भक्तपुर - अब देखि शिक्षकको तलब चौमासिक रुपमा विद्यालयलाई उपलब्ध गराईने र विद्यालयले मासिक रुपमा शिक्षकलाई दिने ब्यवस्था गरिने भएको छ । सोही अनुसार चौमासिक तलब भत्ता बुझ्दै आएका शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउन शिक्षा विभागले आवश्यक आधार तय गरी जिल्ला शिक्षा कार्यालयलाई ३ बुँदे परिपत्र सहित निर्देशन दिएको छ ।
शिक्षा मन्त्रालयले मासिक तलब उपलब्ध गराउने निर्णय गरेसँगै विभागले त्यसको आधार तय गर्न आन्तरिक गृहकार्य गरेको थियो । सोही आधार अनुसार विद्यालयले शिक्षकलाई मासिक रुपमा तलब दिने गरी ब्यवस्था मिलाउन विभागले सबै क्षेत्रीय र जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको छ ।
साउन महिनाको शुरुमै विद्यालयहरुबाट माग फारम संकलन गर्न विभागले जिशिकाहरुलाई निर्देशन दिएको छ । साउनको अन्त्यसम्ममा प्रथम चौमासिक अवधिको शिक्षकको तलब निकासा गर्ने तथा दोश्रो र तेश्रो चौमासिक अवधिको पनि सोही तरिकाले माग फारम प्राप्त गरी उक्त चौमासिकको शुरु महिनामै तलब निकासाको ब्यवस्था मिलाउन विभागले जिशिकालाई निर्देशन दिएको हो । निकासा प्राप्त गरेको रकमबाट विद्यालयले शिक्षकलाई मासिक रुपमा तलब भुक्तानीको ब्यवस्था मिलाउन विभागले निर्देशन दिएको छ ।
'चौमासिक अवधि नलाग्दै तत् तत् अवधिको माग फारम प्राप्त गरी उक्त चौमासिक अवधिको सुरु महिनामै तलब निकासाको ब्यवस्था मिलाउने' विभागले जिशिकालाई दिएको निर्देशनमा भनिएको छ, 'निकासा प्राप्त गरेको रकमबाट विद्यालयले शिक्षकलाई मासिक रुपमा तलब भुक्तानीको ब्यवस्था मिलाउने ।'
सरकारी कोषबाट तलब खाने भएपनि निजामती र जंगी कर्मचारीले महिनै पिच्छे तलब पाउँदा शिक्षकहरु भने चौमासिक तलब बुझ्न बाध्य थिए ।
उक्त विभेद अन्त्य गर्न शिक्षकहरुको मासिक तलब भुक्तानीका लागि गत पुस ३ गते शिक्षा मन्त्रालयले औपचारिक निर्णय गरेको थियो ।
शिक्षकलाई मासिक रुपमा तलब खुवाउनका लागि के कस्ता उपायहरु गरेको खण्डमा सहज हुन्छ ? भनेर विभागले आन्तरिक रुपमा छलफल गरेर यो आधार तय गरेको जनाईएको छ । मन्त्रालयबाट निर्देशक आए पनि शिक्षकलाई मासिक रुपमा तलब खुवाउन सकिने÷ नसकिने विषयमा गहन अध्ययन गर्नु पर्ने भन्दै विभागले केही समय अध्ययन गरेर मात्रै मन्त्रालयमा आफ्नो राय–सल्लाह पेश गर्ने जनाएको थियो ।
प्रतिक्रिया