ललितपुर - मन्त्री भएपछि सधैं झण्डावाल गाडिमा हुईकिने शिक्षा मन्त्री धनिराम पौडेल शुक्रबार भिन्दै कारमा हुईकिएँ । न सुरक्षा गार्ड ! न त सिंहदरवारको यात्रा !
मन्त्री चढेको सेतो रँगको उक्त कारको अघिल्तिरको भागमा राष्ट्रिय झण्डाको चित्र भएपनि कारको अघिल्तिर सँधै जसो फरफराउने झण्डा भने थिएन ।
मन्त्री पौडेल मुसुमुसु हाँस्दै चढेको उक्त कार इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकमा अध्ययनरत मेकानिकल इन्जिनियरिङ्ग संकायका विद्यार्थीले निर्माण गरेको कार हो । अवसर हो सातौं राष्ट्रिय इन्जिनियरिङ्ग प्रदर्शनीको ।
आफैले निर्माण गरेको चार चक्के सोलार हाइब्रिड कारमा मन्त्री चढे पछि विद्यार्थी पनि खुसि देखिन्थे । उनीहरुले मन्त्री पौडेललाई संस्थान परिसर घुमाए ।
प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री पौडेलले अध्ययनबाट प्राप्त ज्ञानलाई विद्यार्थीले प्रदर्शनीको माध्यमबाट व्यवहारमा उतार्ने प्रयास गरेको भन्दै प्रशंसा गरे । मुलुकको तिब्रतर आर्थिक विकासको लागि विज्ञान प्रविधिको विकासमा लगानी बृद्धि गर्नुपर्नेमा उनको जोड थियो । शिक्षालाई श्रम, उत्पादन, विज्ञान र रोजगारसँग जोड्न सके मुलुक चाँडै सम्बृद्ध हुने भन्दै मन्त्री पौडेलले त्यसको लागि प्राविधिक धारको शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताए ।
मेकानिकल इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुको संस्था सोसाइटी अफ मेकानिकल इञ्जिनियरिङ्गको आयोजनामा शुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।
कार्यक्रममा इञ्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्रा. डा. त्रिरत्न बज्राचार्यले प्राविधिक तथा शैक्षिक विकासका लागि संस्थानले विद्यार्थीलाई सबै ढंगले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया