Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
गतिविधि

विद्यालय पुनःसंरचना एकाइ स्थापनाको माग

विहीबार, २० माघ २०७३

काठमाडौं - भूकम्पका कारण क्षतीग्रस्त विद्यालय निर्माण प्रयोजनका लागि शिक्षा मन्त्रालयमा छुट्टै एकाइ स्थापना गर्न शिक्षा र बालबालिकाको क्षेत्रमा कार्यरत १४ वटा संस्थाहरुले माग गरेका छन् । भुकम्प गएको डेढ वर्ष वितिसक्दा समेत विद्यालय पुनःसंरचना र पुनःनिर्माणले गति लिन नसकेकोमा आपत्ति जनाउँदै उनीहरुले अझै पनि लाखौ बालबालिका अस्थायी सिकाई केन्द्रमा पठनपाठन गर्न बाध्य भएको प्रति गम्भिर हुन समेत मन्त्रालयलाई आग्रह गरेका छन् । भुकम्पबाट प्रभावित सामुदायिक विद्यालयलाई पहिलो प्राथमिकतामा राखि तत्काल कार्य गर्न उनीहरुले माग गरेका छन् ।

विद्यमान नीति तथा निर्देशिकाले नागरिक समाज, गैरसरकारी संस्थाहरुले काम गर्दा बढी समय लाग्ने र समयमै विद्यालय निर्माणमा बाधा पुग्नजाने भन्दै शिक्षा मन्त्रालय भित्र विद्यालयको पुनःसंरचना पर्ने गरी छुट्टै एकाइको स्थापना गरी एकद्वार प्रणालीबाट छिटो कार्य सम्पादन हुने वातावरण मिलाउन समेत आग्रह गरेका छन् ।  

हाल सरकारले विकास गर्न खोजेको टेण्डर प्रणालीबाट विद्यालय निर्माण गर्दा समुदायको अपनत्वको विकास नहुने र यस प्रकारको प्रणालीले निर्माणकार्य अझ ढिलाहुन जाने भन्दै उनीहरुले समुदाय, अभिभावक र स्थानीय निकायलाई परिचालन गरी यथाशिघ्र छिटो सार्वजानिक विद्यालयको पुनः निर्माण गर्न पनि अपिल गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा शिक्षाका लागि राष्ट्रिय अभियान, अन्तराष्ट्रिय गैर सरकारी समुह – शिक्षा कार्य समुह, नेपाल शिक्षक महासंघ, शिक्षा पत्रकार समूह, शिक्षा पत्रकार सञ्जाल, अभिभावक संघ नेपाल, शिक्षकले चाहेमा गर्न सक्छन अभियान, सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ, बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान, कन्सोर्टियम नेपाल, समाहित शिक्षा मञ्च नेपाल, सिआरसि मोनिटरिङ, राष्ट्रिय बाल संरक्षण संजाल र महिला तथा बालबालिका बेचविखन बिरुद्ध सहकर्मी समुह छन् ।

प्रतिक्रिया