ललितपुर - राजमति चुङवाङले ३४ बर्षे शिक्षण जिवनमा कति बालबालिकाको हात समातेर कखरा लेख्न सिकाइन् ?
शायद उनैलाई हेक्का छैन ।
तर, मंगलबार हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालको बेड नम्बर ३२४ मा आफ्नै हस्ताक्षर गर्न पनि उनका हातले अर्काको साहारा खोज्यो !
अस्पतालको शैयामै जोडिएको सानो टेबुल मंगलबार, विद्यालय शिक्षक किताबखानाको कार्याकक्षको टेबुल जस्तै देखिन्थ्यो । सेवा निवृत्त शिक्षककालागि किताबखानाले उपलब्ध गराउने (निवृत्त भरण अधिकार पत्र) पेन्सन पट्टा निर्माणमा प्रयोग हुने कागजात टेवलमाथि छरपष्ट थिए । किताबखानाका शाखा अधिकृत उद्धवराज पाण्डेले आवश्यक कागजात तयार गरेपछि चुङवाङलाई ल्याप्चे लगाउन पाण्डे र उनका पति गौरीप्रसाद कन्दङ्वाले उसैगरी सघाए ।
चुङवाङ सञ्चै आरामै हुन्थिन् भने उनले ताहचाल स्थित किताबखाना कार्यालयमै पुगेर निवृत्त भएपछि तयार गर्नु पर्ने सबै कागजात दुरुस्त पार्नु पथ्र्यो । तर उनी सिकिस्त भएर कार्यालय जान नसक्ने भएपछि किताबखानाको टोलीले आवश्यक कागजात अस्पतालमै लगेर उनको सही छाप लिएको हो ।
उनको सहीछाप र ल्याप्चेको काम सकिएपछि ईच्छाईएको ब्यक्तिको नाम र फोटो टाँस्ने काम शुरु भयो । ६ जना छोरी र एक छोराकी आमा चुङवाङकै ईच्छा अनुसार शेख पछि उनको पेन्सन ठूली कान्छि छोरी कुसुम कन्दङ्वाले बुझ्ने गरी कागजात तयार भयो ।
'मैले कान्छि छोरीको नाममा गरिदिएको छु, उनले ठूली कान्छिको नाममा गरिदिईन्' २०७० सालमा शिक्षकबाटै निबृत्त भएका गौरीप्रसादले भने, 'उनको ईच्छानै यस्तै थियो हामीले त पुरा गरिदिएको मात्रै हो ।'
झापाको बुट्टाबारीमा बस्दै आएको छ उनको परिवार । झापामै ल्याब टेक्निसियन पढ्दै गरेकी छोरी कुसुमको सही छाप संगै बिवरण लेख्ने र फोटो टाँस्ने काम सकिएपछि किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले पेन्सनपट्टा चुङवाङको हातमा थमाए ।
'शिक्षक भएर तपाईले जीवनभर देशको सेवा गर्नु भयो, त्यसैले आज हामी अस्पतालमै भए पनि तपाईलाई पेन्सनपट्टा दिन आयौं' ढुङ्गानाले भने, 'तपाँईलाई चाँडै निको होस् ।'
निवृत्तभरण अधिकार पत्र २०२२९६५, थरथराईरहेको हातले समाउँदै गर्दा, केही बेर अघि सम्म निन्याउरो देखिएको चुङवाङको अनुहार भने धपक्क बले झैं लाग्थ्यो ।
२०३९ साल जेठ २० गते ताप्लेजङ्को थुकिमा स्थित त्रिभुवन निमाविबाट सेवा शुरु गरेकी चुङवाङ, गत पुस १४ गते निवृत्त हुँदा भगवती माध्यमिक विद्यालय, थोक्लुम तेह्रथुमकी प्रावि द्धितीय तहकी शिक्षक थिईन् ।
निवृत्त भएपनि पेन्सन पट्टा बनाउने लगायतका काम नभ्याउँदै उनी बिरामी परिन् । सानो तिनो बिमार ठिक भै हाल्छ नी ! शुरुमा उतिसारो ध्यान पनि दिईनन् । तर, विमारले च्याप्दै लगेपछि पेन्सनपट्टा बनाउने काम धकेलियो । नेपालका विभिन्न अस्पताल हुँदै भारतको भेल्लोर पुगेपछि थाह भयो, उनलाई प्याङ्क्रियाजको क्यान्सर भएको रहेछ !
बिमारले थला पार्दै लगेपछि उनलाई पेन्सन पट्टा बनाउनै नपाउने भैयो क्या हो भन्ने चिन्ताले सताउन थाल्यो ।
सोही विद्यालयको निमावि द्धितीय तहको शिक्षकबाटै सेवा निवृत्त भएका पतिले विद्यालयका प्रधानाध्यापक प्रेमप्रकाश लामिछानेसँग सल्लाह गरे ।
लामिछाने विद्यालय र जिल्ला शिक्षा कार्यलयबाट आवश्यक कागजात बोकेर तेह्रथुम देखि काठमाडौं आईपुगे । किताबखानाका महानिर्देशक ढुङ्गानालाई सबै विवरण सुनाए । उनले एकै बचनमा अस्पतालमै गएर पेन्सन पट्टा दिने स्विकृति जनाईदिए । अनी मंगलबार पुरा भयो चुङवाङको पेन्सन पट्टा बनाउने रहर ।
'किताबखानाको ईतिहासमा यो पहिलो घटना हो, बिरामी शिक्षकलाई अस्पतालमै पुगेर पेन्सन पट्टाको आवश्यक कागजात तयार गरि उपलब्ध गराएको' ढुङ्गानाले भने, 'शिक्षक प्रतिको सम्मान गर्नु सबैको कर्तब्य हो, हाम्रो कार्यालयको त यो दायित्व पनि हो, त्यसैले म आफैं आएर उहाँलाई पेन्सन पट्टा दिएँ ।'
पेन्सन पट्टा सँगै उनले पाउने औषधि उपचार वापत रु. ५ लाख २४ हजार ५ सय १३ र विरामी विदा वापतको ३ लाख १२ हजार ४ सय ४१ रुपैंया २७ पैसाको आवश्यक कागजात पति गौरीप्रसादले बुझे । चुङवाङले पेन्सन बापत महिनाको रु. १६ हजार ६ सय ६७ पाउँछिन् ।
प्रतिक्रिया