Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

खाली खुट्टै विद्यालय

शुक्रबार, २१ माघ २०७३

काठमाडौं २१ माघ/चण्डीभन्ज्याङ ४ स्थित ठाडो खोलाका कुशल चेपाङ ८ वर्षका भए । उनको खुट्टामा अहिलेसम्म चप्पल परेको छैन । घरायसी कामले पाखापखेरा चहार्दा होस् वा पढ्न जाँदा, खाली खुट्टै हिँड्नुको विकल्प हुँदैन । घरछेउमै रहेको बालविकासमा पढ्ने उनीसित किताबकापी र कलमसमेत छैन ।

घरमा खानेकुरा भए खान्छन्, नभए खाली पेट नै पढ्न दौडन्छन् । फाटेको टिसर्ट र कट्टुको भरमा जाडो छल्न बाध्य छन् । ‘जाडोमा आगो बालेर सुत्ने हो,’ उनले भने, ‘लाउने छैन, ओड्ने लुगा सबैलाई पुग्दैन ।’ घर भूकम्पले भत्किएको छ । बाबुआमासहित परिवारमा ८ जना छन् । कोही छाप्रो त कोही बाख्राको खोरमा सुत्छन् । ‘यो लुगा पनि सहरतिरका मान्छेले दसैंमा दिएका हुन रे,’ उनले भने, ‘फाटिसक्यो, लाउने अरू छैन ।’
यस क्षेत्रका अधिकांश बालबालिकाको अवस्था यस्तै छ । परिवारसँग कापी, कलम किनिदिन सक्ने हैसियत छैन । चप्पल र लुगा त झन् परको कुरा । एउटै लुगाको भरमा वर्ष दिन धान्नुपर्ने बाध्यता छ । अघिपछिभन्दा जाडोमा बालबालिका बढी प्रभावित हुन्छन् । उनीहरू सकेसम्म पढ्न जान मान्दैनन् । शिक्षक घरैघरै पुगेर ल्याउनुपर्ने बाध्यता छ ।
बालविकासमा २५ जना भर्ना भएका छन् तर उपस्थित भने मुस्किलले १२ जनाजति हुन्छन् । त्यहाँ पढ्ने सबैजसो चेपाङ बालबालिका हुन् । उनीहरू ३ देखि ८ वर्ष उमेर समूहका छन् । बालविकासकी शिक्षिका हुन् अस्मिता गुरुङ । अहिले उनी बिदामा रहेकाले भाइ विकासले कक्षा चलाउँदै आएका छन् । ‘पहिले खाजा व्यवस्था हुँदा पढ्न आउने धेरै हुन्थे,’ उनले भने, ‘अहिले छैनन्, भोकभोकै पढ्न आउन मान्दैनन् ।’ बालविकासभन्दा उपल्लो तहको विद्यालय नजिकमा छैन । कम्तीमा तीन घण्टा हिँडे मात्र पुगिन्छ । त्यसैले विद्यालय जाने उमेर हुँदा पनि उनीहरू बालविकासमा अल्झिइरहन बाध्य छन् ।
चिसोमा पाल ओछ्याएर पढाउने गरिएको छ, डेस्क–बेन्च छैनन् । ‘पढ्न आउने सबै चेपाङ बालबालिका छन्,’ विकासले भने, ‘उनीहरूले आर्थिक अवस्था राम्रो छैन, त्यसैले कापीकलम किन्न सक्दैनन्, यत्तिकै पढाउँदै आएका छौं ।’ न्यानो लुगा नभएकै कारण पढ्न जाने बालबालिका जाडोयाममा घाम लागेपछि मात्र घरबाट निस्कन्छन् । ‘न्यानो लुगा नभएकाले जाडोमा पढ्न सक्ने अवस्था छैन,’ बालविकास केन्द्र सञ्चालन समितिका सचिव सुकबहादुर चेपाङले भने, ‘सबैलाई गरिबीले सताएको छ, खान छैन, लाउन छैन, अभिभावकलाई सन्तान पढाउनुपर्छ भन्ने ज्ञान पनि छैन ।’

कान्तिपुरमा विमल खतिवडाले चितवनबाट लेखेको खबर ।

प्रतिक्रिया