Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

विद्यालय बन्द गर्ने निर्णय

शुक्रबार, २१ माघ २०७३

काठमाडौं २१ माघ/जिल्ला शिक्षा कार्यालयको अनुमतिबिना शुभतारा स्कुलले वैशाखबाट कक्षा १ देखि ३ सम्म सञ्चालन नगर्ने र सानेपामा रहेको विद्यालय बन्द गर्ने भन्दै अभिभावकलाई पत्र पठाएको छ । शुभताराको सानेपा स्कुल बन्द गर्ने निर्णयले तल्लो कक्षामा भर्ना भएका विद्यार्थी र तिनका अभिभावक मारमा परेका छन् ।
विद्यालयको बोर्ड बैठकले सानेपामा चलिरहेको १ देखि ४ सम्मको कक्षा बन्द गर्ने तर कक्षा ४ को पढाइ भने लामाटारस्थित विद्यालयमा गर्ने निर्णय गरेको विद्यालयका सिनियर एकेडेमिक सुभरभाइजर उदित पौडेलले बताए ।

ललितपुरका शिक्षा अधिकारी दिलनाथ पुरीले अनुमति लिएर सञ्चालन गरेको विद्यालयले आफूखुसी बन्द गर्न नपाइने बताए । ‘विद्यालयको कक्षा बन्द गर्ने हामीलाई जानकारी दिएको छैन,’ उनले भने, ‘हाम्रो अनुमतिबिना कक्षा बन्द गर्ने भन्दै अभिभावक र विद्यार्थीलाई आतंक फैलाउन मिल्दैन ।’
विद्यालयको निर्णयले कक्षा १ बाट २ मा पुग्ने र २ बाट ३ मा जाने विद्यार्थीले अन्यत्र विद्यालय खोज्नु पर्ने भएको छ । ‘अघिल्लो वर्ष भर्ना हुँदै विद्यालय बन्द गर्ने भनेको भए हुन्थ्यो,’ एक अभिभावकले भने, ‘व्यवस्थापन पक्ष राम्रो छ भनेर विश्वास गरियो । अहिले आकस्मिक रूपमा पत्र पठाएपछि निराश बनायो ।’
राम्रा भनिएका विद्यालयमा कक्षा १ र ६ मा मात्रै नयाँ विद्यार्थी भर्ना लिन्छन् । यस्ता विद्यालयले कक्षा २ र ३ मा खासै भर्ना लिँदैनन् । विद्यालयको ठाउँ सानो, बस राख्ने ठाउँको अभाव, स्थानीयको विरोध जस्ता कारण देखाएर बन्द गर्ने निर्णय भएको अभिभावकलाई पठाइएको पत्रमा उल्लेख छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया