Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
गतिविधि

त्रिविकै कारण सामुदायिक क्याम्पस समस्यामा

विहीबार, २० माघ २०७३

काभ्रे - उच्च शिक्षाका सरोकारवाला, सञ्चालक तथा क्याम्पस प्रमुखले त्रिभुवन विश्वविद्यालयकै कारण उच्च शिक्षाको गुुणस्तर तथा विद्यार्थी संख्या घटिरहेको आरोप लगाएका छन् ।

जिल्लाको पहिलोे क्याम्पसको रुपमा रहेको काभ्रे बहुमुखी क्याम्पसको ३६ औँ वार्षिक उत्सवकको अवसरमा बनेपामा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले उक्त आरोप लगाएका हुन् ।

कार्यक्रममा क्याम्पस प्रमुख केजी बैदार, क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थ, पब्लिक क्याम्पस संघ काभ्रेका उद्धव लुइँटेल, पूर्व सभासद एवं क्याम्पस सञ्चालक समितिका सदस्य कृष्णप्रसाद सापकोटालगायतले त्रिविले सम्बन्धन दिने तर सम्बन्धन दिएका क्याम्पसहरुको शैक्षिक गुणस्तर विकासका लागि पहल नगर्दा उच्च शिक्षा पनि गुणस्तरीय हुन नसकेको बताए ।

‘त्रिविले एकातिर एक किमीको दूरीमा नै हचुवामा व्यवस्थापन, कला  र शिक्षा संकायका विषयहरुमा कक्षा सञ्चालन गर्न सम्बन्धन दिने तथा अर्कोतिर विज्ञान प्रविधि, आइटी र व्यवस्थापन संकायका बीबीए र एमबीए लगायतका सेमेष्टर प्रणालीका कार्यक्रमहरु सञ्चालन गर्न सामुदायिक क्याम्पसलाई सम्बन्धन दिन आनाकानी गर्ने नीति अवलम्बन गरेको छ, यसले हामीसँग विषयगत शिक्षक नहुँदा शैक्षिक गुणस्तर सोचे जसरी बढाउन सकिएको छैन,’ क्याम्पस प्रमुख बैदारले भने ।

पब्लिक क्याम्पस संंघ काभ्रेका प्रतिनीधि लुइँटेलले प्राध्यापकहरुको वृत्ति विकासका लागि त्रिविले पहल नगरेको बताउँदै प्राध्यापकहरुको प्राध्यापनको अनुगमन गर्नु आवश्यक रहेको बताए ।
सो अवसरमा क्याम्पसले विभिन्न संकायगत रुपमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको थियो ।

सो अवसरमा स्नातकोत्तर तहमा उत्कृष्ट शोधपत्र तयार गरेका तीन विद्यार्थीलाई नगद रु. ४ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा समाजशास्त्रका विद्यार्थी बेला लामा, व्यवस्थापनका विद्यार्थीद्वय जेन बादे र दुर्गा केसी रहेका छन् ।

विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीले सो वार्षिकोत्सवको उद्घाटन तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै शैक्षिक गुणस्तर बढाउनु अहिलेको आवश्यकता रहेको बताएका थिए ।

क्याम्पसमा अहिले प्लस टु, स्नातक र स्नातकोत्तर तहमा गरी कूल १ हजार ५१ विद्यार्थी अध्ययन गरिरहेका र ५० जना शिक्षक कार्यरत रहेको क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया