Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

दुई वर्षपछि विद्यार्थी नामांकन

आइतबार, २३ माघ २०७३

काठमाडौं २३ माघ/गत दुई वर्षदेखि नयाँ विद्यार्थी भर्ना गर्न रोक लगाइएको जानकी मेडिकल कलेज, रमदैया (जनकपुर) मा चालू शैक्षिक सत्रमा ८० विद्यार्थीले नामांकन गराएका छन् ।

मेडिकल कलेजको अनुगमन तथा निरीक्षणको जिम्मेवारी पाएको चिकित्साशास्त्र अध्ययन संस्थान तथा नेपाल मेडिकल काउन्सिलले कलेजको शैक्षिक तथा भौतिक पूर्वाधारको हवाला दिंदै गत दुई शैक्षिक सत्रमा कलेजलाई नयाँ विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो ।
पुन: नामांकन गर्न अनुमति प्राप्त भएको पहिलो वर्ष नै कोटाबमोजिम ८० विद्यार्थीले नामांकन गराएको प्रमुख कार्यकारी (सीईओ) रतिशचन्द्रलाल कर्णले जानकारी दिए । यद्यपि नामांकन गर्ने अन्तिम दिन पुस २९ गते मध्यरातिसम्म प्राविधिक कारणले ९ विद्यार्थीको नामांकन फर्म सम्बिन्धित निकायसम्म पुग्न नसकेको उनले बताए । ‘हामीले प्राविधिक कारणले फर्म पुग्न नसकेका ९ विद्यार्थीको नामांकन गर्न अनुमति मागेका हौं । आशा गरौं अनुमति प्राप्त हुन्छ,’ प्रमुख कार्यकारी कर्णले कान्तिपुरसँग भने  चिकित्साशास्त्रमा नामांकन गराएका ८० विद्यार्थीमध्ये एकजनामात्र भारतीय विद्यार्थी भएको कर्णले जानकारी दिए । उक्त कलेजमा झन्डै आधा भारतीय विद्यार्थी हुने गरेका थिए । भारतमा भएको नोटबन्दीका कारण भारतीय विद्यार्थीले नामांकन गराउन नसकेको उनले बताए ।
जानकी मेडिकल कलेजका पूर्वसञ्चालक समितिका अध्यक्ष ओपी पाण्डेसहितका अन्य व्यवस्थापकले कार्यरत कर्मचारीहरूको तलब भत्ता नियमित रूपमा भुक्तान नगर्दा विगत दुई वर्ष क्याम्पस अस्तव्यस्त बनेको थियो । शिक्षक तथा कर्मचारीको पटक–पटकको हडतालका कारण चर्को शुल्क तिरेर चिकित्साशास्त्र अध्ययन गर्न आएका विद्यार्थीको अधिकांश समय आन्दोलनमै बितेको थियो । पूर्वसञ्चालकमध्ये केहीमाथि अझै पनि ठगी मुद्दा चल्दैछ । केही जमानतमा रिहा भएका छन् ।
तर २०७२ साल असार २७ गतेदेखि केपी पाण्डेसहितका अधिकांश सञ्चालकले हरिमान लामा तथा प्रभु बैंकका सञ्चालकलाई बिक्री गरेका थिए । हरिमान लामा, प्रभु बैंक समूहका देवी भट्टचन तथा पूर्वसञ्चालकसमेत रहेका कामेश्वर साहसहितको सञ्चालक समितिले कलेजको भौतिक पूर्वाधारमा उल्लेख्य सुधार गरेपछि चालू शैक्षिक सत्रदेखि नयाँ विद्यार्थी भर्ना गर्ने अनुमति प्राप्त भएको कलेजका प्रमुख कार्यकारी रतिशचन्द्रलालले जानकारी दिए ।
कर्णका अनुसार रमदैयास्थित मेडिकल कलेज तथा जनकपुरको ब्रह्मपुरीमा रहेको सिटी हस्पिटलमा गरी हाल ५ सय ३० शय्या सञ्चालनमा छ भने आईसीयू, सीसीयू, एनआईसीयू, पीआईसीयू, एसआईसीयूसहित अत्याधुनिक सेवासमेत सञ्चालन गरिएको छ ।


२३ करोड भुक्तानी बाँकी
जानकी मेडिकलका पूर्वअध्यक्ष ओपी पाण्डे नेतृत्वको सञ्चालक समितिले तिर्न बाँकी रहेको २३ करोड अझै पनि भुक्तानी हुन सकेको छैन ।
प्रमुख कार्यकारी रतिशचन्द्रलालले सुरुमा ७/८ करोड बाँकी बक्यौता रहेको अनुमान गरिए पनि हाल २३ करोड अधिक रकमको माग दाबी आएको बताए ।
पुरानो सञ्चालक समितिको दायित्व भुक्तानी गर्न पूर्व र वर्तमान सञ्चालक समिति बसेर छिनोफानो गर्नुपर्नेमा पूर्वसञ्चालकले वास्ता नगरेको स्रोतको दाबी छ । डा.रमानन्द सिन्हा तथा टीका पौडेल लगायतको विशेष पहलमा २०६० सालमा स्थापना भएको जानकी मेडिकल कलेजमा सुरुका ५ शैक्षिक सत्रसम्म ६० विद्यार्थी भर्ना गर्ने कोटा प्राप्त थियो । २०६५ सालमा कोटा वृद्धि भई ७५ पुर्‍याइयो । २०६६ सालमा कोटा बढेर १ सयसम्म पुगेको थियो । २०६९ देखि ८० मा झारिएको कोटा गत दुई वर्षदेखि भने
काटिएको थियो ।

कान्तिपुरमा श्यामसुन्दर शशिले जनकपुरबाट लेखेको खबर ।

प्रतिक्रिया