Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

परीक्षा भएको ६ महिना पछि बल्ल निमाविको नतिजा सार्वजनिक

बुधबार, २६ माघ २०७३

भक्तपुर - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका स्थायी शिक्षकका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । पहिलो दिन बुधबार पाँचै विकास क्षेत्रको गणित विज्ञानको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस् : नतिजा

आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि बल्ल तल्ल आयोगले नतिजा प्रकाशनको काम शुरु गरेको हो । अब क्रमैसँग अन्य विषयका नतिजा प्रकाशित गर्दै जाने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । अयोगले निमावि तहका ११ सय १७ रिक्त पदका लागि गत जेठ १० गते विज्ञापन गरेको थियो । परीक्षा भने गत भदौ ११ गते भएको थियो ।

निमावि तह तृतीय श्रेणीका विभिन्न १० विषयका लागि ११ सय १७ शिक्षक माग गरिएको छ । जस मध्ये सबै भन्दा धेरै अँग्रेजीमा ३ सय २५ शिक्षक माग गरिएको छ । त्यस पछि सामाजिकका लागि १ सय ७३, नेपालीका लागि १ सय ६२, गणित विज्ञानका लागि १ सय ५५, विज्ञानका लागि १ सय ५३ शिक्षकको माग गरिएको  छ । यस्तै गणितका लागि १ सय ४२ संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि २ तथा संस्कृत र संस्कृत भाषामा १ १ शिक्षकको लागि आयोग खोलिएको छ । २०६३ बैशाख १० देखि रिक्त दरबन्दीका लागि आयोग खोलिएको थियो ।

देशभरबाट १ लाख १६ हजार ३ सय ४० जनाले आवेदन हालेका थिए । विभिन्न २२ जिल्लाका ५ सय ८६ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

आयोगले यस पटकको लिखित परीक्षामा नयाँ व्यवस्था गरेको थियो । प्रश्नपत्रको भाषा, परीक्षार्थीले प्रयोग गर्ने भाषा, उत्तर पुस्तिका र सोधिने प्रश्न, बस्तुगत प्रश्न र उत्तर तथा केन्द्र परिवर्तनका बारेमा नयाँ ब्यवस्था गरिएको थियो ।

जस अनुसार नेपाली, अंग्रेजी, संस्कृत व्याकरण र संस्कृत भाषा विषयको प्रश्न सम्बन्धित भाषामा नै र कम्प्युटर विज्ञान, विज्ञान, गणित र गणित विज्ञानको प्रश्नपत्र अंग्रेजीमा र अन्य विषयको प्रश्नपत्र नेपालीमा सोधिएको थियो ।

यसैगरी नेपाली, अंग्रेजी, संस्कृत भाषा विषयको दुवै खण्डको उत्तर सम्बन्धित भाषामा, कम्प्युटर विज्ञान, विज्ञान, गणित, गणित विज्ञान र संस्कृत व्याकरणको खण्ड क को उत्तर नेपाली वा अंग्रेजी वा संस्कृत भाषामा र अन्य विषयको उत्तर नेपाली वा अंग्रेजी वा दुवै भाषामा दिन सकिने आयोगले ब्यवस्था गरेको थियो ।

नयाँ पाठ्यक्रम बमोजिम हुने यस पटकको परीक्षामा क र ख दुबै खण्डको पूर्णाङ्क ४० ४० तथा प्रत्येक क्षेत्र समेटिने गरी छोटो वा लामो उत्तर आउने प्रश्न सोधिने र प्रत्येक खण्डको लागि उत्तर पुस्तिका अलग अलग गरिएको थियो ।

यसैगरी बस्तुगत प्रश्न र उत्तर पुस्तिका छुट्टाछुट्टै दिईने तथा बस्तुगत प्रश्नपत्र परीक्षार्थीले नै लिएर जान सक्ने ब्यवस्था गरिएको थियो ।

प्रतिक्रिया