लमजुङ - शिशु विद्याश्रम मावि, राईनास–६, तिनपिप्लेकी प्रधानाध्यापक नानुमाया पराजुलीले शिक्षा मन्त्री धनिराम पौडेल समक्ष आफ्नो विद्यालयमा पढाईको गुणस्तर र विद्यार्थी संख्या वढाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । बुधबार विद्यालयको ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा आयोजित कार्यक्रममा प्रधानाध्यापक पराजुलीले त्यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
‘अहिले हाम्रो विद्यालयमा ४ सय १२ जना विद्यार्थी पढिरहेका छन् । अबको तीन वर्षपछि हामी विद्यार्थी संख्या वढाएर कम्तिमा ५ सय २० पु¥याउने छौं’, प्रधानाध्यापक पराजुलीले भनिन्, ‘त्यसको लागि पाठनपाठनको गुणस्तर बृद्धि गरिनेछ । विद्यार्थीलाई आकर्षित गर्न पढाईलाई प्रविधि मैत्री र प्रयोगात्मक बनाईनेछ ।’
कार्यक्रममा प्रधानाध्यापक पराजुलीले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेकी थिईन् । त्यसक्रममा उनले विद्यालयमा प्रोजेक्टरको माध्यमबाट पठनपाठन शुरु गरिएको, कक्षा कोठालाई बालबालिका मैत्री बनाइएको जानकारी दिईन् । विद्यालयमा अध्ययनरत विद्यार्थीले झण्डै १० रोपनी जग्गामा तरकारी र फलफूल खेती गरिरहेका भन्दै उनले त्यसबाट विद्यार्थीको सिकाई उपलव्धी समेत वृद्धि भएको बताईन् । कार्यक्रममा उनले विद्यालयको तीन बर्षे शैक्षिक सुधारका योजना समेत प्रस्तुत गरेकि थिईन् ।
कार्यक्रममा शिक्षा मन्त्री पौडेलले शिक्षालाई उत्पादन, श्रम, विज्ञान र रोजगारसँग जोड्न नसक्दा मुलुक सम्बृद्ध बन्न नसकेको बताए । अहिलेसम्मको शिक्षा प्रणाली सामन्ती राज्य व्यवस्था अनुकूलको भएकाले मुलुुकको आर्थिक प्रगति हुन नसकेको भन्दै उहाँले अब मुलुकको आवश्यकतालाई संवोधन गर्ने ढंगको शिक्षा प्रणालीको विकास गरिने उनले बताए ।
शिक्षकहरुको सिकाई प्रभावकारी नहुँदा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको मन्त्री पौडेलको भनाई थियो । शिक्षकहरुको सिकाई र भौतिक पूर्वाधार राम्रो भए सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुध्रने भन्दै उनले सरकारले अब यसप्रति ध्यान दिने बताए ।
मुलुकको राजनीतिक प्रणालीमा भएको परिवर्तन शिक्षा क्षेत्रमा पनि देखिनु पर्नेमा मन्त्री पौडेलको जोड थियो । राजनीतिक प्रणालीलाई संवोधन गर्ने खालको शैक्षिक प्रणाली स्थापना गर्नकै लागि सरकारले शिक्षा ऐनको संशोधन र नयाँ शिक्षा नियमावलीको निर्माण गरेको मन्त्री पौडेलले बताए । शिक्षा नियमावली अर्थ मन्त्रालयबाट भर्खरै कानून मन्त्रालयमा गएको जानकारी दिंदै उनले कानूनबाट आउनासाथ आवश्यक सुधारसहित शिक्षा नियमावली जारी गरिने जानकारी दिए ।
कार्यक्रममा लमजुङका जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमाल, नेपाली कांग्रेसका प्रेमराज चिलुवाल, एमालेका मातृकाप्रसाद खनाल, नेकपा माओवादी केन्द्रकी मधु अधिकारी, राप्रापाका इन्द्रबहादुर मल्ल, राइनास नगरपालिकाका कार्यकारी अधिकृत नुरराज कडरिया लगायतले विद्यालयलाई शुभकामना ब्यक्त गरेका थिए ।
विद्यार्थीद्वारा मार्चपास, स्वदेश गान तथा स्थानिय लोक नृत्य प्रस्तुत गरिएको कार्यक्रममा उनीहरुले विभिन्न किसिमका विज्ञान प्रदर्शनी समेत गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक, चन्दा दाता र विद्यालयलाई विभिन्न ढंगले सहयोग गर्ने स्थानियबासीलाई प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा पठनपाठन सुधारको लागि विद्यालयका ३५ जना पूर्व विद्यार्थीले जनही एक हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । त्यस्तै तीनपिप्ले महिला सञ्जाल सहितका स्थानीय संघसंस्था र व्यक्तिहरुले पनि विद्यालयको पठनपाठन सुधारको लागि भन्दै कार्यक्रममा २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा स्थानीयबासीले शिशु विद्याश्रम माविमा प्राविधिक धारको पढाईसँगै राईनासमै स्नातक तहसम्म पढाई हुने क्याम्पस स्थापनामा सहयोग गर्न शिक्षा मन्त्रीसँग माग गरेका छन् ।
प्रतिक्रिया