भक्तपुर– निम्न माध्यमिक विद्यालय तहको स्थायी शिक्षकको नतिजा प्रकाशनको काम अझ ढिला हुने भएको छ । कापी जाँचका लागि आवश्यक जनशक्तिको अभावका कारण सो तहको परीक्षाको नतिजा आउन अझै ढिला हुने भएको हो ।
यसअघि आयोगले नतिजा फागुनमा आउने जनाएको थियो । परीक्षा सकिएको चार महिनापछि उत्तरपुस्तिका कोडिङको काम सकाएर कापी जाँचको काम अघि बढाएको आयोगले अहिले कापी जाँच गर्ने आवश्यक जनशक्ति अभाव भएको भन्दै काम ढिलो गरेको छ ।
कापी जाँच गर्नका लािग सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्र्तीण वा शिक्षण पेशामा आवद्ध भएर पाँचवर्षको अनुभव भएको जनशक्ति आवश्यक छ । आयोगले सो योग्यता भएको जनशक्ति नपाउँदा नतिजामा ढिलाइ हुने देखिएको आयोगका अधिकारीहरुको भनाइ छ ।
कापी परीक्षणमा आयोगले आर्कषण गर्न नसक्दा समस्या भएको आयोगकै एक अधिकारी बताउँछन् । ‘हामीसँग चाहिँदो मात्रामा विषय शिक्षक पनि त हुनुपर्यो, फेरि यो कापी चेकिङ भनेको अरु कापी चेकिङ जस्तो सजिलो पनि होइन, यसैले जनशक्ति अभाव भएको हो ।’ उनले भने ।
‘दिनभरी ३/४ वटाभन्दा बढी कापी काट्न सकिँदैन, फेरि कापी काटेकोे पैसा पनि थोरै छ, अझ त्यसमा पनि करकट्टी गर्छ, त्यहीकारण योग्यता भएकाहरु पनि आउन मानेनन् ।’ एक परीक्षकले भने । आयोगले प्रति कापी जाँचको रु. २० दिने गरेको छ ।
आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा भने जनशक्तिको अभाव भन्न नमिल्ने तर्क गर्छन् । ‘नतिजा प्रक्रियामा अघि बढेका छौं, कपी चेकिङको काम केही हुँदैछ, केही अन्तिम–अन्तिमतिर पुगेको छ । ‘जनशक्ति अभाव नै नभनीहालौं, जनशक्तिले कापी चेकिङको लागि टाइम नदिएको भन्नुपर्ला ।’ उनले भने ।
उनले उत्तरपुस्तिका परीक्षणको काममा लागिरहेका जनशक्तिको संख्या अहिल्यै यकिन गर्न नसकिने पनि बताए । ‘सबै कापी जाँच नसकाइकन यति जनाले कापी जाँच गरिरहेको छ भन्ने खुल्दैन ।’ उनले भने ।
आयोगले निमावि तहको १ हजार १ सय १७ पदका लागि गत भदौ ११ गते परीक्षा लिएको थियो । परीक्षामा १ लाख १६ हजार ३ सय ४० जनाले आवेदन दिएका थिए ।
प्रतिक्रिया