झापा - शिक्षा मन्त्री धनिराम पौडेलले नेपालको सार्वजनिक शिक्षालाई बाल मैत्री बनाउन मन्त्रालय गम्भिर भएको भन्दै प्रारम्भिक बाल कक्षा (ईसीडी)का शिक्षिकाहरुलाई विद्यालय संरचनामा ल्याउनु यसकै उदाहरण भएको बताएका छन् । बालबालिकाको चाहना र इच्छालाई शिक्षाले सम्बोधन गर्नु पर्ने भन्दै उनले त्यस प्रकारको शिक्षा प्रणाली निर्माणको लागि शिक्षा ऐन र नियमावलीमा परिवर्तन गरिएको बताए ।
पहिलो पटक भएको राष्ट्रिय बाल महोत्सवको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
'देशभरीका ३४ हजार प्रारम्भिक बाल कक्षाका शिक्षिकाहरुलाई विद्यालय संरचनामा ल्याइएको छ' उनले भने, 'बालबालिकाहरुको समग्र विकासको लागि बाल महोत्सवको आयोजना हुनु सुखद पक्ष हो ।'
महोत्सवले बालबालिकाहरुको क्षमता र प्रतिभालाई प्रस्फुटन गर्न मद्धत गर्ने भन्दै उनले यसबाट बालबालिकाहरुमा आलोचनात्मक चेतको विकास हुने विश्वास समेत व्यक्त गरे । ‘भोलीको समृद्ध राष्ट्रका लागि आजका सवल बालबालिका’ भन्ने मूल नाराका साथ लखनपुरमा रहेको आदिवासी रङ्गशालामा शुरु भएको बाल महोत्सव पाँच दिनसम्म चल्नेछ ।
उज्यालो बाल क्लबकी अध्यक्ष टेलिना खनालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद महेन्द्रकुमारी सुव्वा, केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी, केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, झापाका प्रमुख जिल्ला अधिकारी उत्तमकुमार खत्री, झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल लगायतले महोत्सवको शुभकाना दिएका थिए । विद्यालय भित्र हुने पठनपाठनले मात्र बालबालिकाको चौतर्फी विकास नहुने भन्दै उनीहरुले अतिक्ति क्रियाकलाप मार्फत बालबालिकाको सिकाइ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
महोत्सवमा लखनपुरका २४ वटा बाल क्लबहरुको सहभागिता रहेको आयोजक समितिका संयोजक सन्तोष भण्डारीले जानकारी दिए । महोत्सबमा बाल गायन प्रतियोगिता, बाल वक्तृत्व कला, बाल चित्रकला प्रतियोगिता, बाल फोटो प्रदर्शनी, बाल मनोसामाजिक चेतनाका लागि ज्ञानवद्र्धक सामग्री तथा मनोपरामर्श, बाल कराँते प्रतियोगिता, बाल स्वास्थ्य शिविर, बाल झाँकीहरुको प्रदर्शनी लगायतका कार्यक्रम हुने छन् ।
कार्यक्रममा खेलकुद, विज्ञान, पुस्तक लगायत बालबालिकासँग सम्बन्धित सामग्रीका ५० वटा भन्दा धेरै स्टलहरु राखिएका छन् । महोत्सवको उद्घाटन कार्यक्रममा बालबालिकाहरुले विभिन्न झाँकीका साथै गीत तथा नृत्यहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा बालबालिकाहरुको उल्लेख्य सहभागिता थियो ।
प्रतिक्रिया