Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
गतिविधि

अंग्रेजी र कम्प्यूटर शिक्षाका लागि अक्षयकोष अभियान सहित रजत महोत्सव

मंगलबार, २५ माघ २०७३

तेह्रथुम - ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको रजत महोत्सव मंगलबारबाट सुरु भएको छ । “गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्युटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थक बनाउन अक्षयकोष अभियान सहित रजत महोत्सव शुरु भएको हो ।  

विभिन्न साँस्कृतिक झाँकीका साथमा जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोख्रेलले २५ वटा पानसमा दीप प्रज्वलन गर्दै महोत्सव उद्घाटन गर्नुभएको छ ।

समारोहमा विद्यालयका प्रधानाध्यापक जयप्रकाश ईङनामले विद्यालयको स्थापना कालदेखि वर्तमान सम्मको शैक्षिक, भौतिक र आर्थिक अवस्था सहितको  प्रगती प्रतिवेदन पेस गरेका थिए । सोही अवसरमा विद्यालयका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो ।

महोत्सवलाई सम्बोधन गर्दै जिल्ला शिक्षा अधिकारी पोख्रेलले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएकाले पराम्परागत शैलिबाट भन्दा आधुनिक प्रविधि सहितको शिक्षामा सबै विद्यालयहरुले पठनपाठन गर्नुपर्ने उल्लेख गरे । गुणस्तरीय र व्यावहारिक शिक्षा अहिलेको आवश्यकता भएकाले यसलाई सार्थकता बनाउन प्रविधियुक्त शिक्षा व्यावस्थापन भएमात्र शैक्षिक जगतमा परिर्वतन आउने जिल्ला शिक्षा अधिकारी पोख्रेलले बताए ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामको सभापतिमा संचालित समारोहमा विभिन्न विद्यालयका प्रधानाध्यापक, संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले विद्यालयलाई शुभकामना दिएका थिए ।
२०४८ सालमा स्थापित विद्यालयले आयोजना गरेको कार्यक्रममा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु सञ्चालन हुने छ । महोत्सव पाँच दिन सम्म संचालन हुने छ ।

विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा सञ्चालनका लागि स्थापना गरिएको अक्षयकोषमा ४० लाख रुपौया बढी रकम संकलन भएको छ । कोष स्थापनाका लागि कबुल गरेको मध्ये आधाभन्दा बढी रकम दाताहरुले दिईसकेका र बाँकी रकम संकलन हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ

शैक्षिक सत्र २०७० साल देखि नै विद्यालयले २८ सय वाटको सोलार प्रविधि जडान गरि आधाभूत कम्प्यूटर शिक्षा सञ्चालन गर्दै आएको छ । अभिभावकहरुको अंग्रेजी माध्यम प्रति आकर्षण र अभिरुचीलाई मध्यनजर गरेर शैक्षिक सत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ ।

विद्यालयले कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा तीन सम्म अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया