Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
गतिविधि

विद्यार्थीले बनाएका सामग्री सहित मेला

विहीबार, २० माघ २०७३

भक्तपुर - ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको भक्तपुरको चाँगुनारायण परिसरमा एकदिने शैक्षिक मेला भएको छ । चाँगुनारायण परिसरस्थित चम्पक विद्यापीठले सो शैक्षिक मेला गरेको हो । विद्यार्थीहरुमा रहेको विभिन्न प्रतिभाको उजागर गर्ने उद्देश्यले विद्यालयले शैक्षिक मेलाको आयोजना गरेको विद्यालयका प्रिन्सिपल रमेश सुवालले बताए ।

‘विद्यालय भिन्न भिन्न प्रतिभा भएका विद्यार्थीको संगमस्थल भएकोले विद्यार्थीको प्रतिभा पहिचान गर्नु र प्रतिभा प्रस्फुटन गर्न दिनु विद्यालयको जिम्मेवारी भएकोले शैक्षिक मेला गरेका हौं ।’ प्रिन्सिपल सुवालले भने ।
मेलामा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न शैक्षिक सामग्रीहरुको प्रदर्शन गरिएको थियो । मेलामा विद्यार्थीले बनाएका रोबोट, टेलिस्कोप, पानीबाट चल्नले रकेट, हावाबाट चल्ने पानीजहाजलगायत

शैक्षिक सामग्रीहरुका्े शिक्षक, विद्यार्थी, अभिभावक र सर्वसाधारणले अवलोकन गरेका थिए । चाँगुनारायणको सिन्दुरख्वा पोखरीमा आयोजित सो मेलामा विद्यार्थीले विभिन्न गीतमा आफ्नो नृत्य प्रस्तु गरेका थिए भने सोही अवसरमा पुस्तक प्रदर्शनी पनि गरिएको थियो । आयोजक विद्यालयका अनुसार मेलामा विभिन्न ३०वटा शैक्षिक स्टलहरू रहेका थिए । ‘मेलामा विद्यार्थीद्वारा निर्मित रोबोट, स्वचालित पानीजहाज तथा रकेटले धेरैको ध्यान तानेको थियो ।’ प्रिन्सिपल सुवालले भने ।

विद्यार्थीद्वारा निर्मित रोबोट चलाएर संस्थागत विद्यालय संघ नेपाल (इसान)का अध्यक्ष प्रेमजन थापाले गरेको मेलामा दोलागिरी उच्च माविका सह प्राचार्य गौरीशंकर केसी, हिमालयन ग्लोरी स्कूलका प्रिन्सिपल कृष्णराम त्वायनाबासु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रधरान्द राजोपाध्याय लगायतले बोलेका थिए । सोही अवसरमा १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा उसु खेलमा रजत पदक विजेता सुस्मिता तामाङलाई पनि सम्मान गरिएको थियो ।

मेलाका वक्ताहरुले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्न शैक्षिक मेलाको आयोजना गरेकोमा खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया