पोखरा - शिक्षकहरुको अभिलेख राख्ने निकाय विद्यालय शिक्षक किताबखानाको स्थापना भएको दिनलाई शिक्षक अभिलेख दिवसका रुपमा मनाउन पश्चिमाञ्चल क्षेत्रका जिल्ला शिक्षा अधिकारीहरुले सरकार समक्ष सिफारिस गरेका छन् । क्षेत्रीय शिक्षा निर्देशनालयले पोखरामा गरेको अभिमुखिकरण तालीम पछि शनिबार जारी पोखरा घोषणा पत्रमा जिशिअहरुले दिवस सिफारिस गर्ने बुँदा समेत समाबेश गरेका हुन् । उक्त घोषणा पत्रमा अवकासको समय भएर पनि जागिर खाईरहेका शिक्षकको संख्या अद्यावधिक गरी जरिवाना तिर्ने क्रम कम गर्ने बारेमा पनि उल्लेख गरिएको छ ।
'शिक्षकको अभिलेख ब्यवस्थित रुपमा राख्ने, तीनको परिवार समेतलाई आर्थिक सुविधा उपलब्ध गराउन र यसलाई थप सामयिक र वैज्ञानिक बनाउन विद्यालय शिक्षक किताबखाना स्थापना भएको दिनलाई शिक्षक अभिलेख दिवसका रुपमा मनाउन, चीर स्थायी राख्न विद्यालय शिक्षक किताबखाना मार्फत् नेपाल सरकारमा सविनय सिफारिस गर्दछौं' उक्त घोषणा पत्रमा भनिएको छ ।
उक्त घोषणा पत्र जारी गर्ने कार्यक्रममा उपस्थित किताबखानाका महानिर्देशक शेर बहादुर ढुङ्गानाले ज्ञानको ज्योति छर्ने शिक्षकको सम्मानका लागि दिवसको अवधारणा आएको बताए ।
'जिवनभर शिक्षाका माध्यामबाट समाजका ज्ञान छर्ने शिक्षकको विवरण राख्ने निकाय हो किताबखाना त्यसको स्थापना दिवसका दिन शिक्षकलाई नै सम्मान पुग्ने गरी दिवस मनाउने भन्ने अवधारणा आएको छ' उनले भने, 'अहिले शिक्षकहरुको विवरण अद्यावधिक हुन सकिरहेको छैन, कति सम्म भने अवकास भएर पेन्सन पट्टा बनाउन जाँदा धेरै अवधि जागिर खाएको फेला पर्ने र जरिवाना तिर्नु पर्ने अवस्था छ, यस्ता कार्यक्रमले त्यस्ता शिक्षकमा थप चेतना बढ्ला भन्ने अपेक्षा गरिएको छ ।'
किताबखानाको स्थापना २० बर्ष अघि चैत २६ गते भएको थियो । स्थापनाको १९ बर्षका अवसरमा किताबखानाले गत बर्ष शिक्षकलाई सेवा निवृत्त परिचय पत्र वितरणको काम शुरु गरेको थियो । तत्कालिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संखुवासभाका सेवा निवृत्त शिक्षक ८१ बर्षीय रोहिणी प्रसाद खनाललाई परिचयपत्र वितरण गरेर उक्त कार्यको सुरुवात गरेका थिए ।
अहिले सम्म किताबखानाले १७ सय ५५ शिक्षकलाई उक्त परिचयपत्र वितरण गरिसकेको छ ।
प्रतिक्रिया