Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

निजी विद्यालयको दादागिरी : विद्यार्थीको पिँडुला तथा साप्रा भरी घाउ र नीलडाम

सोमबार, २४ माघ २०७३

काठमाण्डौं - एक निजी विद्यालयका प्रिन्सिपलले विद्यार्थीमाथि निर्घात कुटपिट गरेर घाईते बनाएका छन् । धुम्बाराहीस्थित लुम्बिनी विगनर्स एकेडेमीका प्रिन्सिपल सुरेश यादवले कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुदिप दाहाललाई कुटेका हुन् । कुटाईबाट दाहालको पिँडुला तथा  साप्रा भरी घाउ र नीलडाम भएको छ ।

आफ्नो छोरोले कुटाई नै खानु पर्ने गरी के गल्ति गरेको हो ? थाह पाउन नसकेको घाईते विद्यार्थीका बावु घनहरी दाहालले बताए ।

'मेरो छोरो पढाईमा पनि राम्रै थियो, बानी बेहोरा पनि राम्रै छ, मरणासन्न हुने गरी किन कुट्न परेको हो थाह पाउन सकिएन' उनले भने, 'मैले त छोरोलाई पढ्न पठाएको हो, यहाँ त शरिर भरी नील डाम बोकेर घर फर्कदाँ कस्तो भयो होला ! तपैंनै भन्नुस् त ?'

रामेछापको बाम्तिका दाहाल केही समय अघि सोही विद्यालयको होस्टेलमा कार्यरत थिए । उनी पछिल्लो समय आफ्नै काम गर्दै आएका बताउँछन् ।

आईतबार विहानी प्रार्थनाका बेला लाईनमा शिक्षकले अह्राएको काम नटेरेको भन्दै यादवले कुटेको छोरोलाई उदृत गर्दै दाहालले बताए ।

'लाईनमा गर्ने एक्सरसाईजको केही स्टेप गर्न नजानेको निउँमा सरले कुट्नु भयो' छोरोलाई उदृत गर्दै उनले भने । 

छोराले कुटाई खाएको थाह पाएपछि विद्यालयमा सम्पर्क गर्दा आफूहरुले 'गर्न नहुने काम गरेको' भन्दै विद्यालयले गल्ति स्विकार गरेको उनले बताए । घटनाबारेमा बुझ्न खोज्दा यादव सम्पर्कमा आउन चाहेनन् । उनले आफूले प्रयोग गर्दै आएको मोवाईल फोन समेत स्विच अफ गरका छन् ।

शिक्षा र बाल अधिकारका क्षेत्रमा कृयाशिल संघ संस्था र ब्यक्तिले घटनाको भत्र्सना गर्दै दोषि माथि कडा कारवाहीको माग गरेका छन् ।  बालअधिकारकर्मी गौरी प्रधानले तत्काल कारवाहीको प्रकृया अघि बढाउन माग गरेका छन् ।

'राष्ट्रिय मानव अधिकार आयोगले सत्य तथ्य पत्ता लगाउन तत्काल अनुगमन गरोस् । केन्द्रिय बाल कल्याण समिति र जिल्ला बाल कल्याण समिति यस बारेमा सजग भएर अगाडी बढोस्' प्रधानले आफ्नो फेसबुकमा लेखेका छन्, 'पिडित बालकको हित र अधिकारको निम्ती आबश्यक उपचार र मनो सामाजिक बिमर्श प्रदान गरियोस् ।'

विद्यालयले सम्वन्धित विद्यार्थी र परिवारसंग क्षमाप्राथी हुँदै, विद्यार्थीलाई परिपुरणको ब्यवस्था गर्दै बाल मैत्री वातावरणको सुनिश्चितता गर्न समेत उनले माग गरेका छन् । उक्त घटनाको बारेमा सामाजिक सञ्जालमा विरोध भईरहेको छ ।

प्रतिक्रिया