काठमाडौं २७ माघ/ काजमा खटिएका शिक्षकले जिल्ला शिक्षा अधिकारीकै निर्देशन अटेरी गरेपछि जिल्लाको दुर्गम भेगमा रहेको एक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
छापहिलेको मालिका प्राविका स्थायी शिक्षक मेघनाथ अर्याललाई जिल्ला शिक्षा कार्यालयले एक वर्षअघि अर्जैको अर्जै माविमा काजमा खटाएको थियो । कार्यालयले मंसिर २ मा काज फिर्ता गरेको पत्र पठाए पनि उनी अहिलेसम्म मालिका फर्किएका छैनन् । शिक्षक अभावले ६० विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । विद्यालयमा अहिले प्रधानाध्यापक माया अर्याल मात्र छिन् ।
अर्जै माविमा दरबन्दीका शिक्षक हाजिर भएपछि मेघनाथलाई फिर्ता बोलाइएको थियो । विद्यालयले पटकपटक पत्राचार गरेको र फोनमा समेत सम्पर्क हुन नसकेपछि शिक्षा कार्यालयमै गुनासो गरेको प्रधानाध्यापक अर्यालले बताइन् । ‘६० विद्यार्थीलाई एक्लै पढाउन समस्या छ,’ उनले भनिन्, ‘तर मेघनाथ सर तीन महिनादेखि नै सम्पर्कमा हुनुहुन्न ।’ शिक्षा नियमावलीअनुसार दरबन्दीका शिक्षक हाजिर भएपछि सट्टा शिक्षक स्वत: आफ्नो दरबन्दीमा फिर्ता हुनुपर्छ । शिक्षक अर्याल भने शिक्षाको निर्देशन पाए पनि विद्यालयले सरुवाको रमानापत्र नदिएकाले रोकिएको बताउँछन् । ‘मैले रमानापत्र नै पाएको छैन,’ उनले भने, ‘निर्देशन अटेर गर्न खोजेको होइन ।’
जैसीथोकको पाञ्चायन माविले २ वर्षअघि प्रकाशन गरेको शिक्षक आवश्यकताको सूचनामा १ जनाको मात्र आवेदन पर्यो । दुई जना विषयविज्ञले कापी जाँच्दा परीक्षार्थी अनुत्तीर्ण भए । परीक्षार्थीले पुन: सम्परीक्षणका लागि शिक्षामा निवेदन दिए । शिक्षाले सम्परीक्षण गर्न निर्देशन दिए पनि व्यवस्थापन समितिले नमानेपछि अहिलेसम्म शिक्षक भर्ना हुन सकेका छैनन् ।
अमरपुरको गोविन्दरत्न निमाविकी अस्थायी शिक्षिका विमला भुसालले करार सम्झौताअनुसार काम नगरेको भन्दै सम्झौता नवीकरण नगरिएपछि शिक्षा कार्यालय र व्यवस्थापन समितिबीच चर्को द्वन्द्व छ । व्यवस्थापन समितिले कात्तिक २८ गतेदेखि विद्यालयमा हाजिर नहुनु भन्दै करार नियुक्ति नवीकरण नगरी अवकाशपत्र दियो । त्यसको विरोधमा उनले शिक्षा कार्यालयमा उजुरी गरिन् । शिक्षा कार्यालयले मौखिक आदेश दिँदै शिक्षिकालाई हाजिर गराउन निर्देशन दिए पनि व्यवस्थापन समितिले त्यसको पालना गरेन । निर्देशन पालना नगरेको भन्दै शिक्षाले विद्यालयका प्रअ तिलक केसीलाई नै शिक्षा कार्यालयमा काजमा बोलायो ।
व्यवस्थापन समिति अध्यक्ष गोपाल केसीले शिक्षाले समितिको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए । शिक्षिका भुसालले भने विद्यालयमा दरबन्दीअनुसार पूरै तलब माग गर्दा अन्य आरोप लगाएर नियुक्ति नवीकरण नगरिएको बताइन् ।
शिक्षकका पेसागत संगठन र राजनीतिक दलको आडमा हुने हस्तक्षेपले सिंगो शिक्षा क्षेत्र समस्याग्रस्त छ । राजनीतिक आड पाउने समिति र शिक्षकले कार्यालयकै निर्देशन अटेरी गर्दा सानो समस्या पनि वर्षौं लम्बिने गरेको छ । ‘सुरुमा समस्या सामान्य हुन्छ’, एक विद्यालय निरीक्षक भन्छन्, ‘जब राजनीति जोडिन्छ, अनि समस्या विकराल बन्दै जान्छ ।’ जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले कतिपय स्थानमा समस्या देखिए पनि समाधानका लागि पहल भइरहेको बताए । ‘निर्देशन अटेरी गर्ने नै भन्ने त छैन,’ उनले भने, ‘हामीले धेरै समस्या समाधान गरिसक्यौं ।’
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया