Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

फुर्मासीमा सकिन्छ छात्रवृत्ति

आइतबार, २३ माघ २०७३

काठमाडौं २३ माघ/सरकारले दलित बालबालिकाको पढाइमा सघाउन उपलब्ध गराउँदै आएको छात्रवृत्ति रकम परिवारले नै फुर्मासी गरिदिने गरेको पाइएको छ । बालबालिकालाई कापीकलम किनिदिनुको साटो खैनीचुरोटदेखि मदिरापानमा सक्ने गरिएको हो । कतिपय अभिभावले त्यही रकम घरायसी सामान किन्न खर्चने गरेका छन् ।

तिवारीभन्ज्याङकी सीता विकका तीन सन्तान विद्यालय जान्छन् । स्थानीय तिवारीभन्ज्याङ माविमा दुइटी छोरी ५ र १ कक्षा तथा छोरा ३ कक्षामा पढ्छन् । जनही चार सयका दरले विकको घरमा वार्षिक १ हजार २ सय रुपैयाँ आउँछ । तर, यो सबै पैसाले कापीकलम किनिँदैन, घरखर्चमा पनि त्यही प्रयोग गरिन्छ । ‘आउने बाटो हुन्न, धेरै छोराछोरी भएपछि अलि धेरै नै आउँछ, भएका बेला टालटुल गर्नर्ैपर्‍यो नि,’ विकले भनिन् । नुन, तेल, साबुन किन्न बालबालिकाको रकम खर्चने गरेको उनले बताइन् ।
सरकारले शिक्षामा समावेशी सहभागिताका लागि दलित समुदायको शैक्षिक गुणस्तर उकास्न प्रोत्साहन कार्यक्रम ल्याए पनि प्रभावकारी हुन सकेको छैन । दलित समुदायको दयनीय आर्थिक अवस्था पनि यसको कारण देखिएको छ । विद्यालयमा पढ्न र शैक्षिक सबलतामा उत्प्रेरणा दिनका लागि दिइने छात्रवृत्ति अभिभावकले घरखर्च, मदिरापान, धूमपानमा खर्च गरिदिन्छन् । दुर्गम क्षेत्रमा यो प्रवृत्ति झन् विकराल छ । ‘दलित समुदायमा पनि धनी र गरिबको ठूलो खाडल छ, यसैकारण उद्देश्यअनुसार छात्रवृत्ति सदुपयोग हुन सकेको छैन,’ जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले बताए ।
कार्यालयले प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन अभिभावककै रोहबरमा शैक्षिक सामग्री खरिदका लागि रकम वितरण गरिँदै आएको जनाएको छ । त्यस क्रममा अभिभावकलाई उक्त रकम बालबालिकाको पढाइमै खर्चन सचेत पनि गराइन्छ । तर, व्यवहारमा भने कार्यान्वयन हुँदैन । जिशिकाको तथ्यांकअनुसार आव २०७२/०७३ मा आधारभूत तह (१–८ कक्षा) का ४ हजार १ सय १४ र मावि तहका ३ सय ९८ जना दलित विद्यार्थीलाई गरी १८ लाख ४ हजार ८ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ । आधारभूत तहकाले जनही ४ सय र मावि तहकाले ५ सयका दरले पाउँदै आएका छन् ।

विद्या राईले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया