Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

तीस हजार तिरे थेसिस हातमा

शनिबार, २२ माघ २०७३

काठमाडौं २२ माघ / ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य कलेजवरिपरि थुप्रै स्टेसनरी पसल छन्। विद्यार्थीलाई शैक्षिक सामग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर शोधपत्र (थेसिस) समेत उपलब्ध गराउने गरेका छन्।

नागरिककर्मी महेन्द्ररत्न, त्रिचन्द्र र रत्नराज्य कलेजवरिपरिको स्टेसनरी पसल पुगेको थियो। पसलमा थेसिसका केही नमुना राखिएका थिए। त्यहाँ लेखिएको थियो टाइपिङ, सेटिङ र हार्ड वाइन्डिङ गरिन्छ। तर, पसलमा अर्कै वातावरण देखिन्थ्यो। त्यहाँ आउने विद्यार्थीले थेसिस कति रकममा पूरा गराइन्छ भनी बार्गेनिङ गरिरहेका थिए। पसले र विद्यार्थीबीचको संवाद यस्तो थियो–

विद्यार्थी :  दाइ, जनसंख्या  विषयको मास्टर्सको थेसिस गर्न के गर्नुपर्छ?

पसले :  केही गर्नुपर्दैन। ३० हजार बुझाएमा थेसिस हातमा आइहाल्छ।

विद्यार्थी :  मसँग केहि तयारी छैन। टपिक्स पनि छैन, के गर्ने?

पसले :  टपिक्ससहित चाहिएमा ३५ हजार खर्च गर्नुपर्छ।

पसलेले त्रिभुवन विश्वविद्यालयका ख्यातिप्राप्त प्राध्यापकसमेत  आफ्नो सम्पर्कमा रहेको र उनीहरूको हस्ताक्षरसहितको मेडिकल विषयको थेसिस ४५ हजारमा उपलब्ध गराउने बताउँदा ती विद्यार्थी छक्क परे।

विद्यार्थीले अध्ययन गरेर जान्नेभन्दा जसरी पनि शैक्षिक योग्यताको प्रमाणपत्र हात पार्न खोज्ने र पढाउन मेहनत नगर्ने शिक्षकका कारण थेसिस झारा टाराइमा सीमित बनेको शिक्षाविद्  प्रा.डा. तीर्थ पराजुलीको अनुभव छ।

साढे दुई वर्षअघि त्रिविको शिक्षा शास्त्र संकायमा पाठ्यक्रम तथा मूल्यांकन विषयको स्नातकोत्तर तहका लागि उनी आफैं शोध निर्देशक बन्दा विद्यार्थीले अर्काको थेसिस सारेर बुझाउन खोजेको भेटेको बताए। उनले नक्कल गरिएका थेसिस पास नगर्दा विद्यार्थीबाट आलोचना सुन्नुपरेको सुनाए।

के हो थेसिस?

शिक्षाविद् पराजुलीका अनुसार शोधपत्रले विद्यार्थीलाई सिर्जनात्मक अनुसन्धानकर्ता बनाउँछ। एक सय वा ५० नम्बर पूर्णांकको शोद्यपत्र विद्यार्थीले अध्ययन अनुसन्धान गरेर तयार पारे भने उनीहरु स्वतन्त्र अध्ययनकर्ता हुने उनको भनाइ छ। 'विद्यार्थीलाई सिर्जनात्मक, मेहनती र खोजकर्ता बनाउने उद्देश्यसहित विश्वविद्यालयले थेसिसको अवधारणा ल्याएको हो,' पराजुलीले नागरिकसँग भने, 'विद्यार्थीलाई स्वतन्त्र रुपमा काम गर्न र विषयगत व्यावहारिक ज्ञान दिन्छ शोधपत्रले। तर, शिक्षकमा गहिरो अध्ययनको कमी र विद्यार्थीको बसीबसी अध्ययन पूरा गर्ने गलत प्रवृत्तिका कारण झारा टार्न थेसिस गराइन्छ।'

त्रिविमा बायोटेक्नोलोजीका सहप्राध्यापक गिरिराज त्रिपाठीका अनुसार विद्यार्थीले अध्ययन गरेको विषयवस्तुबारे अनुसन्धान गरेर व्यवहारमा उतारी सक्षम बनाउने काम शोधपत्रले गर्छ। अनुसन्धानबिना देश विकास हुन सक्दैन तर विश्वविद्यालय र कलेजवरिपरि प्राध्यापककै मिलेमतोमा थेसिस बनाउने र बिक्री गर्ने अनैतिक काम भइरहेको सरोकारवालाको ठहर छ।

किन बढ्यो थेसिसमा विकृति?

मानविकी शास्त्र संकायका सहायक डिन निमलकुमार शर्माका अनुसार विश्वविद्यालयमा बौद्धिक चोरी मापन गर्ने संयन्त्र बनाउन नसकेका कारण विद्यार्थी र शिक्षक दुवैमा थेसिस अध्ययन अनुसन्धानको विषयभन्दा सार्ने र चोरी गर्ने विकृति बढ्दै गएको हो।

वार्षिक प्रणालीमा सञ्चालित विषयका शोधपत्रमा सारेको र शिक्षकले पनि सहजै स्वीकार गरेको गुनासो आउने गरेको उनले बताए। 'दुई वर्षको स्नातकोत्तर तहमा थेसिसका लागि ६ महिना समय दिएको हुन्छ,' शर्माले भने, 'एक निर्देशकसँग १५–२० विद्यार्थी हुन्छन्। निर्देशकलाई पनि विद्यार्थी देखेर झर्को लाग्छ भने विद्यार्थीले पनि निर्देशकलाई टेर्दैन।' उनले थपे, 'विद्यार्थीले छानेको विषयबारे छाननि र चेक गर्नसमेत निर्देशकले भ्याउँदैन। यसले गर्दा थेसिसमा विकृति बढ्दै गएको हो।' उनका अनुसार त्रिविका प्राध्यापकले अन्यत्र बढी समय दिने भएकाले पनि विद्यार्थीलाई संवेदनशील भएर अध्ययनअनुसन्धान गराउन सक्दैनन्।

उनले भने, 'थेसिसको विकृतिबारे धेरै गुनासा आउन थालेपछि विश्वविद्यालयले छानबिन गर्न एक समिति नै गठन गरी काम अघि बढाएको छ।'

समितिको संयोजकमा भूगोल केन्द्रीय विभागका प्रा.डा. भीमप्रसाद सुवेदी छन्। सुवेदीको संयोजकत्वमा पाँच सदस्सीय छानबिन समिति गठन भएको त्रिवि प्रवक्ता भोला ढकालले बताए। समितिले काम अघि बढाएको सदस्यसमेत रहेका सहप्राध्यापक  त्रिपाठिले बताए। उनका अनुसार समितिले विकृति नियन्त्रण गर्न संयन्त्र बनाउने सुझाव दिने तयारी गरिरहेको छ। 'हाल समितिले विश्वविद्यालयका पदाधिकारीसँग रायसुझाव लिने काम गरिरहेको छ,' त्रिपाठिले भने, 'मेडिकल विषयको समेत थेसिस बिक्री हुनु शिक्षामा देखिएको विकृतिको विकराल रुप हो।' विकृति चर्को देखिएपछि थेसिस नै हटाएर त्यसको विकल्प खोज्नुपर्ने सुझावसमेत दिने समितिको तयारी छ।

नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया