काठमाडौं २७ माघ/गरिबीले नौ कक्षामै पढाइ छाडेर विवाहबन्धनमा बाँधिएकी तर दाइजोमा लैनो भैंसी नपाएको निहुँमा पर्सिपल्टै लोग्नेबाट त्यागिएकी बर्दिवास' ८, फूलबारी टोलकी १९ वर्षीया अमृताकुमारी कापरको पढ्ने रहर पूरा भएको छ ।
सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेको सहयोगमा फेरि पढ्न पाएकी उनले समाजका कुसंस्कारविरुद्ध लड्ने अठोट गरेकी छन् । ‘पढ्ने ठूलो रहर थियो, खर्च धान्न नसकेर छाड्नुपर्यो', उनले अन्नपूर्णसँग भनिन्, ‘अब धेरै पढेर दाइजोलगायत समाजका कुसंस्कारविरुद्ध लड्छु ।'
बाबु रामप्रकाश कापरले दाइजोमा लैनो भैंसी नदिएको भन्दै बेहुलापक्षले एकपक्षीय रूपमा माघ ११ गते अमृतासँगको विवाह रद्द भएको घोषणा गरेको थियो । माघ ९ गते धुमधामसँग सम्पन्न भएको विवाह भाँडिएपछि अमृताले समाजका विकृतिविरुद्ध लड्ने र दाइजो नलिने केटासँग मात्रै विवाह गर्ने प्रण गरेकी छन् ।
माघ २२ गते अन्नपूर्ण पोष्टले अमृताबारे समाचार प्रकाशित गरेपछि सिद्धार्थ ग्रुपका प्रमुख न्यौपानेले उनको पढाइमा सघाउने जिम्मा लिएका हुन् । न्यौपानेले पहिलो चरणमा जनजागृति मावि कृष्णपुर, किसाननगरलाई अमृताको पढाइ खर्चबापत १५ हजार सहयोग गरेका छन् । प्रधानाध्यापक बलबहादुर सिलवाललाई भेटेर न्यौपानेले पोसाक, शैक्षिक सामग्री र साइकल खरिदका लागि १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
‘अमृताको कोचिङ शुल्क, पाठ्यपुस्तक र राम्रो पढे जेहेन्दार छात्रवृत्ति पनि दिन्छौं', प्रअ सिलवालले भने, ‘विद्यालयबाट हुने सबै सहयोग हामी गर्छौं ।' अमृताको पढेर नर्स बनेर समाज सेवा गर्ने इच्छा छ ।
सिद्धार्थ ग्रुपका अध्यक्ष न्यौपानेले अमृतालाई अहिले कक्षा १० सम्म र राम्रो पढ्दै गए त्यसपछि पनि आफ्नै खर्चमा नर्स पढाउने बताएका छन् । ‘अमृतालाई घरपरिवार, समाज र विद्यालय परिवारले हौसल्ला र पे्ररणा दिनुपर्छ', न्यौपानेले भने, ‘नर्स बनाउँदासम्मको खर्च जिम्मा हामी लिन्छौं ।'
रामप्रकाशले खेत बेचेर ‘ज्वाइँ' धनुषा, कान्छीबजार' ९ का रौदी कापरलाई मोटरसाइकल, नगद र सरसामान गरी ४ लाख ५० हजार दाइजो दिएका थिए । तर कापरले दाइजोमा लैनो भैंसी नपाएको झोकमा अमृतालाई त्यागेको घोषणा गरेका थिए । अमृताको घरमा भोज खाएर माघ ११ गते फर्कने बेला रौदीको परिवारले बिहे रद्द भएको घोषणा गरेको थियो ।
यसैबीच अन्तर पार्टी महिला सञ्जाल बर्दिवासकी अध्यक्ष शारदा थापा र उपाध्यक्ष उर्मिला कार्कीले अमृताको न्यायका लागि कानुनी लडाइँ लड्ने बताएका छन् । ‘अमृताको विवाहमा भएको सबै खर्च पीडकबाट प्रहरी प्रशासनले अमृताका परिवारलाई फिर्ता दिलाउनुपर्छ', अध्यक्ष थापाले भनिन्, ‘महिलालाई जाबो एउटा भैंसीसँग तुलना गर्ने ? यो महिलामाथिको हिंसा हो ।'
राजकरण महतोले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
प्रतिक्रिया