भक्तपुर - त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको मिति तोकेसँगै विद्यार्थी संगठनहरुमा चुनावी सरगर्मी शुरु भएको छ । लामो समयको अन्तरालमा आगामी फागुन १४ गतेका लागि घोषित चुनाव कसैले रोक्न नसक्ने विद्यार्थी संगठनका नेताहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालयले कार्यतालिका सार्वजनिक गर्दै आचारसंहिता लागू गरिसकेको अवस्थामा आठ वर्षपछि हुन लागेको उक्त चुनाव कुनै पनि बहानामा नरोकिने उनीहरुले बताएका हुन् ।
पटक पटक घोषणा भएर पनि हुन नसकेको विगतका कारण यस पटक पनि त्यस्तै हुने हो की भन्ने शंकालाई निवारण गर्दै तीन विद्यार्थी सँगठनका नेताहरुले, चुनाव रोक्न खोजिए ठूला तीन विद्यार्थी संगठन एक भएर त्यसको विरुद्ध सघर्ष गर्न तयार रहेको बताएका छन् ।
भक्तपुरमा भएको एक कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने, अनेरास्वीयूका केन्द्रीय उपाध्यक्ष सुनिता बराल र नेविसंघका केन्द्रीय उपाध्यक्ष डिल्लीराज सुवेदीले चुनावको मिति कुनै पनि हालतमा पर नसर्ने बताउँदै निर्वाचनको समयमा एक अर्कामा कुनै पनि किसिमको अवरोध नगर्ने पनि प्रतिवद्धता जनाए ।
अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष न्यौपानेले लागू गरिएको आचारसंहिता पालना गर्न आफ्नो संगठन तयार रहेको जनाउँदै आचारसंहिता उलंघन गर्ने विद्यार्थी संगठनलाई क्याम्पस प्रशासन हाताबाट निकाल्नुपर्ने बताए । उनले लामो समयसम्म हुन नसकेको निर्वाचन मिश्रित प्रणाली र उमेर हद् लागू हुनुलाई खुसीको कुरा भएको पनि बताए ।
यस बर्ष स्ववियू निर्वाचनका लागि उम्मेद्वारको उमेर हद २८ बर्ष तोकिएको छ । विद्यार्थी राजनीतिमा उमेर हद तोक्न नहुने भन्दै नेविसंघ भित्र चर्को विवाद छ । तर नेविसंघका केन्द्रीय उपाध्यक्ष सुवेदीले विद्यार्थी संगठन लोकतान्त्रिक माध्यमबाट निर्वाचन गर्न तयार रहेको बताए ।
कार्यक्रममा अनेरास्वीयूकी केन्द्रीय उपाध्यक्ष बरालले केही विद्यार्थी संगठनहरु आफनो पक्षमा माहोल नआउने डरले आत्तिएको जनाईन् ।
प्रतिक्रिया