एकले अर्कोलाई साथी भनेर त भन्छन् तर एकले अर्कोलाई सहयोग गर्दैनन्, बोर्डिङमा त कसरी हुन्छ, अरुभन्दा आफू नै अघि बढ्नेमा ध्यान जाँदो रहेछ । कसरी हुन्छ अरुलाई उछिन्न पाए हुन्छ भन्ने स्वभावका विद्यार्थी बढी छन् ।
आफै मात्र जित्नुपर्ने स्वभावका विद्यार्थी बढी छन् । कोही कसैको च्यातिएको स्वेटर भयो भने कक्षामा सबैले उसलाई हेप्दो रहेछ । कुनै विद्यार्थीको फी तिर्न बाँकी रहे, हाउस ड्रेसअनुसार स्कुल नआए, जुत्ता टिलिक्क नटल्किए, कि त बिहानको एसेम्ब्ली, कि त कक्षामा सबैको अघि उभिनुपर्छ ।
यस्तो वातावरणमा हुर्केका विद्यार्थी भोलि के हुने होला ? शिक्षा क्षेत्र यति धेरै किन पीडादायक बनेको होला ? भन्ने सोच्दा मलाई बेकारमा शिक्षक बनेँजस्तो लागिरहेको छ । तर भर्खर एक महिना भयो, एकैपटक छोडुँ, स्कुललाई, आफ्नै साथीलाई धोका दिएको जस्तो हुन्छ, नछोडुँ म भित्रभित्रै प्रत्येक दिन स्कुलमा पुगेर तड्पिरहेको छु, छट्पटिरहेको छु ।
एक निजी विद्यालयमा अध्यापन गर्ने शिक्षकले संवाददाता हरिसुन्दर छुकांसँग बाँडेको अनुभूतिमा आधारित । शिक्षकको र विद्यालयको नाम गोप्यताका लागि सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया