काठमाडौं २६ माघ/नेपाल प्रज्ञा प्रतिष्ठानले डेढ लाख मूल शब्दसहित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशन गर्ने भएको छ । यो कोशमा नेपालमा बोलिने विभिन्न मातृभाषाका प्रचलित शब्द, भारतका दार्जिलिङ, सिक्किम, असम तथा भुटानमा बोलिने नेपाली शब्दसमेत समेटिने कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए ।
‘नयाँ कोशका रूपमा प्रज्ञा नेपाली बृहत् शब्दकोश प्रकाशन गर्ने निर्णय अघिल्लो कार्यकालकै हो,’ उतिखेर उपकुलपति रहेका उप्रेतीले भने, ‘मुलुकभित्र बोलिने विभिन्न जनजातिका मातृभाषाका संस्कृति, खानपान, व्यवहारमा आएका सामान्य शब्दहरू अहिलेको कोशमा समेटिएका छैनन् । भारत तथा भुटानमा रहेका नेपालीले बोल्दै आएका नेपाली भाषाका शब्द समेटेर बृहत् कोश प्रकाशन गर्ने लक्ष्यसहित काम भइरहेको छ ।’
प्रज्ञाले चाहेअनुसार मुलुकभित्रका भाषाका प्रचलित शब्द संकलन हुन सकेका छैनन् । ‘जनजिब्रोले पचाएका मुलुकभित्रैका मातृभाषाका शब्दहरू संकलनकै क्रममा छन्, प्रशोधन हुन बाँकी छ,’ उप्रेतीले भने, ‘शब्द संकलन कार्य प्राविधिक विषय पनि भएकाले मातृभाषाका शब्द संकलनमा तालिम आवश्यक भएको महसुस गरेका छौं ।’
कान्तिपुरमा प्रकाशित खबर
प्रतिक्रिया