Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

आंशिक शिक्षकको प्रश्न – के उत्साहले पढाउने ?

विहीबार, २० माघ २०७३

बाग्लुङ् - धवलागिरी बहुमुखी क्याम्पसका विज्ञान र शिक्षा विभागका पूरै कक्षाहरु आंशिक शिक्षकहरुकै भरमा चलेका छन् । क्याम्पसमा ७४ जना शिक्षकहरु कार्यरत रहेकोमा ३८ जना पूर्णकालीन र ३६ जना आंशिक शिक्षकहरु छन् ।

शैक्षिक सत्र २०६७/२०६८ देखि स्नातक तहमा विज्ञान विषय संचालित भएको क्याम्पसमा विज्ञान विभागमा नौ जना आंशिक शिक्षकहरु कार्यरत छन् । यस्तै शैक्षिक सत्र २०६७/६८ देखि शिक्षा विषयमा स्नातकोत्तर तहको पठनपाठन गराउँदै आएको क्याम्पसमा दुई जना आंशिक शिक्षकहरु कार्यरत छन् ।

उक्त तथ्य क्याम्पसको ५४ औं वार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक उत्सव समारोहमा आंशिक प्राध्यापक संघका सभापति विष्णुप्रसाद चापागाईंले गुणस्तरीय शिक्षा दिने हो भने शिक्षकहरुलाई पूर्णकालीन गर्नुपर्ने माग गरे ।

‘बाँच्नका लागि हामी बाहिर जानुपर्छ, कति दिन पढाउने हो ठेगान छैन ? उनले भने अनि के उत्साहले पढाउने ?’

समारोहमा समय मागेर बोलेका विज्ञान विषय स्नातक दोस्रो वर्षका विद्यार्थी सुरेश शर्माले विज्ञान विषय धेरै महंगो भएको भन्दै एकपटक आफूले दरबन्दी आएको सुनेको तर फि नघटेको गुनासो गरे । त्रिभुवन विश्वविद्यालयले २०७१ कात्तिकमा धवलागिरी क्याम्पसलाई नौ दरबन्दी दिएको थियो तर राजनीतिक खिचलोका कारण क्याम्पसले विज्ञापन गर्न नपाउँदै स्थगन गरेको थियो । त्यतिबेला विज्ञानका लागि ४, मानविकीका लागि ४ र व्यवस्थापनका लागि १ दरबन्दी क्याम्पसले पाएको थियो । कार्यक्रम थपिने तर शिक्षक नदिने हुँदा शैक्षिक कार्यक्रम चलाउन समस्या भएको क्याम्पसको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
समारोहमा प्रस्तुत क्याम्पस प्रमुखको प्रतिवेदन अनुसार क्याम्पस ८६ लाख ९४ हजार ४७० रुपैयाँ ६५ पैसा घाटामा रहेको छ । क्याम्पस स्रोतका अनुसार त्रिविले पूर्णकालिन शिक्षक कर्मचारीको मात्रै तलब भत्ता उपलब्ध गराउने तर स्थानीय कार्यक्रम र अतिरिक्तका लागि रकम उपलब्ध नगराउने हुँदा क्याम्पसले घाटा ब्यहोर्नु परेको हो ।

वार्षिक उत्सवको मूल समारोहमा समाजसेवी, विभिन्न राजनीतिक दल तथा विद्यार्थी संघ संगठनका नेताहरु, पूर्व स्ववियु सभापतिहरु, शिक्षक, कर्मचारीहरुले क्याम्पसलाई शुभकामना दिएका थिए । क्याम्पस प्रमुखको प्रतिवेदनमा शिक्षक ब्यवस्थापन लगायतका चुनौतीका बारेमा उल्लेख भएपनि मूल समारोहको मञ्चलाई राजनीतिक दल र विद्यार्थी संघ संगठनका नेताहरुले स्ववियु निर्वाचनप्रति लक्षित गर्ने थलोका रुपमा प्रयोग गरेका थिए । लामो समयदेखि राजनीतिक गतिविधि शुन्य भएका कारण पनि हुन सक्छ उनीहरुले क्याम्पसको विकास भन्दा धेरै राजनीतिक चर्चा गरे ।

समारोहमा शिक्षक, कर्मचारी र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रतिक्रिया