काठमाडौं २१ माघ/कांग्रेसले कुनै पनि हालतमा स्ववियु निर्वाचन गर्नुपर्ने भन्दै उमेर हदको विषय उठाएर वातवरण नबिथोल्न आफ्ना विद्यार्थी नेताहरूलाई निर्देशन दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले नेविसंघको केन्द्रीय नेतृत्वलाई एक मतका साथ निर्वाचनमा प्रतिस्पर्धा गर्न निर्देशन दिएका हुन् ।
स्ववियु निर्वाचनको विषयमा कांग्रेस पदाधिकारी, नेविसंघ र उपत्यकाका वर्तमान र निवर्तमान क्याम्पस इकाई अध्यक्षहरूको संयुक्त बैठक बिहीबार बसेको थियो । बैठकले नेविसंघको ०३६ सालको आन्दोलनबाट स्थापित स्ववियुको ऐतिहासिक क्षण स्मरण गर्दै लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिविले प्रकाशित गरेको कार्यतालिकाअनुसार जाने निर्णय गरेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए ।
‘त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित गरिसकेकाले उमेर समूह प्रणालीबारे कुनै द्विविधामा नरहेर हाल लागू गरेको विधि र विधान अनुसार प्रजातान्त्रिक पद्धति संरक्षण गर्न एक मतका साथ चुनावमा जान पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । देउवाले अब कुनै द्विविधामा नरही शैक्षिक रूपान्तरण, गुणस्तरीय र व्यावहारिक शिक्षा एवं संविधान कार्यान्वयन गर्न नेविसंघलाई स्ववियु निर्वाचनमा बहुमतले विजय गराउन निर्देशन दिएका छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया